कफी अनुसन्धान केन्द्रमा वैज्ञानिककै अभाव


गुल्मी– जिल्लास्थित रुरुक्षेत्र–४, भण्डारीडाँडामा रहेको कफी अनुसन्धान कार्यक्रममा दरबन्दीअनुसार बैज्ञानिक तथा अन्य कर्मचारी नहुुँदा अनुसन्धान प्रभावित भएको छ । बैज्ञानिक विनै ११ वर्षदेखि उक्त कार्यक्रम चलिरहेको छ । जसले गर्दा अनुसन्धान कार्यक्रमबाट उपलब्धि हासिल गर्न कठिनाई भइरहेको छ ।
कफी अनुसन्धान कार्यक्रम प्रमुख तथा बरिष्ठ वैज्ञानिक जनार्दन गौतमले दरबन्दीअनुसार विज्ञ नभएकाले पटकपटक विज्ञ उपलब्ध गराइदिन संघीय सरकारसँग माग गरेको बताए । अनुसन्धान कार्यक्रममा कुल १७ दरबन्दी छ । तर यहाँ ४ जना मात्र कर्मचारी कार्यरत छन् । बाँकी १३ जनाको पद रिक्त छ । बरिष्ठ बैज्ञानिक (पोमोलोजी–हर्टिकल्चर), बरिष्ठ बैज्ञानिक (माटो विज्ञ), बरिष्ठ बैज्ञानिक (वनस्पती रोग विज्ञ) रिक्त छ ।
हर्टिकल्चरको मुख्य प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, जेटि २, लेखा अधिकृत, नायव सुब्बा, प्राविधिक सहायक एक, प्रशासन सहायक पद खाली छ । ‘आवश्यक कर्मचारी नै नभएपछि कसरी काम धेरै अपेक्षा गर्नु ?’, कार्यालय प्रमुखसमेत रहेका गौतमले भने । जातीय परीक्षणका साथै प्रांगारिक मल, उचित छहारी, बिरुवा, फिल्ड जिन बैंकको व्यवस्थापन, उत्पादन उप्रान्त प्रविधि विकास, उत्पादित कफीको जातहरुको विभिन्न भौतिक तथा रासायनिक गुणहरुको परीक्षण हुन्छ । छहारी बिरुवा रोपण, अनुसन्धान ब्लक स्थापना, जर्मप्लाज्म संकलन, प्रयोगशाला उपकरण व्यवस्थापन गरिएको उनले बताए ।
अनुसन्धान केन्द्र २०७१ सालमा स्थापना भएको हो । जग्गा, भौतिक पूर्वाधार, कर्मचारीसँगै अनुसन्धानका लागि अहिलेसम्म करोडौं खर्च भइसकेको छ । कार्यक्रम सुरु भएको दशक पुगिसक्दा किसानहरूले भने थाहा पाउन सकेका छ्रैनन् । ‘हामीले अनुसन्धान गछौं तर किसानको पहुँच यहाँसम्म कमै छ,’ उनले भने, ‘स्थानीय तहले जति सम्पर्क, समन्वय गर्नुपर्ने हो त्यतातिर ध्यान नै छैन । हामीले धेरै जातीय परीक्षण, संरक्षण, मूल्यांकन गरिन्छ तर यसको प्रचारप्रसार पनि छैन ।’ ११ बर्षमा कफीका जम्मा ४४ जिनोटाइपहरु कफी फिल्ड जिन बैंकमा संरक्षण गरिएको उनले बताए ।
बरिष्ठ बैज्ञानिक गौतमका अनुसार कफीजिनोटाइपका बोर्वन अमारिलोमा कफीको सेतो गवारोको सबभन्दा कम क्षति पाइएको छ । गुल्मी लोकल र एल्लो कटुरामा क्षति बढी पाइएको उनले बताए । अनुसन्धान कार्यक्रममा जात संरक्षण छ । मुल्यांकन तथा परीक्षण गर्दा तीन वटा सिफारिसका लागि उपयुक्र्त देखिएको र अघि बढाइसकेको उनले बताए । ‘सेतो गवारोका लागि प्रविधि विकास भएको छ,’ उनले भने, ‘मलखाद व्यवस्थान, अन्तरबाली सम्बन्धी प्रविधि, कफी सिन्दुरे रोग व्यवस्थापनका लागि प्रविधि विकास भएको छ ।’ प्रविधि पुर्याउन नसकिएको र यसका लागि स्थानीय तहले सहकार्य गर्नुपर्ने उनको सुझाव छ ।
कफीको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्म सबै परीक्षण गरिँदै आएको छ । सेतो गवारोबाट बिचलित किसानले अनुसन्धानबाट केही निकास पाउन नसकेका गुनासो छ । ‘विज्ञ नभएका कारण सोचअनुसारको काम भएको छैन,’ उनले भने, ‘एक्लैले के गरौं भन्ने हुन्छ । विज्ञ र प्राविधिकविना अनुसन्धान सोंचे अनुसार हुन सकेको छैन ।’
मुख्य सडकदेखि अनुसन्धान कार्यस्थलसम्म पुग्न सडक राम्रो नभएका कारण अध्ययन, अनुसन्धान र अवलोकन गर्न आउनेहरूले समेत दुःख पाउनुपर्छ । सेतो गवारो नियन्त्रण नहुँदा निराश बनेका कफी किसानले कार्यक्रमबाट राहतको आशा गरेका थिए । तर, कार्यक्रम प्रभावकारी नहुँदा सोचे अनुसारको उपलब्धि नभएको गुल्मीको मुसीकोट नगरपालिका–७, आँपचौरका कफीका पुराना किसान खिमराज खरालले बताए । गुल्मीको आँपचौरमै १९९५ देखि स्वर्गीय हिरा गिरीले कफीको बिरुवा उमारेर सुरुवात गरेको इतिहास रहेको उनले बताए ।
कफी खेतीको बिस्तार मुलुकका झण्डै ४३ जिल्लामा पुगेको छ । विगतमा कफीले बजार पाउन सकेन । रातो, सेतो गवारो कीराको आक्रमणबाट व्यापक क्षति भयो । त्यसपछि कफीको जननी गाउँ आँपचौरमै कफी वगैचा फँडानी भए । ‘कफीले नुन, तेल, मसला केही दिएन,’ ज्येष्ठ नागरिक खरालले भने, ‘अनि के गर्नु कफीका बिरुवा मास्न थालियो । रोग पनि लाग्यो । अहिले कफीका बिरुवा पनि देख्न मुस्किल भइसकेको थियो ।’ कफी मासेर अन्य बाली लगाउन सुरु गरेको उनले सुनाए । नेपालमा गुल्मी कफीको जननी जिल्ला हो । ८० वर्ष पहिलेदेखि यहाँ कफी उत्पादन हुँदै आएको छ ।








प्रतिकृया दिनुहोस्