पालिकाको बजेटमा मनपरीः मर्चवारीमाईमा ‘जनता’बिनै सार्वजनिक सुनुवाई


भैरहवा– मर्चवारीमाई गाउँपालिका भन्दा करिब एक किलोमिटर दक्षिण खैरास्थित पुरानो टहरो बाहिर शुक्रबार केही गाडी र मोटरसाइकल पार्किङ गरिएका थिए । उक्त टहरोभित्र गाउँपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको थियो । हलमा कर्मचारी र जनप्रतिनिधिको जमघट थियो । साँघुरो घर र टिनको छाना मुनी सहभागी अशिनपसिन थिए । सबैको हात खाली थियो सहभागिका लागि भनेर ल्याइएका डाइरी–पेन नबाँडी राखिएको थियो ।
उद्घोषकले आशन ग्रहणबाट कार्यक्रमको सुरुवात गरे । मञ्चमा मर्चवारीमाई गाउँपालिका अध्यक्ष गयाप्रसाद बरई, उपाध्यक्ष, उषा सिंह, प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठी र मर्चवारीमाई–२ का वडाध्यक्ष शशिदाहाल चौधरीलाई बसालेपछि सार्वजनिक सुनवाई सुरुवात भयो । उद्घोषकले कार्यक्रमबारे भूमिका बाँधेपछि हलमा सहभागीलाई प्रश्नोत्तरका लागि अनुरोध गरे । पालिकाले सम्पन्न गरेका कामबारे कुनैं गुनासो भएमा जिज्ञासा राख्न भनेपछि पनि कोही उठेनन् । सहभागी नै मुखामुख गर्न थाले ।
पालिकाका पदाधिकारी र जनप्रतिनिधिलाई प्रश्न सोध्न कोही तयार नभएपछि कार्यक्रमका एक सहभागीले भने, ‘सबै कर्मचारी मात्र छौं, कसले प्रश्न सोध्ने ।’ एकैछिन अलमल भएपछि कुर्सीबाट उठेर सामीनाथ कोहाँरले आफ्नो समस्या सुनाए । ‘सडक राम्रो नभएकाले केरा ढुवानी गर्न सकिएको छैन,’ उनले भने, ‘जति गुनासो गरे पनि सुनुवाई भएन ।’ त्यसपछि अर्का एक सहभागीले जिज्ञासा राखे । प्रश्न गर्ने स्थानीय नै नभएपछि हलमा केही बेर खैलाबैला भयो । सहभागीले यस्तो खल्लो बनाउनु भन्दा केही स्थानीय बोलाउने पर्ने बताए ।
प्रश्न गर्ने सहभागी नभएपछि सुरुमा गाउँपालिका इन्जिनियर गंगालाल यादवले मर्चवाईमाई–७ स्थित भत्किएको नाला र मर्चवारी–३, सेमरामा निर्माणाधीन सडकका बारेमा प्रष्टिकरण दिए । सशर्त अनुदान मार्फत निर्माण भइरहेका दुबै योजनामा पालिकाको कुनै कमजोरी नरहेको उनले बताए । साथै सामाजिक सञ्जाल र अनलाइनमा हुँदै नभएको विषय उछालेर बदनाम गर्न खोजिएको बताए । मर्चवारीमाई–२, वडाध्यक्ष शशिदाहाल चौधरीले सार्वजनिक सुनुवाईमा सवाल जवाफ देख्न नपाउँदा खल्लो लागेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिपाठीले सूचना जारी गरे पनि वर्षातको समय कामकाजले गर्दा स्थानीय कम सहभागी भएको बताए । साथैं गाउँपालिकामा भएका विकास निर्माण र योजनाका बारेमा अहिलेसम्म कुनैं गुनासो नआएको बताए । तर, केही योजनामा कर्मचारीको लापरबाही नहुँदा नहुँदै सामाजिक सञ्जालमा अनावश्यक कुरा उछालिनु दुर्भाग्य भएको बताए । गुनासो आएका योजनाको भुक्तानी रोकिएको उनले बताए । उनका अनुसार शुक्रबार गरिएको सार्वजनिक सुनुवाईको लागत एक लाख रुपैयाँ छ ।
गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले सार्वजनिक सुनुवाईबारे प्रचारप्रसारको कमी नभएको बताए । ‘फेसबुकमा सूचना राखेका थियौं,’ उनले भने, ‘चेतनाको कमीले गर्दा यस्ता कार्यक्रममा स्थानीय बासिन्दा आउँदैनन् ।’ पालिकाले वर्षभरि गरेका कार्यक्रमबारे प्रश्न गर्न मिल्ने भए पनि कोही नआएको उनले बताए । पालिकामा भइरहेका कार्यक्रमको आफैले अनुगमन गरिरहेको जनाउँदै कुनै गडबडी नभएको बताए । ‘मेरो कार्यकालमा मर्चवारमा धेरै विकासका काम भएका छन्,’ उनले भने, ‘पहिलेको तुलनामा अहिलेको मर्चवारीमाई स्वर्ग नै हो ।’
कार्यक्रममा नागरिक उपस्थित नभएको विषयमा कर्मचारीले नै आश्चर्य व्यक्त गरिरहेका थिए । ‘सार्वजनिक सुनुवाईका लागि पालिकाले पहिलोपटक सूचना जारी गरेको थियो,’ एक कर्मचारीले भने, ‘तै पनि स्थानीय बासिन्दा आएनन् ।’ पालिकाका बासिन्दा उपस्थित भएर आफ्ना समस्या र पालिकाका कामबारे जिज्ञासा राखेको भए सार्वजनिक सुनुवाई सफल हुने उनको भनाई छ । असार अन्तिममा झारा टार्ने किसिमले कार्यक्रम गरिएको उनले बताए । पालिकाले पछिल्लो चौमासिकको समीक्षा गर्न आयोजित सार्वजनिक सुनुवाई ४५ मिनेट हाराहारी चलेको थियो ।








प्रतिकृया दिनुहोस्