July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

२१ लाखमा देवस्थल मन्दिरमा हवनशाला निर्माण

Advertisement

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित देवस्थल मन्दिरमा निर्माण गरिएको हवनशालाको उद्घाटन गरिएको छ । हवनशालाको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले गरेका हुन्। परम्परागत धार्मिक संस्कारलाई संरक्षण गर्दै भावी पुस्तासम्म यसको महत्व पुर्याउने उद्देश्यले निर्माण गरिएको होवनशालामा ऐतिहासिक शैलीका आकर्षक बुट्टाहरू कुँदिएका छन्।

Advertisement

हवनशाला सञ्चालनमा आएसँगै मन्दिर परिसरमा नियमित हवन तथा अखण्ड धुनी प्रज्ज्वलन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। हवनशाला निर्माणमा कुल २१ लाख रुपैयाँ खर्च भएको निर्माण समितिले जनाएको छ। त्यसमध्ये ९६ हजार रुपैयाँ मन्दिर व्यवस्थापन समितिले व्यहोरेको हो भने बाँकी रकम बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगबाट व्यवस्थापन गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण स्थानीय सरकारको प्राथमिकतामा रहेको बताए। उनले देवस्थल मन्दिरमा निर्माण गरिएको होवनशालाले धार्मिक गतिविधिलाई थप व्यवस्थित बनाउनुका साथै सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। धार्मिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचान जोगाउन उपमहानगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने उनको भनाइ थियो।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले होवनशाला निर्माणसँगै मन्दिरको धार्मिक गरिमा थप उँचो भएको बताइन्। अब नियमित हवन, वैदिक अनुष्ठान तथा अखण्ड धुनी सञ्चालन गर्न सहज हुने उल्लेख गर्दै उनले यस कार्यमा सहयोग गर्ने बुटवल उपमहानगरपालिका, दाताहरू तथा स्थानीय भक्तजनप्रति आभार व्यक्त गरिन्। आगामी दिनमा मन्दिरलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा अझ व्यवस्थित बनाउने योजनामा समिति अघि बढ्ने उनले जानकारी दिइन्।

समारोहमा मन्दिर व्यवस्थापन समितिका सचिव रन्जु चापागाईंले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने पूर्वअध्यक्ष अशोक गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। हवनशाला निर्माण समितिका संयोजक हरिप्रसाद उपाध्यायले निर्माण प्रक्रियाबारे जानकारी गराएका थिए।

देवस्थल मन्दिर परिसरमा दुर्गा, शनि, शिवालय, स्वसन्तानी, हनुमान तथा गणेशको नियमित पूजा–आराधना हुँदै आएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार हवनशालाको शिलान्यास २०८२ साल जेठ ८ गते गरिएको थियो।