August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

सियारी गाउँपालिकामा खरिद योजनादेखि बजेट खर्चसम्म चरम लापरबाही

Advertisement

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकामा कानुनी व्यवस्थाको धज्जी उडाउँदै आर्थिक तथा प्रशासनिक बेतिथि संस्थागत भएको पाइएको छ ।

Advertisement

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ बमोजिम अनिवार्य रूपमा तयार गरी लागू गर्नुपर्ने ‘आन्तरिक नियन्त्रण प्रणाली’ गाउँपालिकाले निर्माण नै नगरेको तथ्य खुल्न आएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आन्तरिक नियन्त्रण प्रणालीको अभावमा गाउँपालिकाको आर्थिक कारोबार, योजना कार्यान्वयन र सेवा प्रवाह अपारदर्शी र नियमविपरीत पाइएको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ र ८ बमोजिम सार्वजनिक निकायले अनिवार्य रूपमा वार्षिक खरिद योजना तयार गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सियारी गाउँपालिकाले यस्तो कुनै योजना नै तयार नगरी करोडौंको खरिद कार्य गरिरहेको महालेखाले औंल्याएको छ ।

यति मात्र होइन, गाउँपालिकाले कार्यक्रमगत तथा योजनागत खातासमेत नराखेको तथ्य बाहिरिएको छ । उक्त आर्थिक वर्षमा सञ्चालित योजनाहरूको कार्यान्वयन र सेवा प्रवाहको वार्षिक प्रगति विवरणसमेत गाउँपालिकाले तयार नगरेको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहले आफ्नो क्षेत्रभित्र कार्यान्वयन हुने आयोजनाहरूको सम्भाव्यता विश्लेषण गरी ‘आयोजना बैंक’ खडा गर्नुपर्नेमा सियारीले यसलाई वेवास्ता गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय प्राथमिकतामा रहेको ‘दिगो विकास लक्ष्य २०१६–२०३०’ लाई स्थानीयकरण गर्ने, मध्यकालीन लक्ष्य तोक्ने र त्यसको मूल्याङ्कन गर्ने कुनै पनि कार्य गाउँपालिकाबाट भएको पाइएको छैन । यसबाट पालिकाको विकास प्रक्रिया विना कुनै ठोस दृष्टिकोण र हचुवाको भरमा चलिरहेको देखाउँछ ।

शहरीकरण तीव्र भइरहेको सियारी गाउँपालिकामा फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणको अवस्था निकै दयनीय छ । पालिकाले वातावरण संरक्षणको एकीकृत दीर्घकालीन योजना बनाएको त छैन नै फोहोरमैला व्यवस्थापनका लागि न त अहिलेसम्म उपयुक्त ठाउँ (ल्याण्डफिल साइट) पहिचान गरिएको छ, न त कुनै ठोस कार्ययोजना नै ।

गाउँपालिकाको आर्थिक प्रशासन महाशाखाले बिल भर्पाई र रसिदहरूमा रीत पुगे–नपुगेको जाँच नगरी जथाभावी भुक्तानी दिने गरेको पाइएको छ । भुक्तानी दिइएका बिलहरूमा यतिसम्म बेतिथि भेटिएका छन् की, सिलसिलेवार नम्बर नराखिकन कार्यालय प्रमुखले तोकेको कर्मचारीले ‘भुक्तानी भएको’ प्रमाणित गर्ने छापसमेत नलगाई दस्तखत गर्ने गरेको पाइएको छ ।

स्वीकृत बजेटको विधिको उल्लंघन गर्दै एक शीर्षकको बजेट अर्को फरक शीर्षकमा राखेर जथाभावी खर्च गर्ने गरिएको छ । आयोजनाहरूबाट कट्टा गरिने कन्टिन्जेन्सी (वित्तीय संकटकालीन, आकस्मिक) रकम खर्च गर्ने सन्दर्भमा गाउँपालिकाले कुनै मापदण्ड नै बनाएको छैन । यसको खर्चको अभिलेखसमेत राखिएको छैन ।

जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार पुराना वा बिग्रिएका मालसामानको मर्मत सम्भार र लिलाम प्रक्रिया अघि बढाइएको छैन । जसका कारण सरकारी सम्पत्ति अलपत्र र खेर गइरहेकोप्रति गाउँपालिकाको बेवास्ता छ ।

प्रतिवेदन अनुसार गाउँपालिकाको कुल आय र व्ययको सन्तुलन ९१ करोड ४८ लाख ३५ हजार ८६ रुपैयाँ बरावर देखिए पनि सञ्चित कोष मौज्जात, धरौटी खाता र विविध खर्च खाताको व्यवस्थापन पारदर्शी बन्न सकेको छैन ।

महालेखा परीक्षकको कार्यालयले सियारी गाउँपालिकालाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ अनुसार तत्काल आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्न कडा निर्देशन दिएको छ ।

सुदृढ खरिद व्यवस्थापन, समग्र वित्तीय कारोबारको कानुनसम्मत लेखाङ्कन, र समयमै पारदर्शी प्रतिवेदन प्रणाली लागू नगरेसम्म पालिकाको आर्थिक कारोबार विश्वसनीय हुन नसक्ने र यसले भ्रष्टाचारजन्य क्रियाकलापले बढावा पाउने अवस्थालाई देखाउँछ । पालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्ष तारा थारु छन् । उनीहरु दुबैजना नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । पालिकाको दीर्घकालीन विकास योजना तर्जुमा समेत गर्न नसकेका उनीहरुले बेतिथिलाई भने प्रसय दिइरहेका छन् ।

सियारी गाउँपालिकामा कानूनको धज्जी उडाउँदै मनपरी खर्च