फरक आर्किटेक्ट र विदेशी वातावरणले पर्यटक लोभ्याउँदै टाइगर प्यालेस बाई सोल्टी


भैरहवा – एक दशक अघि रुपन्देहीको तिलोत्तमा–१५, कोटिहवामा टाइगर प्यालेस रिसोर्ट निर्माणका लागि अष्ट्रेलियन लगाकनीकर्ता महिनौं यहीँ बसेका थिए । तिलोत्तमाकै अर्को चारे होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेर लगानीकर्ताले टाइगर प्यालेस निर्माण गरेका थिए । उक्त रिसोर्ट निर्माका लागि साना–साना कुरा पनि विदेशबाट आयात गरिएको होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्टका सञ्चालक गोपाल रानाले सुनाए ।
‘ढुंगा, माटो, ईंटा र काठपात नेपालको प्रयोग गरे होलान,’ रिसोर्ट निर्माणको समयको स्मरण गर्दै राना भन्छन्, ‘बाँकी रिसोर्टका लागि आवश्यक सामाग्री विदेशबाटै आयात गरिएको थियो ।’ टाइगर प्यालेसलाई नाम अनुसारकै बनाउन लगानीकर्ताले कुनै कसर बाँकी नराखेको उनी बताउँछन् । त्यसैले त भैरहवा र बुटवलको मध्ये भागमा रहेको रिसोर्टको मूल गेटबाट प्रवेश गर्ने वित्तिकैं विदेशमै पुगेको आभास हुन्छ । समुन्द्री तटको जस्तो वातावरण छ । लगानीकर्ताले ‘ल्याण्डस्केप’ परिवर्तन गरेर रिसोर्टको निर्माण गरेका छन् ।
यहाँका पर्यटन व्यवसायीका अनुसार रिसोर्टको आर्किटेक्ट पनि अरुको भन्दा फरक छ । भवनमा कंक्रिट मात्र प्रयोग गरिएको छ । हलुवाका निर्माण सामाग्री प्रयोग गरिएको छ । खुला र हरियाली ठाउँ प्रशस्त राखिएको छ । ‘पछिल्लो समय ठूलो–ठूलो लगानीमा होटल–रिसोर्ट खुलिरहेका छन्,’ पर्यटन व्यवसायी रानाले भने, ‘तर, टाइगर प्यालेसको जस्तो संरचना र फराकिलो क्षेत्रफलमा कमै रहेका छन् । यस्तै विशेषताले यो रिसोर्ट स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षण बनेको छ ।’ साथैं वेडिङ डेस्टिनेशनका रुपमा पख्र्यात छ ।
पाँच तारे लक्सरी ब्राण्ड अन्तर्गतको होटल टाइगर प्यालेस वाई सोल्टी रिसोर्टमा रात बिताउन भारत लगायत तेस्रो मुलुकबाट पाहुना ओइरिने गरेका छन् । भारतीय सिमा नाका बेलहियाबाट करिब ८ किलोमिटर दुरीमा रहेको रिसोर्टमा दैनिक सयौं भारतीय नागरिक क्यासिनो खेल्न र परिवार सहित बिदा मनाउन आउने गरेका छन ।
अहिले सोल्टी समूहले व्यवस्थान गरिरहेको रिसोर्टमा विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीको लगानी रहेको छ । यो रिसोर्ट कुल १४ बिगा क्षेत्रफमा फैलिएको छ ।
रिसोर्टका फ्रन्ट टेक्स एक्सिक्युटिभ वीपीन कुमार महतोका अनुसार यहाँ आउने पर्यटकका लागि लक्जरी कोठासँगैं जिम, क्यासिनो, इन्डोेर र आउटडोर खेल स्थल, मुलुककै धेरै क्षेत्रफलको स्वमिङ पुल, स्पा, बच्चाहरुका लागि खेल्ने ठाउँ र आकर्षक रेष्टुरेन्ट छन् ।
रिसोर्टमा अहिले दुईवटा लक्जरी भिल्लासँगैं १ सय २ कोठा छन् । लियोपार्ड र टाइगर गरी दुई वटा भिल्ला आकर्षक छन् । स्विट र डिलक्स कोठा पनि छन् । रिसोर्टमा भारतीय बाहेक म्यानमार, भुटान, श्रीलंका, थाइल्याण्ड लगायत विश्वका धेरै मुलुकका पर्यटक आउने गरेका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट करिब २५ किलोमिटर दूरीमा रिसोर्ट छ । हरियाली, शान्त वातावरण र खुला आकाश मुनी रहेको रिसोर्टमा मुलुककै ठूलो स्विमिङ पुल अर्को आकर्षणका रुपमा छ । पछिलो समय रिसोर्ट भारतीयको बिवाहका लागि रोजाइमा परेको छ । यहाँ भारतीय पर्यटकको चाप धेरै हुन्छ । क्यासिनो खेल्नका लागि आउने भारतीय धेरै हुन्छन् । पाचँतारे रिसोर्टमा बाह्रै महिना पर्यटक आगमन हुने गरेको महतोले बताए ।
‘असार र साउनमा पर्यटकको संख्या केही कम हुने गरेको छ,’ उनले भने, ‘अहिले मनसुनको समय भएकाले पर्यटक केही कम हुन्छन् ।’ अन्य समयमा होटल र रेष्टुरेन्टको अकुपेन्सी ८० प्रतिशत हाराहारी हुने गरेको उनले बताए ।








लेखकको सम्वन्धमा