July 11, 2026, Saturday
२०८३ असार २७ शनिबार

प्रकृतिकी साथी सितारानी अब सम्झनामा मात्र

Advertisement

बर्दिया– अब उनी फर्किने छैनन् । उनका आफन्त, साथी र संरक्षणकर्मी भने उनीसितको सहकार्य सम्झिरहने छन् । कहिलेकाँही गाउँकै गोरेटो र निकुञ्जभित्र पर्यटक डुलाउन जाँदा उनको सम्झनाले सताउनेछ । उनको भौतिक शरीर नभएपछि बर्दिया निकुञ्जको पर्या–पर्यटन संरक्षण र विकासमा उनले पुर्याएको योगदान अमर रहनेछ । मेटिने छैन । जिल्लामा पर्यटक पथ प्रदर्शनमा पुरुष मात्र रहेका बेला उनले महिलाका लागि अवसरको ढोका खोलिन् । त्यहीँ ढोका भएर अहिले धेरै जनाले उनका पदचाप पछ्याइरहेका छन् । उनीहरुको स्मरणमा ठाकुरबाबा–९, ठाकुरद्वाराकी दिवंगत ३७ वर्षीया नेचरगाइड सीतारानी चौधरी रहिरहने छिन् ।

Advertisement

निकुञ्ज छेउमा हुर्किने क्रममा चराका कोकिलकण्ठे आवाज मन पर्न थाले । त्यसपछि प्रकृतिको काखमा वन्यजन्तुसित रमाउन थालिन् । लगनशील, जिज्ञासु र शान्त स्वभावकी उनी जरुरी काम लत्याएरै निकुञ्ज भ्रमणमा पुगिहाल्थिन् । बर्दिया र बाँके निकुञ्जमा उनको सिको गर्दै धेरै जना पर्यापर्यटनमा होमिएका छन् । पथ प्रदर्शकका रुपमा काम गरिरहेका छन् । सधैं निकुञ्ज सफारीका लागि हतारिने उनका पाइलाले थामिएका छन् । वन्यजन्तु र प्रकृति झल्किने तस्बीर सामाजिक सञ्जालमा पोष्ट हुन छाडेका छन् । उनको लौरो, क्यामेरा र दुरबिनले साथी गुमाएका छन् ।

बर्दिया निकुञ्जमा सजिलै बाघ देखाउने खुबी भएकी सीतारानी चौधरी आफन्त, साथीभाई र संरक्षणकर्मी रुवाउँदै सधैंका लागि बिदा भएकी छन् । उनको निधनले बाँके र बर्दियाका प्रकृतिप्रेमी शोकमग्न बनेका छन् । बर्दिया निकुञ्जले प्रतिभावान नेचरगाइड गुमाएको छ । साथीभाइका लागि उम्दा प्रकृति प्रेमीको अवसान भएको छ । पर्यटकबीच आफ्नो सरस, सजिलो र अध्ययनशील स्वभाव कारण सबैको मत मष्तिस्कमा ‘स्मार्ट गाइड’का रुपमा स्थापित थिइन् ।

ठाकुरबाबा –९, ठाकुरद्वाराकी ३७ वर्षीया नेचरगाइड सीतारानीको दुई साताअघि अल्पायुमै निधन भएपछि पर्यटकीय नगर ठाकुरद्वारा शोकमग्न छ । ज्ञान, क्षमता र नम्र ब्यवहारकाकारण पर्यटकको रोजाईंमा पर्थिन् । मिजासिलो बोली, चरा, वन्यजन्तु र प्रकृतिकाबारेमा तथ्यगत सूचना दिने र ब्याख्या गर्ने शैलीबाट पर्यटक मोहित हुन्थे । गर्मीले अत्याएपछि गाउँ नजिकैको पटुवा कुलामा नुहाउने क्रममा मेरुदण्डमा गम्भीर चोट लागेको थियो । गम्भीर अवस्थामा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिए पनि निधन भएको थियो ।

प्रकृति प्रेमले उनलाई पर्यटन पथ प्रदर्शनतर्फ डोर्यायो । १६ वर्षकै उमेरमा २०६२ मा उनले आधरभूत नेचर गाइडको तालिम लिइन् । त्यसपछि ७ वर्षसम्म वन जंगल चाहर्दै सिक्दै अनुभव बटुलिन । २०६९ देखि व्यवसायिक रुपमा नेचर गाडइड बनिन् । सिक्दैं काम गर्ने क्रममा उनी कहलिएकी नेचर गाइड बनेको बरिष्ठ नेचरगाइड राजन चौधरीले बताए । ‘धेरै पढन पाइनन, एसएससी उत्तिर्ण गरेर अंग्रेजीमा पाहुनालाई राम्रो ब्याख्या गरेर मोहित बनाउँथिन्,’ उनले भने, ‘नेपाली, हिन्दी र थारु भाषामा उस्तै दखल थियो । अध्ययनशील, मिठास पूर्ण बोली, चरा वन्यजन्तुकाबारेमा राम्ररी सूचना र जानकारी दिन सक्ने हुँदा सबैको रोजाइमा पर्थिन ।’

सबैले मन पराउने र चर्चित युवा नेचर गाइड भएकाले उनको शल्यक्रियाका लागि पनि सहयोग हात एकजुट भएका थिए । आर्थिक सहयोग राम्रै जुट्यो । सहयोग बिना उपचारकालागि खर्च धान्ने आर्थिक अवस्था थिएन् । त्यही भएर वरिष्ठ वाइल्डलाइफ फोटो पत्रकार राजेश ढुंगानाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरेका थिए । प्रकृति प्रेमीबाट सहयोग संकलन भयो । अन्नपूर्ण न्यूरोका वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तसित अस्पतालमै पुगेर संरक्षणकर्मीले याचना गरेपछि उनले न्यूनतम शुल्क लिएर शल्यक्रिया गरेका थिए । शल्यक्रिया सफल भए पनि उनलाई बचाउन नसकिएको ढुंगानाले बताए ।

‘सितारानीकै १३ वर्षकी छोरी छन्,’ उनले भने, ‘अहिले सीताकी बहिनीसंग बसिरहेकी छन् । उनको शिक्षादिक्षाका लगि सहयोग चाहिएको छ ।’ बर्दियाका अगुवा नेचर गाइडका अनुसार पाहुनालाई दिनैपिच्छे वन्यजन्तु देखाउनु, त्यसकाबारेमा जानकारी दिनु, रोमाञ्चित र आनन्दित बनाएर सुरक्षित रुपमा फर्काएर ल्याउनु चुनौतीपूर्ण काम हो । कहिलेकाही वन्यजन्तुबाट जोखिम पनि हुन्छ । ‘यस्तो बेलामा पाहुना जोगाएर सुरक्षित रुपमा फर्काएर ल्याउनु युद्ध जितेभन्दा कम हुँदैन्,’ चराव्दि राम शाहीले भने, ‘त्यस्तो काममा सीतारानी माहिर र क्षमतावान थिइन् ।’

उनको यस्तै परिपक्वताका कारण उनी दोस्रो विश्वयुद्ध लडेका बेलायती आर्मीको रोजाईमा पर्थिन् । बर्दिया निकुञ्जमा दोस्रो विश्वयुद्ध लडेका बेलायतीलाई उनले धेरै घुमाइन् । नेपाल नेचर ट्रष्ट युकेका डेपुटी चेयरमेन क्रिष्टोफर उशरलाई पनि उनले ३ वर्षदेखि बर्दिया निकुञ्ज आसपास गाइड गर्दै आएकी थिइन् । क्रिष्टोफर उशरले आफनो सामाजिक सञ्जालमै सीताराननीसँग बिताएका उत्कृष्ट क्षणको सम्झना गर्दै दुःख ब्यक्त गरेका छन् । सीतारानीले निकुञ्जभित्रैं रात बिताउने गरि बास बस्ने पर्यटका लागि सञ्चालन गरिने टेण्टेड क्याम्पको नेतृत्व गर्थिन् । उनीहरुले पनि सीतालाई मिस गरिरहेका छन् ।

सीतारानी प्रतिभावान प्रकृति, चरा वन्यजन्तुबारे उत्कृष्ट ज्ञान भएकी गाइडमा पर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए । पाहुनासँग नम्र बोली, हसिलो अनुहार, राम्रो ब्यवहार र खुलेर कुराकानी गर्थिन् । ‘जुन एउटा गाइडकालागि महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘त्यसैले पाहुना उनलाई खोज्दै पुग्थे । यस्ले नै उनको पिआर बढाएको थियो । यसकारण अहिले उनको भौतिक अनुपस्थितिमा दुःखमान्ने बढी भएका छन् । यो उनको सम्पत्ती हो ।’ उनको अभावमा स्वदेश तथा विदेशीबाट समबेदना ब्यक्त गर्नेको संख्या बढ्दो छ ।

सीतारानी गाइड पेशासँगै फोटोग्राफीमा निखारिँदै थिइन् । पर्यटकसँग गाइड गर्दै वन जंगल जाँदा तस्बिरपनि खिच्थिन् । क्यामरा चलाउने शिप र क्षमता थियो । ‘सार्प र राम्रो डेप्थ अफ फिल्ड’मा तस्बिर उतार्नथिन् । बाघ, चितुवा, गैंडा, चित्तल, हात्ती, जरायोकका राम्रो तस्बिर खिचेकी छन् । छिरबिरे र सेतोकण्डे माटीकोरे, चित्री उल्लु, कर्रा सावरी, चेखेवा चखेवी र सारसका उत्कृष्ट तस्बिर खिचेकी छन् । नेचरगाइडसँगसँगै उनी १५ वर्षदेखि बर्दिया निकुञ्ज गेट अघि रहेको थारु संग्रहालयमा कार्यालय सहयोगीका रुपमा समेत काम गर्दै आएकी थिइन् ।

उनी बाघ देखाउन सिपालु थिइन् । बाघको आनीबानी बुझेकी थिइन् । बासस्थानबारे पनि जानकारी थियो । गाडीबाट बाघको पैतला । दिशापिशाब गरेको देख्छिन् । ओर्लेर ताजा पुरानो छुट्याउँछिन् । बाघको दिशा देखेर बाघ हिंडेको बाटो पत्ता लगाउँथिन् । सीतारानी जहिल्यैं वन जंगल पर्यावरण, जीवजन्तु सबै हाम्रा सम्पत्ति र धरोहर भएको भन्थिन् । ‘जतिबेला पनि वन र वन्यजन्तुकै चिन्ता लिनुहुन्थ्यो,’ उनका सहकर्मी अनुराम चौधरीले भने, ‘सीतारानी नेचरगाइड भन्दा पनि संरक्षणकर्मी धेरै थिइन ।’ बाघको संरक्षण र प्रवर्द्धन गर्न सकेमात्र पर्यटनले उचाइ लिने सुनाउँथिन् ।