July 17, 2026, Friday
२०८३ श्रावण २ शनिबार

रुपन्देहीमा घरेलु हिंसाका ८२४ उजुरी, बढी घरायसी झै–झगडा

Advertisement

भैरहवा–आर्थिक वर्ष २०८२-०८३ मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा घरेलु हिंसा सम्बन्धी कुल ८२४ वटा उजुरी दर्ता भएका छन् ।

Advertisement

प्रहरीको तथ्याङ्क अनुसार रुपन्देहीमा सबैभन्दा बढी घरायसी झै–झगडाका कारण घरेलु हिंसा हुने गरेको छ । दर्ता भएका उजुरीहरूमध्ये घरायसी झै–झगडाका ३४१ वटा छन् भने कुटपिट तथा घाउ जाँच केश फारम भरिएका घटना २४७ वटा रहेका छन् ।

यसैगरी, मादक पदार्थ सेवन गरी गालीगलौज गरेका १८८ वटा, घरमा खान बस्न नदिएका ३० वटा र विवाह दर्ता तथा नागरिकता नबनाइदिएका १८ वटा उजुरी प्रहरीमा परेका छन् ।

प्रहरीमा आएका कुल उजुरीमध्ये मिलापत्र गराइएको वा अदालत पठाइएको मुद्दा ८०१ वटा रहेको र बाँकी २३ वटा उजुरी मात्रै प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी कृष्णकुमार चन्दले बताए । प्रहरीका अनुसार आव २०८२÷०८३ को जेठ महिनासम्मका उजुरीहरू फछ्र्यौट भइसकेका छन् ।

सिद्धार्थनगरमा सबैभन्दा बढी, कञ्चनमा सबैभन्दा कम

स्थानीय तहगत आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी घरेलु हिंसाका घटना सिद्धार्थनगर नगरपालिकामा देखिएका छन् । सिद्धार्थनगरमा १४६ वटा उजुरी दर्ता भए । यस्तै, बुटवल उप–महानगरपालिकामा १०९, मर्चवारी गाउँपालिकामा ७८ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७४ वटा उजुरी परेका छन् ।

अन्य स्थानीय तहहरूमा मायादेवी गाउँपालिकामा ४७, ओमसतिया र तिलोत्तमा नगरपालिकामा ४५–४५, रोहिणी गाउँपालिकामा ४० तथा शुद्धोधन गाउँपालिकामा ३५ वटा उजुरी दर्ता भएका छन् ।

यसैगरी देवदह नगरपालिकामा ३४, सियारी गाउँपालिकामा ३२, गैडहवा गाउँपालिकामा ३०, सम्मरीमाई र कोटहिमाई गाउँपालिकामा २९–२९, र सैनामैना नगरपालिकामा २७ वटा घटना घटेका छन् । रुपन्देहीमा सबैभन्दा कम घरेलु हिंसाका उजुरी कञ्चन गाउँपालिकामा २४ वटा मात्र दर्ता भएका छन् ।

यस तथ्याङ्कले रुपन्देहीका सहरी तथा ग्रामीण दुवै क्षेत्रमा घरेलु हिंसाको अवस्था चुनौतीपूर्ण रहेको देखाउँछ । समाधानका लागि सरोकारवाला निकायहरुलेसामाजिक सचेतना र जागरणका कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता देखिन्छ ।