स्थानीय माथि दमन नगर्न रूपन्देही–४ का सांसद बनियाको ‘चेतावनी’


भैरहवा– रुपन्देही–४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले आफ्नो निर्वाचन क्षेत्रका नागरिक माथि स्थानीय जनप्रतिनिधि, जिल्ला, इलाका प्रहरी, प्रशासनद्वारा ज्यादती र दमन गरिएको उल्लेख गर्दै सावधान रहन चेतावनी दिएका छन् । दुई दिनअघि आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेखेर यस्तो चेतावनी दिएका हुन् । उक्त स्टाटसमा जनप्रतिनिधि र प्रहरीले स्थानीयमाथि कस्तो ज्यादती र दमन गरिएको हो भन्नेबारे स्पष्ट उल्लेख गरेका छैनन् ।
स्टाटसको सुरुमा जो जससँग सम्बन्धित भनेर लेखेका छन् । ‘तपाईंहरु माथि पनि विधिको शासन वा प्रचलित कानुन लाग्छ,’ उनले लेखेका छन्, ‘तपाईंहरु छोटा डन बनि जनतालाई जुन यातना दिँदै हुनुहुन्छ, त्यसको लेखाजोखा गर्दै त्यसको उपर आवश्यक कारबाहीको कदम अगाडि बढाउँदैछौं ।’ आफ्नो फेसबुक स्टाटसमा उनले कस्तो प्रकारको कारबाही र कुन निकायले कारबाही गर्ने हो ? भन्ने बारे प्रष्ट्याएका छैनन् । बरु ‘संविधान र राष्ट्रहितलाई सर्वोपरि राख्दै जनतलाई दुःख दिने कोही कसैलाई छोडदैंनौं’ भनेर अप्रत्यक्ष रुपमा धम्क्याएका छन् ।
उनको चेतावनीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लुम्बिनीस्थित कार्यकर्ता अर्जुन कुर्मीले ‘एस यु आर राइट’ भनेर समर्थन व्यक्त गरेका छन् । उनले पनि ज्यादती र दमनको विषयमा उल्लेख गरेका छैनन् । बुधबारसम्म १ सय ४६ कमेन्ट रहेको उक्त स्टाटसमा पक्ष र विपक्षमा टिप्पणी गरिएका छन् । कसैले सांसद बनियालाई समर्थन गरेका छन् भने केहीले बिरोध जनाएका छन् ।
इन्द्रजित मल्लाह नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले मर्चवारको विद्युतको समस्या कहिले हल हुन्छ भनेर प्रश्न गरेका छन् । उक्त स्टाटसमा कमेन्ट गर्ने धेरैले विद्युतको समस्या समाधानका लागि अनुरोध गरेका छन् । लक्ष्मण सहनी नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले सुरुमा सडक समस्या समाधान गर्न माग गरेका छन् । त्यसपछि बिजुलीमा ध्यान दिन भनेका छन् ।
केशव यदुवंशी नामका प्रयोगकर्ताले यो गर्छ, त्यो गर्छु, उसलाई कारबाही गर्छु जस्ता ‘वकबास’ गर्नुभन्दा पहिले मर्चवारको बाटो ठिक पार्नुस् भनेर लेखेका छन् । ‘भौतिक मन्त्री घण्टीकै छन्,’ उनले उल्लेख गरेका छन्, ‘भन्नुस् मर्चवारको बाटोका लागि कति बजेट विनियोजन गर्न सफल हुनुभयो ।’ लालचन यादव नामका फेसबुक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, ‘वा कन्हैया बनियाज्यु, हाम्रो समस्या समाधान हुन्छ भनेर तपाईंलाई कति सपोर्ट गर्यौं, तपाईंले जित्नुभयो, तर, हाम्रो समस्या जस्ताको तस्तै छ । मर्चवारको विद्युतको समस्या समाधान गर्नुहोस् ।’
शेरबहादुर शाह नामका फेसबुक प्रयोगकर्ताले कमेन्ट सेक्सनमा लेखेका छन्, ‘पहिला हजुर जस्तो गैरजिम्मेवार सांसदलाई कारबाही गर्नुपर्छ ।’ एसके एसके नामका प्रयोगकर्ताले ‘लेखाई जस्तै काम पनि मिस्टेक होला जस्तो लाग्यो मलाई’ भनेका छन् । लोकेन्द्र यादव नामक प्रयोगकर्ताले मर्चवारका जनतालाई चाहिएको कुरा भन्दैं ‘राम्रो सडक, राम्रो शिक्षा, राम्रो अस्पताल, खानेपानी’ व्यवस्था गर्न माग गरेका छन् । उनले यी कहिले कहिलेसम्म पूरा हुन्छन् भनेर ग्यारेन्टी गर्न माग गरेका छन् । त्यहीँ लभ्ली पल राजले ‘गरेर देखाउने, स्टाटस लेखेर हुँदैन’ भनेका छन् । सांसद बनियाको स्टाटसमा बुधबार बिहानसम्म ६ सय १५ लाइक र २० पटक शेयर भएको छ ।








प्रतिकृया दिनुहोस्