July 11, 2026, Saturday
२०८३ असार २७ शनिबार

क्षेत्रीहरूले जातीय र सामाजिक विभेद अन्त्यका लागि अगुवाई गर्नुपर्छः सांसद डा.थापा

Advertisement

भैरहवा– रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले नेपाल बहुजाति, बहुभाषाी र सामाजिक एकताको सूत्रमा बाँधिएको समाज भएकाले सबै जातजातिको सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । बहुल जाति धर्मको हितमा सम्पूर्ण क्षेत्री समुदाय लाग्नुुपर्ने पर्ने उनले जोड दिएका छन् । क्षेत्री समाज नेपाल सिद्धार्थनगर, भैरहवाद्वारा आयोजित सम्मान तथा मनोनयन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य डा.थापाले भने, ‘हाम्रो राष्ट्रिय गीतको वाक्यांशमा भनेझै हाम्रो नेपाल बहुुल जाति भाषा धर्म र संस्कृतिको विशाल ठाउँ हो । हामी सबै जातिको सम्मान गर्दै अगाडि बढ्नु पर्दछ ।’

Advertisement

सांसद डा.थापाले सो अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन खन्डकाब्यमा उद्धृत ‘क्षेत्रीको छोरो यो पाऊ छुुन्छ, घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने वाक्यांशलाई स्मरण गर्दै क्षेत्री जातिले नेपाली समाजमा भएको जातीय विभेद र सामाजिक विभेदको अन्त्यका लागि अगुवाई गर्नुपर्ने बताए । उनले क्षेत्रीको छोरा भएर यो समाजमा केही योगदान गर्न पाउँदा खुशी लागेको जनाए ।

सिद्धार्थनगरका पूर्व मेयर सागर प्रताप राणाले समाजको अगुवाई गर्ने क्षेत्री जातिले नै सामाजिक विभेद र सामाजिक समस्याको निराकरणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उक्त कार्यक्रममा सिद्धार्थनगरका पूर्व उपमेयर सुरेन्द्रजंग थापा, सिद्धार्थनगर वडा नम्बर ८ का वडाध्यक्ष राजनजंग राणा, क्षेत्री समाज नेपाल सिद्धार्थनगर महिला कमिटीको संस्थापक अध्यक्ष माया रावल, विकास रायमाझी, जितबहादुर कार्की, क्षेत्री समाज नेपाल सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापा क्षेत्री र पवित्रा पछाई लगायतले बोल्दै विविधतामा एकता भएको नेपाली समाजमा पछिल्लो समय मुलुकको राष्ट्रिय अखन्डता, सार्वभौमसत्ता कमजोर हुँदै गएको तर्क गर्दै पुर्खाहरुले योगदान, त्याग र बलिदानीको कदर गर्दै देशभरका क्षेत्रीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

उक्तअवसरमा क्षेत्री समाजको स्थापना र संचालनमा विशेष योगदान पुराएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने समाजको सल्लाहकारहरु पनि मनोनित गरिएको छ । नेपालमा क्षेत्री समुदायको जनसंख्या सबैभन्दा बढी छ। राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा क्षेत्री जातिको जनसंख्या ४७ लाख ९६ हजार ९९५ अर्थात कुल जनसंख्याको १६ दशमलब ४५ प्रतिशत छ। सिद्धार्थनगर भैरहवामा कुल ७५ हजार जनसंख्या मध्ये ९ प्रतिशत क्षेत्री जातिको जनसंख्या छ ।

क्षेत्री समाज सिद्धार्थनगरको अध्यक्ष खिमबहादुर जिसी हुन् भने पूर्वअध्यक्ष मिलन बस्नेत हुँदै यतिबेला राजेन्द्र थापा क्षेत्रीले उक्त समाजको नेतृत्व सम्हालीरहेका छन् । नेपालको एकीकरण अभियानदेखि नै क्षेत्री जातिका व्यक्तिहरुको योगदान स्मरणीय रहेको देखिन्छ । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानमा क्षेत्री (खस) समुदायका भारदार र सैनिकहरू कालु पाँडे, केहरसिंह बस्न्यात, अभिमानसिंह बस्न्यात, र रामकृष्ण कुँवर जस्ता वीरहरूले एकीकरणको नेतृत्व गरेका थिए।

यसैगरी अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुँवर जस्ता क्षेत्री योद्धाहरूले नेपालको सिमाना पश्चिममा काँगडा र पूर्वमा टिस्टासम्म पु¥याउन वीरतापूर्वक लडेका थिए। एंग्लो–नेपाल युद्ध (१८१४–१६) भनेर चिनिने नालापानीको युद्धमा बलभद्र कुँवर र जैथकको युद्धमा अमरसिंह थापाको वीरताको प्रशंसा अंग्रेजहरूले समेत गरेका थिए। बद्दोवालको युद्धमा ७० वर्षको उमेरमा भक्ति थापाले देखाएको साहस नेपालको इतिहासमा अमर छ।

यसैगरी शक्तिशाली छिमेकीहरूका सामु नेपाललाई कहिल्यै कसैको गुलाम हुन नदिन क्षेत्री शासक र सेनापतिहरूले कूटनीतिक र सैन्य सन्तुलन कायम राखेको इतिहास जिवन्त छ । नेपालको पहिलो प्रधानमन्त्री मानिने भीमसेन थापाले झण्डै ३१ वर्ष देशको प्रशासन सम्हाले र सेनाको आधुनिकीकरण गरे भने जंगबहादुर राणाले युरोप भ्रमण गरेर नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपालको सार्वभौमिकतालाई बेलायतद्वारा मान्यता दिलाउने काम गरेको इतिहास छ ।

नेपालको पहिलो लिखित कानुन ‘मुलुकी ऐन’ पनि क्षेत्री अगुवा जंगबहादुरद्वारा नै जारी भएको हो । जसले देशलाई एउटै कानुनी चक्रमा बाँध्ने जग बसाल्यो। नेपालमा प्रचलित भाषा पनि खस क्षेत्री भाषा नै हो । यसैले नेपाल राज्यको उद्भवदेखि नै क्षेत्री जातिको योगदान उल्लेखनीय छ ।