लुम्बिनी विकास कोषले बुद्ध जयन्तीका पाहुना बसाएको पैसा भुक्तानी गरेन


भैरहवा– लुम्बिनी विकास कोषले एक वर्ष मनाएको २५६९ औं बुद्ध जयन्तीका सहभागीलाई होटलमा बसाएको रकम भुक्तानी नगरेपछि किचलो सुरु भएको छ । तत्कालीन समयमा कोषका बोर्ड सदस्यले छानीछानी आफूले रुचाएको होटलमा पाहुना राखेका थिए । उनीहरुले आफू अनुकुलका पाहुना राखेर पर्यटन व्यवसायीले पाउनु पर्ने रकम भुक्तानी गरेनन् ।
कोषका एक कर्मचारीका अनुसार त्यतिबेला लेखा प्रमुखको आनाकानीका कारण भुक्तानीमा समस्या भएको हो । उक्त रकम भुक्तानी गर्ने नवल यादव लेखा प्रमुख थिए । आफू सित सल्लाहा बिनै मनपरि पाहुना राखिएको जनाउँदै उनले भुक्तानी गर्न मानेनन् । पूर्व कोषाध्यक्ष ढुण्डीराज भट्टराईले आफू अनुकुल सञ्चारमाध्यामलाई विज्ञापन बाँडेको जनाउँदैं प्रचार–प्रसारका लागि छुट्याएको रकम समेत भुक्तानी गर्न मानेनन् । जसले गर्दा त्यतिबेला करिब ४४ लखा रुपैयाँ ‘फ्रिज’ भएको थियो ।
लुम्बिनीका पर्यटन व्यवसायीले बारम्बार माग गर्दा समेत उक्त रकम भुक्तानी भएन । रकम भुक्तानी नभएपछि होटल व्यवसायी, ट्राभल एजेन्सी र संचार संस्था समस्यामा परेका हुन् । तीन–चार महिनादेखि भुक्तानी माग गर्दै व्यवसायी कोषको कार्यालयमा धाइरहेका छन् । लुम्बिनी विकास कोषका निवर्तमान सदस्य सचिव दीपक श्रेष्ठले पुरानो खर्चको आफूले भुक्तानी गर्न नसक्ने जनाउँदैं पन्छिएका थिए । पहिलेको खर्चको दायित्व सिर्जना नगरिएको उल्लेख गर्दै उनले भुक्तानी गर्न मानेनन् ।
बुद्ध जयन्ती जस्तो पर्वका पाहुना बसाएको र सेवा प्रदान गरे वापतको खर्च एक वर्षभन्दा बढी भइसक्दा पनि भुक्तानी नपाउने अवस्था भएपछि न्यायका लागि व्यापारी र व्यवसायीले अदालत जाने तयारी गरेको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले बताए । लुम्बिनी विकास कोषका पदाधिकारीबीच आपसी विवाद, व्यक्तित्वको टकराव र समन्वय अभाव हुँदा करिब ४४ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन । रकम भुक्तानी त भएन, उता विभिन्न व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी छ भनेर गत आवमा दायित्व पनि सिर्जना नगर्दा चालु आवमा पनि भुक्तानी पाउने अवस्था नदेखिएकाले अर्को समस्या थपिएको अध्यक्ष शर्माले बताए ।
‘कोषको खातामा भुक्तानी दिन बाँकी छ भनेर कहीँकतै उल्लेख छैन,’ कोषका एक अधिकृतले भने, ‘तर, व्यवहारमा भुक्तानी दिन बाँकी देखिँदा समस्या जटिल बनेको छ ।’ कानूनी रूपमा दिन सक्ने आधार छैन । त्यही भएर अदालत गएर गाँठो फुकाउनुको विकल्प नहुँदा समस्या थप बल्झिएको सुरम्मा होटल सञ्चालक खिम श्रेष्ठले बताए । गत वर्ष वैशाख २९ गते परेको बुद्ध जयन्ती मनाउन सरकारले कोषलाई १ करोड रकम निकासा पठाएको थियो ।
भैरहवा, तिलोत्तमा र लुम्बिनीका तीनवटा ट्राभल एजेन्सीलाई १ सय २ वटा हवाई टिकटको ५ लाख ५१ हजार ६ सय ४७ रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यस्तै लुम्बिनीका १२ वटा होटललाई २४ लाख ३० हजार ६ सय ८६ रुपैैयाँ तिर्न बाँकी छ । सबैभन्दा बढी लुम्बिनी होक्के होटललाई ९ लाख १ हजार र होटल कासाईलाई ३ लाख ७९ हजार ८ सय ९९ रुपैैयाँ तिर्न बाँकी रहेको छ । त्यस्तै बुद्ध जयन्तीमा प्रयोग गरिएका कार, हाइस, स्कार्पियो र स्कुल बसको १० लाख ९२ हजार रकम पनि भुक्तानी दिन बाँकी छ । त्यस्तै काठमाडौं–लुम्बिनी–काठमाडौं बस भाडा १ लाख ११ हजार ८ सय ७० भुक्तानी गर्न बाँकी रहेको छ ।
बिलको भुक्तानी पाउनु त परै जाओस्, आफ्नो गोजीबाट मूल्य अभिवृृिद्ध करसमेत तिरेको एक वर्षभन्दा बढी भइसक्दा व्यवसायी थला परेको लुम्बिनीस्थित एन्जल होली–डे ट्राभल एन्ड टुरका संचालक प्रकाश भट्टराईले बताए । ‘व्यवसायीले रकम परिचालन गर्दै व्यापार व्यवसाय गर्ने हो,’ उनले भने, ‘घाटा सहेर र घरबारी बेचेर व्यवसाय गर्न सकिन्न ।’ लुम्बिनी विकास कोषको आन्तरिक समस्याले व्यवसायी पीडित हुन नहुने उनले बताए । गत वर्ष चेक काट्ने अख्तियारी सदस्य–सचिव सानुराजा शाक्य र लेखा अधिकृत यादवले पाएका थिए । शाक्य ०८२ असोज २१ गते पाँचवर्षे अवधि पूरा गरेर सेवा निवृत्त भए । त्यसपछि लेखा अधिकृतबाट यादव हटाइए । यादवले आफूसँग सदर भएर आएका सबै बिलको भुक्तानी दिएको सुनाए ।








प्रतिकृया दिनुहोस्