July 11, 2026, Saturday
२०८३ असार २७ शनिबार

बेल्बासे वंश समाज भैरहवाको अध्यक्षमा गणेशप्रसाद

Advertisement

भैरहवा– बेल्बासे वंश समाज, भैरहवाको अध्यक्षमा गणेशप्रसाद बेल्बासे चयन भएका छन्। संस्थाको शनिबार भैरहवामा सम्पन्न दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट गणेशप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

Advertisement

समाजको उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनयप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा बिमला बेल्बासे चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरूमा विष्णुप्रसाद बेल्बासे, ऋषिराम बेल्बासे, चुरामणि बेल्बासे, विक्रम बेल्बासे, बिमला बेल्बासे र खगेन्द्र बेल्बासे सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत केशव शर्मा बेल्बासेले बताए ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे केसीले समुदायबीच आपसी एकता, सहयोग र सद्भावलाई अझ सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिइन्। उनले संगठित प्रयासबाट समुदायको सामाजिक, शैक्षिक र आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

बेल्बासे वंश समाज रूपन्देहीका अध्यक्ष मुकुन्दराज बेल्बासेले केन्द्र र जिल्लास्तरमा अपेक्षाअनुसार गतिविधि सञ्चालन हुन नसकिरहेको अवस्थामा भैरहवा शाखाले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै उदाहरणीय भूमिका निर्वाह गरेको जनाए । उनले आगामी दिनमा पनि समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।

भैरहवा शाखाका अध्यक्ष घनश्याम बेल्बासेले विभिन्न पेशा, व्यवसाय र स्थानमा छरिएर रहेका बेल्बासे समुदायलाई एउटै साझा मञ्चमा आबद्ध गराई आपसी सम्बन्ध, सहकार्य र एकतालाई मजबुत बनाउने उद्देश्यले समाजले निरन्तर काम गरिरहेको बताए। कार्यक्रममा विष्णुप्रसाद बेल्बासे, गणेशप्रसाद बेल्बासे, झविन्द्रप्रसाद बेल्बासे लगायतले बोल्दै संस्थागत विकासमा जोड दिए ।

अधिवेशनले समाजलाई थप सशक्त, संगठित र क्रियाशील बनाउँदै समुदायको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।