July 11, 2026, Saturday
२०८३ असार २७ शनिबार

६ बुँदे धारणा राख्दै मिराज ढुंगानाद्वारा गणेश नेपालीलाई शहीद घोषणा गर्न माग

Advertisement

महानगर प्रहरीसँगको विवादपछि आत्मादाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ। जेनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुकमार्फत गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने भन्दै ६ बुँदे धारणा सार्वजनिक गरेका छन्।

Advertisement

ढुङ्गानाले गणेश नेपालीको घटना आत्महत्या नभई आत्मदाह भएको दाबी गर्दै यसलाई राज्यको नीतिप्रति गरिएको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको उनको भनाइ छ।

उनका अनुसार गणेश नेपालीको आत्मदाह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवाना सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टिको चरम अभिव्यक्ति हो। उनले नागरिकको आर्थिक अवस्था र जनभावनालाई बेवास्ता गर्दै ल्याइएका नीतिका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन्।

ढुङ्गानाले उक्त विधेयक सच्याएर जनतालाई अत्यधिक जरिवानाको भारबाट मुक्त गर्नुपर्ने र गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार यो घटना राज्यलाई आफ्नो नीति पुनर्विचार गर्न बाध्य बनाउने दबाबको प्रतीक हो।

उनले गणेश नेपालीलाई शहीद घोषणा गरिए राज्य जनताका भावना र आवश्यकताप्रति बढी संवेदनशील बन्नुपर्ने सन्देश जाने तथा भविष्यमा दण्ड र जरिवाना सम्बन्धी नीति बनाउँदा नागरिकको आर्थिक अवस्थालाई ध्यान दिने नजिर स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

यद्यपि ढुङ्गानाले आत्मदाह गर्ने सबै व्यक्तिलाई स्वतः शहीद घोषणा गर्नुपर्ने पक्षमा आफू नरहेको उल्लेख गरेका छन्। राज्यको नीतिगत अत्याचारको प्रतिरोधमा कुनै व्यक्तिले अन्तिम विकल्पका रूपमा आत्मदाह गरेको अवस्थामा भने त्यसलाई सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्ने उनको धारणा छ।