नसिब गार्मेन्ट्स अब नयाँ व्यवस्थापनसाथ सञ्चालनमा


भैरहवा–विगत २० बर्षदेखि सञ्चालीत रुपन्देहीको तिलोत्तमा नपा–१४ खैरीयास्थित नसिब गार्मेन्ट्स उद्योग अव नयाँ व्यवस्थापन र थप लगानीका साथ सञ्चालन हुने भएको छ । नसिब गार्मेन्ट्समा आयन्स गार्मेन्ट्सको लगानी थपिएर आयन्स गार्मेन्ट्सको व्यवस्थापनबाट सञ्चालन हुने भएको हो ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि अबको आफ्नो व्यवसायिक यात्रा थप परिष्कृत र आधुनिक हुने जनाएको नसिब गार्मेन्ट्सका अध्यक्ष बिष्णुप्रसाद भुषालले दुई दशकदेखिको व्यवसायिक निरन्तरतालाई थप उचाइमा पुर्र्याउदै भविष्यमा बिदेश निर्यात् गर्ने उद्येश्य अनुरुप गुणस्तरीय उत्पादनमा जोड दिइएको बताए ।
‘हाम्रो मुख्य उद्देश्य नै नेपाली उत्पादन कुनै पनि विदेशी ब्रान्ड भन्दा कम छैनन् भन्ने मान्यतालाई स्थापित गर्नु हो’ भुषालले भने, ‘यसकालागि हामीले अत्याधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र रोजगारीमा बृद्धिलाई मुख्य प्राथमिकतामा राखेका छौं ।’ उनका अनुसार हालसम्म ३५ करोड रुपैयाको लगानी रहेकोमा त्यसमा २५ करोड रुपैया लगानी थप बृद्धि गरिएको छ । पुराना समेत गरि २ सय वटा सिलाउने मेसिनलाई आधुनिक प्रविधिमा रुपान्तरण गरिने छ । रोजगारीमा बृद्धि गरि २ सय ५० मा पुर्याइने छ ।

गार्मेन्ट्सलाई आवश्यक पर्ने कच्चा पदार्थ चीन, हगंकगं र भारतको लुधियाना र सुरतबाट आयात गरिने छ । विद्यालय, कलेज तथा विभिन्न संघ–संस्थाका लागि आवश्यक पोशाक, आधुनिक फेन्सी पहिरन र खेलाडीहरूका लागि आवश्यक पाशाक, जर्सी र ज्याकेट, पाइन्ट लगायतका तयारी पोशाकको उत्पादन गर्ने आयन्स गार्मेन्ट्सका निर्देशक रबि खतिवडाले बताए ।
आयन्स गार्मेन्ट्सका अध्यक्ष महेन्द्र महर्जनले भन्सार छलेर अवैध रुपमा आयात हुने तयारी पोसाकले नेपालका गार्मेन्ट्स उद्योगलाई समस्यामा पारेको र भन्सार हुदै बैध रुपमा भित्रिने बिदेशी पोसाकसंग प्रतिस्पर्धा गर्न सकिने बताए । ‘सरकारले अहिले भन्सार नाकाहरुमा गरेको चेकजांचमा कडाइले सकारात्मक प्रभाव पार्ने छ’ महर्जनले भने ।








प्रतिकृया दिनुहोस्