अस्पतालको रकम हिनामिना प्रकरणमा पाँच जना प्रकाउ


कपिलवस्तु–बैंक भौचर भरेर दाखिला गरिएको भनिएको रकम नै नदेखिएपछि कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना प्रकरणमा पाँच जना प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अस्पतालको रकम हिनमिना गर्ने अस्पतालका मेसु सहित नेपाल बैंक लिमिटेडका कर्मचारी समेतलाई प्रकाउ गरेको हो । उक्त अस्पतालको नेपाल बैँक लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ जम्मा गरिएको भौचरको रकम खातामा फेला नपरे पछि हिनामिना भएको आशकांमा केही दिन अघिदेखि अनुशन्धान गरिएको थियो ।
अस्पतालको आर्थिक कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धान गर्दा सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित रकम हिनामिना गरिएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अस्पतालको आम्दानी बैंकमा जम्मा गर्दा १२९ वटा भौचरका आधारमा जम्मा भएको भनेर देखाइएको ३८ लाख रुपैयाँ भन्दा धेरै रकम बैंकमा जम्मा नभएको भेटिएपछि अनुसन्धान अघि बढाइएको थियो ।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भण्डारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमलप्रसाद भण्डारी, अस्पतालका फार्मेसी सहायक ३७ वर्षीया रक्सना खातुन तथा बैंकका कर्मचारी ३५ वर्षीय विक्रम केसी छन् ।
उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । अस्पतालको खातामा जम्मा हुनु पर्ने रकम नभएको पाइएपछि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले घटनाको विषयमा अनुसन्धान गर्नका लागि बैशाख ४ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई यस वारेमा पत्राचार गरेका थिए ।








प्रतिकृया दिनुहोस्