भुटानको पारो र गौतमबुद्ध विमानस्थलबीच सिधा उडान प्रस्ताव


लुम्बिनी– नेपाल र भुटानका मन्त्री तथा उच्च अधिकारीहरुबीच लुम्बिनीमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तामा नेपालले पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट निर्माणको महत्वाकांक्षी प्रस्ताव अघि सारेको छ । यसका लागि भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्न नेपाली पक्षले आग्रह गरेको हो ।
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेश)ले पारो–लुम्बिनी सिधा हवाई उठान सञ्चालनको प्रस्ताव गरेका थिए । छिरिङ नेतृत्वको नेपाली टोलीबीच भएको वार्तामा धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा केन्द्रित छलफल भएको थियो । लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बौद्ध तीर्थयात्राको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न भुटानसँग प्रत्यक्ष हवाई सम्पर्क आवश्यक रहेको धारणा राखेको छ ।
नेपाली पक्षले लुम्बिनी, पारो र भारतको बोधगयालाई एउटै धार्मिक पर्यटन मार्गमा जोड्न सके विश्वभरका बौद्ध धर्मावलम्बीका लागि दक्षिण एसियामा नयाँ धार्मिक तीर्थ सर्किटको विकास हुने विश्वास व्यक्त गरेको छ । यसले लुम्बिनीमा विदेशी पर्यटक आगमन बढाउनुका साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगितासमेत विस्तार हुने अपेक्षा गरिएको राईले जनाए ।
द्विपक्षीय वार्तामा अर्को महत्त्वपूर्ण विषय नेपाली नागरिकमाथि भुटानले लागू गरेको दिगो विकास शुल्क (एसडीएफ) थियो । हाल नेपाली पर्यटकले पनि प्रतिव्यक्ति प्रतिदिन १ सय अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ ।
भेटघाटमा मन्त्री पौडेलले भुटानी अधिकारीसमक्ष नेपालीलाई अन्य देशसरह १ सय डलर खर्च गर्नुपर्ने नियम भुटानले राखेकाले त्यसलाई हटाउन माग गरेपछि उनीहरुले सरकारसमक्ष छलफल गर्ने जनाएका थिए । नेपालले दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई विशेष सहुलियत उपलब्ध गराउन आग्रह गर्दै उनले भारत र बङ्गलादेशका नागरिकलाई उपलब्ध गराइएको सहुलियतसरह व्यवस्था नेपाली पर्यटकका लागि पनि लागू गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
भुटानी पक्षले नेपालका प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक सरकारी तहमा थप अध्ययन र छलफल गर्ने प्रतिबद्धता जनाएको निमित्त सदस्य सचिव राईले जानकारी दिए ।
लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको औपचारिक शिलान्यास पनि सम्पन्न भएको छ । लुम्बिनी विकास कोषले यसका लागि १ बिगाह जग्गा दिएको हो । जहाँ ६ महिनामा सुरु गरेर ३ वर्षमा पूरा गर्ने सम्झौता भएपनि २ वर्षमा सक्ने प्रतिवद्धता गरिएको छ । भुटानका धर्मगुरु उपमहासङ्घराजा दोर्जे लोपेन रिम्पोछे, गृहमन्त्री ल्योन्पे छिरिङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले संयुक्त रूपमा धार्मिक विधिअनुसार शिलान्यास गरेका थिए ।
शिलान्यासअघि भुटानी लामागुरुहरूले विशेष पूजा तथा भूमि पूजन गरेका थिए । भुटानी परम्पराअनुसार सम्पन्न धार्मिक अनुष्ठानले कार्यक्रममा आध्यात्मिक गरिमा थपेको थियो । भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक नाफ्सो दोर्जीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु आफ्नो देशका लागि ऐतिहासिक उपलब्धि भएको बताइन् । उनले यो परियोजना केवल भौतिक संरचना निर्माणमा सीमित नरही भुटानी आस्था, संस्कृति र बुद्धप्रतिको श्रद्धाको जीवन्त प्रतीक बन्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला र सांस्कृतिक विशेषता समेटिनेछ ।
भुटान सरकार र लुम्बिनी विकास कोषबीच गत वर्ष भएको समझदारीपत्रअनुसार निर्माण कार्य अघि बढाइएको हो । पहिलो चरणअन्तर्गत सीमा पर्खाल निर्माण सम्पन्न भइसकेको छ भने अब मुख्य गुम्बा निर्माण सुरु गरिनेछ । आगामी दुई वर्षभित्र सम्पूर्ण परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण सम्पन्न भएपछि विश्वभरबाट लुम्बिनी आउने तीर्थयात्री र पर्यटकले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । यसले लुम्बिनीलाई अझ बहुसांस्कृतिक अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट सांसद तौफिक अहमद खाँन र कन्हैया बनियाको सहभागिता रहेको थियो । भुटानका तर्फबाट नेपालका लागि राजदूत मेजर जनरल भेत्सोप नामग्येल, गृह सचिव तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
भुटानी गुम्बाको शिलान्याससँगै लुम्बिनीमा बुद्धमार्गीय कूटनीति, धार्मिक पर्यटन र सांस्कृतिक सहकार्यको नयाँ यात्रा सुरु भएको विश्लेषकहरूको भनाइ छ । अब पारोदेखि लुम्बिनीसम्म प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुन सके बुद्धको जन्मभूमि विश्व बौद्ध पर्यटनको थप शक्तिशाली केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।








प्रतिकृया दिनुहोस्