बर्दियामा करोडौंको अस्पतालदेखि गैरनागरिकसम्मका स्वास्थ्य संस्था अवैध


बर्दिया–बर्दियामा मापदण्ड पूरा नगरी र सम्बन्धित निकायबाट इजाजत नै नलिई ठूला अस्पतालदेखि औषधि पसलहरूसम्म अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ । यो बेथिति विकट वा सीमावर्ती क्षेत्रमा मात्र नभएर जिल्लाकै सदरमुकाम गुलरिया नगरपालिकामै व्यापक देखिएको छ ।
गुलरिया नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरपालिकाभित्र मात्रै प्रदेश स्वास्थ्य विभागबाट इजाजत नलिई ५८ वटा पोलिक्लिनिक, फार्मेसी, प्याथोलोजी र निजी अस्पताल अवैधानिक रूपमा सञ्चालन भइरहेका छन् । ५ वटा औषधि पसल त कुनै नाम नै नराखी सञ्चालनमा रहेका छन् । सदरमुकाम गुलरियामा करोडौं रुपैयाँको लगानीमा स्थापना भएको सिटी अस्पताल समेत दर्ता र इजाजत प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको खुलेको छ । करिब दुई वर्षअघि स्थापना भएको यस अस्पताललाई गत वर्ष नै स्वास्थ्य मापदण्ड पूरा गर्न पालिकाबाट पत्राचार भएको थियो ।
अस्पतालका सञ्चालक डा. मुकेश झाले भने नगरपालिकाबाट अस्थायी अनुमति लिएको दाबी गर्दै आगामी ६ महिनाभित्र सम्पूर्ण मापदण्ड पूरा गरेर दर्ता प्रक्रियामा जाने बताएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरीले सिटी अस्पताललाई स्वास्थ्य मापदण्ड पूरा गरी दर्ता गर्न पुनः पत्राचार गरिएको जनाए ।
गुलरिया–११ मा एक भारतीय नागरिकले लामो समयदेखि अवैध रूपमा औषधि पसल सञ्चालन गर्दै आएको पाइएको छ । स्थानीय राजकुमार बर्माका अनुसार वर्षौंदेखि अवैध रूपमा यस्ता पसल चल्दा पनि नियामक निकायले कुनै चासो नदेखाएको बताए ।
भारतीय सिमावर्ती गुलरिया–९ र १० का कतिपय घरमै ८ देखि १० वटा अवैध औषधि पसल सञ्चालनमा रहेको स्थानीयको दाबी छ । गुलरिया–१० का वडाध्यक्ष हरिप्रसाद पासीले आफू दुई कार्यकाल वडाध्यक्ष भइसक्दा पनि अहिलेसम्म कतैबाट यस्ता अवैध पसलहरूको अनुगमन नभएको गुनासो गरे । गुलरिया नगरपालिका–६ मा सबैभन्दा बिना दर्ताका औषधि पसल सञ्चालनमा छन् । स्वास्थ्य शाखा प्रमुख चौधरीले बिना नामका पसल र शङ्कास्पद नक्कली डाक्टरहरूमाथि निगरानी बढाइएको र ३५ दिनभित्र मापदण्ड पूरा गरी दर्ता हुन निर्देशन दिइएको बताए ।
‘सदरमुकाम क्षेत्रमै बिनाइजाजतका पसल धेरै छन्। हामीले ५ वटा नाम नभएका पसल र शङ्कास्पद डाक्टरमाथि निगरानी बढाएर ३५ दिने अल्टिमेटम दिएका छौँ’ चौधरीले भने, ‘चाँडै नै कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ बर्दिया जिल्लाभर कति संख्यामा यस्ता अवैध औषधि जन्य व्यवसाय सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयसँग समेत छैन ।








प्रतिकृया दिनुहोस्