लुम्बिनी सांस्कृतिकद्वारा अतिक्रमित संरचना हटाएर सडक फराकिलो बनाउन सुरु


भैरहवा– बुद्ध जन्मस्थल रहेको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले सडक फराकिलो बनाउन सुरु गरेको छ । नगरक्षेत्रका सडकमा गरिएको अतिक्रमण हटाउन डोजर चलाएको छ । सडक खाली गर्न सार्वजनिक गरेको सूचना अटेर गरेपछि नगरपालिकाले डोजर चलाएको हो ।
सडक क्षेत्र खाली गराउन पटकपटक सूचना प्रकाशित गरेपछि पनि अटेर गरेपछि डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ । चार दिन अघि अन्तिमपटक सडक दायाँबायाँका अतिक्रमित संरचना हटाउन र पेटी खाली गराउन सूचना प्रकाशित गरेको थियो । कार्यवाहक नगर प्रमुख कल्पना हरिजनद्वारा हस्ताक्षरित सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम सामुदायिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले नगरपालिकाका वडा नम्बर १ देखि १३ भित्र रहेका बाटो वा सडक पेटी खाली गराउन भनिएको छ ।
तोकिएको समय सीमा भित्र सडक पेटी खाली नगरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख थियो । कार्यवहाक नगरप्रमुख हरिजनले पटकपटक सूचित गर्दा पनि अटेर गरेकाले डोजर चलाएर संरचना हटाउनु परेको बताइन् । यस्ता संरचनाले बटुवा र सवारी चालक मर्कामा परेको र नगरको सौन्दर्यमा असर गरेको बताइन् । ‘एकातिर नगरपालिका भित्रका सडक अवरोध हटाउनु थियो,’ उनले भनिन्, ‘अर्कोतर्फ नगरपालिका क्षेत्रमा दुर्घटना न्यूनिकरण गर्नु पनि उद्देश्य छ ।’
उनका अनुसार बिहीबार वडा नम्बर २ को केवटलियादेखि अर्दौलीसम्म बाटोमा रहेका संरचना हटाइएको छ । यस क्रममा सडकमा रहेका घर, टहरा र अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । ‘लुम्बिनी सांस्कृतिक नगरपालिकामा विश्वभरबाट पर्यटक आउँछन्,’ उनले भनिन्, ‘त्यसैले नगरलाई सफा र अवरोध मुक्त बनाउन डोजर चलाउनु परेको हो ।’








प्रतिकृया दिनुहोस्