July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

रूपन्देहीको कोटहीमाई गाउँपालिकाले किन ल्याएन बजेट ?

Advertisement

भैरहवा – यस वर्ष पनि रुपन्देहीको कोटहीमाई गाउँपालिका समयमै बजेट सार्जजनिक गर्नबाट चुकेको छ । पालिकाका अध्यक्ष–उपाध्यक्षबीच बजेट बाँडफाँटमा सहमती कायम नभएपछि बजेट स्थागित भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्न नसकेको हो ।

Advertisement

कोटहीमाईमा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष बालकृष्ण त्रिपाठी र उपाध्यक्ष सुशीला कुमारी यादव छन् । दुबै जना एकै दलबाट निर्वाचित भए पनि बजेट विनियोजनका विषयमा विवाद सिर्जना भएको छ । यस अघि कोटहीमाईमा वजेटका बेला विवाद हुँदै आएको थियो । यस पटक पनि उपाध्यक्ष यादवले अध्यक्षकै बराबर बजेट सिलिङ मागेपछि सहमती जुट्न नसकेको हो ।

स्थानीय शासन सञ्चालन ऐन अनुसार असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने बजेट जनप्रतिनिधिबीच तालमेल नहुँदा ढिलाई भएको हो । बजेट स्थगित भएपछि कर्मचारी र जनप्रतिनिधिले एकअर्का बिरुद्ध हिलो छ्यापाछ्याप चलिरहेको छ । रुपन्देही जिल्ला समन्वय समिति अधिकारी यमलाल कुँवरले पालिकासित समन्वय गर्न खोज्दा फोन नउठेको बताए । ‘हामी अहिले पनि के कारण बजेट आएन भनेर बुझिरहेका छौं,’ उनले भने ।

पालिका अध्यक्ष त्रिपाठीसित यस विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा भने आउन चाहेनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले आफू कार्यालयमा हाजिर भएको एक महिना मात्र भएकाले समस्याबारे बुझिरहेको बताए । ‘पालिकामा विवाद त केही पनि छैन,’ उनले भने, ‘खासमा यहाँ वडा र पालिका अध्यक्ष र उपाध्यक्षबीचको समन्वय नभएकाले समयमा बजेट आउन नसेको हो ।’

कर्मचारीका अनुसार कोटहीमाईमा बजेट सार्वजनिक गर्ने बेलाको किचलो नयाँ होइन । प्रत्येक वर्ष वडाध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्षले धेरै बजेट हत्याउन प्रयास गर्छन् । आफ्नो माग अनुसार बजेट व्यवस्था नभए अवरोध सिर्जना गर्छन् । ‘पहिला पनि यस्तै हु्न्थ्यो,’ उनले भने, ‘मैले जनप्रतिनिधिबीच पुलको काम गर्ने हो, जुन गरिराखेको छु ।’

गाउँपालिकाकी उपाध्यक्ष यादवले बैठक बोलाउने काम आफ्नो नभएर अध्यक्षको भएको बताइन् । ‘मेरो तर्फबाट गर्ने सबै सहयोग गरेकी छु,’ उनले भनिन्, ‘तर समन्वयको कमिले गर्दा गाउँसभा बस्न सकेको छैन ।’

गाउँपालिकाका प्रवक्ता संजयकुमार सैनीले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । ‘सबैलाई जबाफ दिँदादिँदै हैरान भइसकेँ,’ उनले भने, ‘हामी वडाध्यक्ष तयार छौं । पालिका अध्यक्षलाई फोन हान्दा उठ्दैन, भेट्न खोज्दा भेट हुँदैन ।’ असार ९ गते अध्यक्ष त्रिपाठी भारत गरेका थिए । त्यसपछि भेटघाट नभएको उनले बताए ।