July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मोहर्रम मेला जाने क्रममा दुई बालक नदीमा डुबे, एकको मृत्यु, एक बेपत्ता

Advertisement

भैरहवा– मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी नदी किनारमा लागेको ताहाजीया मेला हेर्न गएका दुई जना बालक नदीमा नुहाउने र पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ । अर्का एक बालक बेपत्ता भएका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवा स्थित रोहिणी नदीमा डुबेर ओमसतिया गाँउपालिका–४ बसन्तपुरका अन्दाजी ९ वर्षीय आकाश पासी र सोही स्थानका ११ वर्षीय अरमान पठान शुक्रवार साँझ करिव साढे ६ बजेको समयमा डुबेका थिए ।

तराई क्षेत्रमा स्थानीय समुदायले मनाउने मोहर्रम पर्वका अवसरमा शुक्रवार निकालिएको ताहाजिया मूर्तिहरू बाजागाजाका साथ नदीमा विसर्जन गर्ने क्रम चलिरहेको थियो। सोही क्रममा लागेको मेलामा गएका ती बालकहरू मूर्ति विसर्जन गर्ने मुख्य स्थलभन्दा करिब ७ सय मिटर टाढा नदीको एकान्त भागमा पौडी खेल्न गएका थिए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी तथा सूचना अधिकारी कृष्ण बहादुर चन्दल े, खोजतलाशका क्रममा शुक्रवार साँझ साढे ७ बजे नदीमा डुबिरहेको अवस्थामा आकाश पासी फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

नदीमा डुबेर बेपत्ता भएका अर्का बालक अरमान पठानको खोजी कार्य जारी रहेको छ। उद्धार कार्यमा संलग्न बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले दिएको जानकारी अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण रूपन्देहीबाट खटिएको गोताखोरसहितको टोली र स्थानीय बासिन्दाले उनको खोजी गरिरहेको बताए ।

डाँगीका अनुसार ती बालकहरू नुहाउन तथा पौडी खेल्नु अगाडि नदी किनारमा शौच गर्न गएका थिए। वर्षात्का कारण नदीमा अन्य दिनको तुलनामा पानीको सतह बढेको र पानी धमिलो रहेकाले पौडी खेल्ने क्रममा यो दुर्घटना हुन पुगेको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।