July 11, 2026, Saturday
२०८३ असार २७ शनिबार

बहुसांस्कृतिक ‘साझा फूलबारी’ बन्दै रूपन्देही

Advertisement

भैरहवा–पर्यटन, उद्योग, खेलकुद र व्यापारिक क्षेत्रमा प्रचुर सम्भावना बोकेको रुपन्देही जिल्ला पछिल्लो समय सांस्कृतिक समायोजन र सामाजिक सद्भावको बलियो केन्द्र पनि बन्दै गएको छ ।

Advertisement

विशेष गरी भैरहवा, बुटवल, देवदह, मुर्गिया, लुम्बिनी, धकधही, मणिग्राम लगायतका सहर र नगरोन्मुख बजार क्षेत्र कुनै एक जातजाति वा समुदायको मात्र बाहुल्यता नभई, विभिन्न पृष्ठभूमि भएका समुदायहरूको एउटा साझा फूलबारीको रूपमा विकास भइरहेको छ ।

यस क्षेत्रमा पुख्र्यौली बसोवास भएका थारु जाति, दक्षिणतर्फ बसोवास गर्ने यादव, अहिर, मुसलमान लगायतका मधेसी समुदाय र विभिन्न पहाडी जिल्लाहरूबाट बसाइँसराइ गरी आएका पहाडिया समुदायको मिश्रित बसोवास रहेको छ । यही विविधताका कारण रुपन्देहीको सामाजिक र सांस्कृतिक पहिचानमा एउटा सुन्दर समायोजन देख्न पाइन्छ ।

संस्कृतिविद् तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. गितु गिरीका अनुसार, मिश्रित समुदायको बसोवासका कारण रुपन्देहीमा सबै समुदायको संस्कृतिमा केही परिमार्जन भई सांस्कृतिक समायोजन बलियो बनेको छ । ‘यहाँ सबै जाति र समुदायको परम्परा र संस्कृतिमा मौलिकता त कायम छँदैछ, साथै संस्कृतिमा रहेका विकृति र विसङ्गतिहरू पनि बिस्तारै हट्दै जान थालेका छन्’ डा. गिरी भन्छन् ।

मिश्रित समाजकै कारण हिजोआज एक समुदाय र अर्को समुदायबिच विवाहवारी (अन्तरजातीय÷अन्तरसांस्कृतिक विवाह) हुने क्रम समेत बढेको छ । यसले गर्दा मानिसहरूमा एकअर्काको रहनसहन र संस्कृतिलाई आदर गर्ने बानी बस्नुका साथै आपसी धार्मिक सहिष्णुता समेत बढाएको छ । बढ्दो चेतनासँगै संकीर्णता हट्दै गएको र सबै समुदायबिच ‘आपसमा मिलेर बस्नुपर्छ’ भन्ने भावनाको विकास भएको डा. गिरीको बुझाइ छ ।

रुपन्देहीमा बढ्दो पर्यटन व्यवसाय र आर्थिक परिवर्तनले समाजलाई आधुनिकतातर्फ डो¥याइरहेको छ । यसको प्रत्यक्ष प्रभाव परम्परागत खाना, वस्त्र, आभूषण, गरगहना र चाडपर्वहरू मनाउने शैलीमा समेत देखिन थालेको छ । सवै सुमुदायमा बिद्यमान राम्रो प्रचलनको देखासिखी तथा अनुशरण गर्ने बानीले समाज आधुनिकीकरण र चाडपर्वमा साझीकरण तर्फ बढ्दै जान थालेको छ ।

भैरहवा बहुमुखी क्याम्पसकी प्राध्यापक तथा शोधकर्ता गीता शर्माका अनुसार बसाइँसराइले मिश्रित समाज बनाए पनि यहाँ आपसी एकता र सद्भाव उदाहरणीय छ । ‘एउटै गाउँमा मन्दिर, मस्जिद र चर्च भए पनि यहाँ सधैँ धार्मिक सहिष्णुता कायम रहँदै आएको छ’ शर्माले भनिन् ।

मुस्लिम पर्वमा हिन्दु सहभागी हुने, मन्दिरमा मुसलमानले पनि आदर गर्ने र तराईको महत्वपूर्ण छठ पर्वमा पहाडिया समुदाय पनि उत्तिकै उत्साहका साथ सहभागी हुने प्रचलन बढ्न थालेको उनको बुझाइ छ । तीज पर्वमा पहाडी र मधेसी समुदायका महिलाहरू सँगै नाच्ने गाउने र होली, ईद, मोहर्रम, दशैं, तिहार जस्ता चाडपर्व साझा रुपमा मनाइन थालिएको छ ।

‘होली, इद, दसैँ र तिहारजस्ता पर्वहरू अव कुनै एउटा समुदाय विशेषमा मात्र सीमित नरहेर, सबै समुदायले आपसमा मिलेर मनाउने परिपाटी बसेको छ’ उनले भनिन्, ‘विविधता भित्रको यही बलियो एकता नै अहिले रुपन्देहीको सांस्कृतिक समायोजनको सबैभन्दा सुन्दर र सबल पक्ष बनेको छ ।’