July 11, 2026, Saturday
२०८३ असार २७ शनिबार

लघुकथाः तीनपाने, भ्रम र तरिका

Advertisement

तीनपाने: “ओहो दाइ, तपाईं !” एकाबिहानै ढोकामा रामनामी ओढेर उभिएको मिठुरामलाई माधवले मुस्किलले चिन्यो ।  सधैँ तीनपानेको मातमा देखिने मिठुराम आज अर्कै देखिन्थ्यो । माधव भने बिहानै तीन गिलास रित्याएर झल्लिइरहेको थियो ।

Advertisement

“आज यो रामनामी ? धर्मकर्म गर्न थाल्नुभयो कि !” माधव हाँस्यो ।

“रमेश दाइ बिते, भाइ ! कलेजोले साथ छोडेछ ।” माधव अवाक् भयो । मिठुरामका आँखा रसाए ।

“भाइ, मेरो पनि कलेजो निकै बिग्रेको थियो । कसोकसो औषधिले जोगायो । अब त त्यो तीनपाने देख्दा पनि डर लाग्छ । तैँले पनि छोड्, भाइ ।” यति भनेर ऊ फर्कियो ।

माधवको आँखाअघि दिल्लीका दिनहरू नाच्न थाले, रमेश, मिठुराम र ऊ । काम सकिएपछि रातभर ग्यालेनका ग्यालेन तीनपाने रित्याउने उनीहरूको दैनिकी ।

साँझतिर उसले फेरि गिलास उठायो । त्यत्तिकैमा सानो छोरो ‘बाबा…’ भन्दै काखमा आयो । माधवको हात रोकियो ।

“रमेश दाइको ठाउँमा भोलि मेरो नाम आयो भने ?” उसले गिलाससहितको तीनपाने बाहिर फालिदियो । र, छोरोलाई कसेर अँगालो हाल्यो ।

०००

भ्रम: “सबै काम बुहारीले गरिदिएकी रहिछ । खाना, भाँडावर्तन, केटाकेटी सबैको भार उसैलाई रहेछ । तिमीले पनि घरको काममा अलिकति सघाए त मरिँदैन नि !”

बिहानको पहिलो घण्टी मोबाइलको होइन, तारा दिदीको आरोपले बज्यो । निद्राको भारीभन्दा ती शब्दको तौल यति धेरै भयो कि प्रकाशको नुर नै खस्यो ।

ऊ त बिहानै उठेर खानाखाजा बनाउँथ्यो, केटाकेटीलाई स्कुल पुर्‍याउँथ्यो, काममा जान्थ्यो ।

फर्केर फेरि उनीहरूलाई घर ल्याउने, खाना पकाउने, भाँडा माझ्ने यही उसको दिनचर्या थियो ।

श्रीमतीले बच्चाहरूलाई तयार पार्ने र खुवाउने काममा साथ दिइरहन्थिन् ।

तर, तारा दिदीले किन यस्तो भनिन् ? दिनभर घोत्लिएपछि साँझतिर रहस्य खुल्यो ।

अस्ति दुई रात बस्न आएकी दिदीले एउटा दृश्य मात्र देखेकी रहिछिन्, भान्सामा श्रीमती खाना पकाउँदै थिइन् । किनकि, पाहुना आउँदा उनी कसैलाई भान्सा छुनै दिन्न थिइन् । प्रकाश भने त्यस बेला पाहुनाको सत्कार र अन्य काममा व्यस्त थियो ।

दिदीले देखेको दृश्य साँचो थियो, तर पूरा सत्य थिएन ।

०००

तरिका: “मलाई यो बेड गिलो भयो, सुत्नै गाह्रो भयो । म निदाउनै सकिनँ । अर्को अलि साह्रो तख्तावाला बेड मगाउनुपर्‍यो,” श्रीमतीले भन्न थालेको दुई दिन भएको थियो ।

विगत चार वर्षदेखि सुत्दै आएको बेड अचानक गाह्रो भयो भनेको सुनेर श्रीमान् सुरुमा त छक्क परेको थियो । तर पनि बिदाको दिन अर्डर गर्नुपर्ला भन्ने सोच्यो ।

तेस्रो दिन त श्रीमतीले अति नै गरी, ‘किन बेड अर्डर नगरेको’ भनेर ।

‘पर्ख न, शनिबार अर्डर गरूँला नि’ भन्न के भ्याएको थियो, श्रीमती कड्किन् । र, आफैँ अर्डर गरिन् ।

दुई दिनपछि श्रीमतीले अर्डर गरेको बेड अघिअघि र सासूआमा पछिपछि आइन् ।

अनि, श्रीमतीले भनिन्, “आमा गिलो बेडमा निदाउनै सक्नु हुन्न के ! त्यही भएर,” उनी आमाको लागि बेड तयार गर्न लागिन् ।

बल्ल पो श्रीमान्ले मेसो पायो, श्रीमतीलाई बेड अर्डर गर्न किन त्यति साह्रो हतार भएको रहेछ भन्ने ।

baahrakhari