August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

लुम्बिनी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश सरकारको मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

Advertisement

यस विषयमा औपचारिक निर्णय गर्न कांग्रेसले बिहीबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ । बैठकबाट मन्त्रीहरूको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय एकैसाथ गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार सरकारमा सहभागी पाँच मन्त्रीमध्ये तीन जना काठमाडौंमा रहेकाले उनीहरू फर्किने समय मिलाएर दिउँसो बैठक बोलाइएको छ । कांग्रेसका तर्फबाट सरकारमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सहरी विकास मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रको सहमति र निर्देशन अनुसार प्रदेशमा पनि मन्त्रीहरूको राजीनामा र समर्थन फिर्ताको प्रक्रिया अघि बढेको बताएका छन् ।

नेपाली कांग्रेसको समर्थनमा २०८१ साउन ७ गते मुख्यमन्त्री भएका नेकपा एमालेका नेता चेतनारायण आचार्य कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नेछन् । यद्यपि, एमालेले भने तत्कालै सत्ता नछोड्ने मनस्थितिमा छ ।

स्रोतका अनुसार, कांग्रेसले समर्थन फिर्ता लिएको खण्डमा एमालेले पहिलो चरणमा नेकपासँग सत्ता साझेदारीका लागि प्रयास गर्ने रणनीतिमा छ । नेकपासँग सहमति जुटेको अवस्थामा हाल सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साथ लिएर एमालेले सरकारलाई निरन्तरता दिन सक्छ ।

कुल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य मात्र बहाल छन् । नयाँ सरकार गठन गर्न वा सरकार टिकाउनका लागि ४२ सदस्यको समर्थन आवश्यक पर्छ ।

वर्तमान अवस्थामा ३ सीट भएको लोसपा र ४ सीट भएको राप्रपा सरकार गठन वा निरन्तरताका लागि निर्णायक शक्ति बन्न सक्नेछन् । लोसपा हाल पनि सरकारमै रहेकाले दुवै ठूला दलका लागि यो पहिलो रोजाइ बन्न सक्छ ।

प्रदेश सरकार गठनमा बलियो साँचो बोकेको नेकपाले भने तत्काल औपचारिक छलफल सुरु नगर्ने तर अनौपचारिक संवाद जारी राख्ने जनाएको छ । नेकपाका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालले सकेसम्म कम्युनिष्ट शक्तिहरू मिल्ने प्रयास गरिने र केन्द्रमा हुने निर्णय अनुसार नै प्रदेशमा कदम चालिने बताए ।