निम्नवर्गीय नागरिकदेखि विदेशीसम्मको रोजाईमा परेको सिद्धार्थनगर सिटी हस्पिटल


भैरहवा– रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले विरामी र उनीहरुका आफन्तको मन जित्दै गएको छ । आधुनिक उपचार प्रणाली, विशेषज्ञ चिकित्सक र अत्याधुनिक स्वास्थ्य उपकरणमार्फत् सेवा दिँदै आइरहेको अस्पतालले सस्तो दरमा गुणस्तरीय उपचार सेवा दिएकै कारण सर्वसाधरणको मन जित्दै गएको हो ।
भैरहवामै उच्च स्तरीय अस्पतालमा न्युन दरमा सेवा पाउँदा विरामी र उनीहरुका आफन्त खुशी छन् । अस्पताल स्वदेशी निम्नवर्गीय नागरिकको मात्रै होइन, विदेशी उच्च ओहदाका नागरिकको पनि भरोसा बनेको छ । यही कारण यहाँ कयौं विदेशी नागरिकले सेवा लिइसकेका छन् ।
‘आधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय स्तरको भवन, अत्याधुनिक उपकरण, भूकम्प प्रतिरोधी संरचना, व्यवस्थित सरसफाइ, लिफ्टलगायतका सुविधा भएका कारण लामो समयसम्म धेरै स्थानीयले सिद्धार्थनगर सिटी हस्पिटल महँगो अस्पताल हो भन्ने धारणा बनाउनुभएको थियो । तर पछिल्लो समय अस्पतालले सञ्चालनमा ल्याएका सुलभ स्वास्थ्य सेवा कार्यक्रमहरूले त्यो धारणा क्रमशः परिवर्तन हुँदै गएको छ’, अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल भन्छन्, ‘आमनागरिकको चाहना र स्वास्थ्य सेवा पाउने अधिकारलाई हामीले पैसाकै कारण निराश बनाउन दिँदैनौं । यही कारण सुलभ सेवा सुरु गरिएको हो ।’
अस्पतालका अनुसार आर्थिक रूपमा कमजोर, निम्न आय भएका तथा मध्यमवर्गीय नागरिकलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सेवाहरू अत्यन्त सुलभ शुल्कमा उपलब्ध गराइँदै आएको छ । पछिल्ला वर्षहरूमा अस्पतालले उपचार सेवा विस्तार गरेसँगै रुपन्देही मात्र नभई कपिलवस्तु, नवलपरासी (पश्चिम), पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके तथा नेपाल–भारत सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ ।
अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, मुटुरोग, युरोलोजी, नाक–कान–घाँटी, छालारोग, मानसिक स्वास्थ्यलगायत विभिन्न विशेषज्ञ सेवा सञ्चालन गरिरहेको छ । नियमित ओपीडी सेवासँगै आकस्मिक उपचार, शल्यक्रिया, भर्ना सेवा, सुरक्षित प्रसूति तथा नवजात शिशु स्याहारजस्ता सेवा पनि उपलब्ध छन् । अस्पतालका अनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा मेडिकल अफिसरले नियमित रूपमा बिरामीको उपचार गरिरहेका छन् ।
अस्पतालले सुलभ सेवा अन्तर्गत विशेषज्ञ चिकित्सकसँग जम्मा १५० मा परामर्श, ५ सय रुपैयाँमा बिरामी भर्ना सेवा, नेपाल सरकारका विभिन्न अस्पतालमा प्रचलित शुल्कसरहको २ हजार २ सयमै सुलभ प्याकेज तथा ८ सयमा अल्ट्रासाउन्ड सेवा उपलब्ध गराइँदै आएको छ । उच्च स्तरीय सेवासहितको यो अस्पताललमा यती सस्तोमा सेवा पाउनु भैरहवाबासीका लागि खुशीको कुरा भएको सथानीय बताउँछन् ।
अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीहरूले स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको शुल्कअनुसार ५० रुपैयाँमै ओपीडी सेवा लिन सक्ने व्यवस्था गरिएको छ । एक्स–रे, प्रयोगशाला परीक्षण, भिडियो एक्स–रे तथा अन्य आवश्यक जाँचहरू पनि बिमा बोर्डले तोकेको दरमै उपलब्ध गराइँदै आएको अस्पतालको भनाइ छ । साथै एपेन्डिक्स, हर्निया, पित्तथैलीको पत्थरीलगायतका शल्यक्रियाहरू पनि बिमा तथा सुलभ शुल्कमै गरिँदै आएकाले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई ठूलो राहत पुगेको प्रबन्ध निर्देशक पौडेले बताउँछन् ।
‘अस्पतालको लक्ष्य नै रोगको छिटो पहिचान र प्रभावकारी उपचार पद्दती हो’, उनले भने । अस्पतालमा डिजिटल एक्स–रे, अत्याधुनिक अल्ट्रासाउन्ड, ईसीजी, प्रयोगशाला सेवा, आधुनिक अपरेशन थिएटर, बिरामी निगरानी प्रणाली, अक्सिजन सपोर्ट, आईसीयू तथा अन्य आवश्यक स्वास्थ्य उपकरण सञ्चालनमा छन् । उपचार प्रक्रियालाई सहज, सुरक्षित र गुणस्तरीय बनाउन अस्पतालले प्रविधिमैत्री सेवा प्रणाली अपनाएको जनाएको छ ।
२४सै घण्टा आकस्मिक सेवा, एम्बुलेन्स, फार्मेसी, प्रयोगशाला, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार, आरामदायी वार्ड तथा निजी कक्ष, संक्रमण नियन्त्रणका मापदण्डअनुसारको व्यवस्थापन र बिरामीमैत्री वातावरण अस्पतालका प्रमुख विशेषता हुन् । अस्पतालले सेवा प्रवाहलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन डिजिटल अभिलेखीकरण प्रणालीसमेत प्रयोग गरिरहेको जनाएको छ ।
अस्पतालले सुलभ शुल्कमा गुणस्तरीय सेवा दिन थालेपछि विगतमा अस्पताललाई महँगो ठानेर नआएका धेरै स्थानीय बिरामीसमेत अहिले उपचारका लागि आउन थालेका छन् । अस्पतालका अनुसार पछिल्लो समय बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु पनि यही विश्वासको परिणाम हो ।
‘अस्पतालमा उपचारका लागि आउने केही बिरामीहरूले सरकारी अस्पतालमा पनि अपेक्षाभन्दा बढी शुल्क तिर्नुपरेको अनुभव सुनाउने गरेका छन् । उनीहरूका अनुसार सरकारी अस्पतालमा समेत केही परीक्षण तथा तत्काल गर्नुपर्ने शल्यक्रियाका लागि अतिरिक्त खर्च लाग्ने अवस्था रहेकाले निजी अस्पताल र सरकारी अस्पतालबीचको शुल्क अन्तर आफूहरूले सोचेजति धेरै नरहेको अनुभव भएको छ । यस्ता अनुभवपछि धेरै बिरामीले सुलभ शुल्कमै छिटो र सहज सेवा पाइने भएकाले सिद्धार्थनगर सिटी हस्पिटल रोज्न थालेका हुन्’, पौडेलले भने ।
नेपाल–भारत सीमा नजिक भएकाले सीमावर्ती भारतीय क्षेत्रका बिरामीले समेत यहाँ उपचार सेवा लिने गरेका छन् । अस्पतालका अनुसार विशेषज्ञ सेवा, अपेक्षाकृत सहज पहुँच, समयमै परीक्षण तथा उपचार र अनुभवी स्वास्थ्यकर्मीको उपलब्धताका कारण बिरामीको रोजाई सिटी हस्पिटल बनेको हो ।
‘स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अस्पतालले विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक उपकरण थप तथा दक्ष जनशक्ति व्यवस्थापनलाई निरन्तरता दिएको छ’, उनले भने, ‘भविष्यमा थप विशेषज्ञ सेवा सञ्चालन गर्दै यस क्षेत्रलाई स्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने योजना छ ।’
स्थानीयवासीका अनुसार विगत केही वर्षयता उपचारका लागि ठूला सहर धाउनुपर्ने अवस्था केही हदसम्म कम गर्न निजी स्वास्थ्य संस्थाहरूको भूमिका बढेको छ । उनीहरूका अनुसार विशेषज्ञ सेवा र आधुनिक उपकरणको उपलब्धताले भैरहवा क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुगेको छ । यद्यपि स्वास्थ्य क्षेत्रका जानकारहरूले निजी अस्पतालहरूले सेवा विस्तारसँगै उपचारको गुणस्तर, बिरामीको सुरक्षा, पारदर्शी शुल्क प्रणाली र सेवा प्रभावकारितालाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन् । तर सिटी अस्पताल यी कुराहरुमा सचेत रहेर सेवा दिइरहेको पौडेल बताउँछन् ।
सामान्य उपचारदेखि जटिल शल्यक्रियासम्म एउटै अस्पतालबाट उपलब्ध हुनु पनि यस अस्पतालको अर्को विशेषता बनेको छ । विशेषगरी टाउकोको चोटपटक, मस्तिष्क शल्यक्रिया, स्पाइन (ढाड) सर्जरी तथा अन्य जटिल उपचार सेवाहरू, जुन सेवाका लागि पहिले काठमाडौं वा भारत जानुपर्ने अवस्था थियो, अहिले भैरहवामै उपलब्ध हुन थालेका छन् । यसबाट आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका बिरामीलाई समय, खर्च र दुःख दुवै बचत भएको अस्पतालको दाबी छ ।
यसका अतिरिक्त अस्पतालले विभिन्न समयमा विपन्न बिरामीलाई निःशुल्क शल्यक्रिया, निःशुल्क बेड तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत पनि सहयोग गर्दै आएको जनाएको छ । आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले निरन्तर सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवामा जोड दिँदै आएको छ ।
आधुनिक सुविधा, दक्ष विशेषज्ञ चिकित्सक, सुलभ शुल्क र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अघि बढेको सिद्धार्थनगर सिटी हस्पिटल आज केवल सुविधासम्पन्न निजी अस्पताल मात्र नभई गरिब, निम्न आय भएका र मध्यमवर्गीय परिवारका लागि पनि भरोसायोग्य स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको देखिन्छ । महँगो अस्पताल भन्ने पुरानो धारणा हटाउँदै ‘गुणस्तरीय उपचार सबैका लागि’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने प्रयासले अस्पतालप्रति स्थानीय समुदायको विश्वास दिनप्रतिदिन बढ्दै गएको छ ।
सुरुमा १५ बेडबाट सेवा सुरु गरेको अस्पताल आव विशाल आफ्नै भवनमा एक सय बेडमा संचालित छ । थाइल्याण्डबाट लुम्बिनी आएका भिक्षु समेतले यहाँ आएर डायलाइसिस गरेका छन् । यस्तै, थाइल्याण्डकै टीम अस्पतालमा आएर घुँडा प्रत्यारोपणको काम गरेका छन् । नेपालका गनिएका अस्पतालहरुबाट विशेषज्ञ चिकित्सक यहाँ आएर सेवा दिइरहेका छन् । आईसीयू–एनआईसीयू, डायलाइसिस, सीटी स्क्यान, एमआरआई, क्याथल्याब सेवा उपलब्ध भएका कारण धेरै विरामी यहाँ आउने गरेका छन् ।








लेखकको सम्वन्धमा