पश्चिम नवलपरासीमा लागुऔषध सहित दुई युवा पक्राउ


भैरहवा–पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका–३, सुगौलीबाट लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो, भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीका सरावल गाउँपालिका–७ का २४ वर्षीय महम्मद अफजल अन्सारी र पालिनन्दन गाउँपालिका–२ का २५ वर्षीय मोहित कुमार कमकर रहेका छन् । प्रहरीका अनुसार अन्सारी यसअघि पनि डाँका चोरी र लागुऔषध मुद्दामा पक्राउ परि छुटेका हुन् ।
प्रहरीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकल यूपी ५६ एई ७६६९ मा सवार रहेका उनीहरूको साथबाट बप्रेनोर्फिन, डाईजेपाम र फेनारगन गरी कुल १ हजार ९३५ एम्पुल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद गरिएको मोटरसाइकल र दुई थान मोबाइलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंका प्रबक्ता तथा सूचना अधिकारी दुर्गा राज अधिकारीले जनाएका छन् ।








प्रतिकृया दिनुहोस्