एक युगनायकको जन्म


सन्त्रासका धङधङीका बिच
दमनका बुटहरुले
कुल्चिरहँदा स्वतन्त्रताको छातीमाथि
बेरिएका थिए हरेक मन र मस्तिष्क
निरङ्कुशताका जन्जिरले
निमोठिरहेकै थिए मानवताको घाँटी
गुञ्जिरहेकै थिए छट्पटीका चीत्कारहरु
चुलिइरहेकै थिए शासकिय दम्भको पहाड
क्रान्तिका मसाल बोक्ने हातहरुमा
लगाइएका थिए हतकडी
खुट्टाहरुमा ठोकिएका थिए ठिंगुरा
जहाँ डरले काँध हालेको थियो मान्छेको मुटु
त्यही
त्यस्तो एउटा अध्यारो कालरात्री
जसका बिच
आशा बनेर
भरोसा बनेर
र
बनेर समाजवादको मसिहा
जन्मियौ एउटा सुन्दर फूल सान्दाजु तिमी ।।१।।
त्यो समय
जहाँ सत्यका स्वरहरू निमर्मतापूर्वक दबाइएका थिए
शब्दहरू बन्दीगृहमा थिए
कलमहरू थरथर काँपिरहेका थिए
र थिए
आँखाभरी असरल्ल सपनाहरू
र आक्रोशको ज्वालामुखी
त्यही बखत
उनको छातीमा सल्किएको थियो
अटुट साहसको जुनकीरी
र
परिवर्तनको हुटहुटी ।।२।।
त्यही छातिमा
सल्किएको विद्रोहको उर्जा
जसका कारण
नगरेरै पर्वाह
आफ्नो घर परिवार र जीवन
कुल्चिएर हुकुमी फरमानहरु
उसले
जन्मायो समाजवादको कुशल विचार
जुन विचार
बन्यो जनताको आवाज
बन्यो संघर्षको गीत
बन्यो परिवर्तनको आधार
र उभियो त्यो युगनायक
नयाँ बिहानीको उज्यालो लिएर
जुन उज्यालो प्राप्तिका निम्ति
निष्काम कर्मयोगको मार्गमा
अटुट साधक झैं लागिपरिरह्यो
बनेर बलिदान, साहस र सपनाहरूको लौह स्तम्भ ।।।३।।
जसरी
विद्रोहको चेत भरिएका
ग्रिक मिथक प्रमिथसले
प्रवाह नगरी कठोर यातनाको परिणाम
मानवहितका लागि
ल्याई पुर्याए ओलम्पस बाट आगाका फिलिङ्गाहरु
जसको ताप र प्रकाशले
प्रदिप्त उर्जावान बनाए पृथ्वी
र सल्कायो चेतनाको पहिलो झिल्को
त्यसरी नै
उनले पनि
त्यही अँध्यारोको भित्री गर्भबाट
फुटालेर निकाले एउटा उज्यालोको बीज
जो
आशाको चिसो छातीभित्र
अग्लियो बनेर प्रजातन्त्रको बिरुवा
जुन बिरुवाले चिरा चिरा पार्यो
दमनका भिमकाय ढुंगाजस्ता मौनताहरू ।।४।।
उनले सधैँ
उचालेर एक मुट्ठी देशको माटो
लगाएर छातिमा
अनुभूत गर्दै भोका पेट, र नाङ्गा पाउहरु
गरिब किसान र आहत मनहरुको
आवाज बोल्दथे
बनेर एक बुलन्द सङ्खघोष
उकासे सिमान्तकृतहरूको अधिकार
शोषितहरूको उठ्ने साहस
बागी सपनाहरुको मूर्त आकार
र बनेर समाजवादको नौलो अध्याय
जो
माटो सुहाउँदो छ
मन मिल्दो छ
जसले गर्दछ श्रमको सम्मान
समताको उद्घोष
र
छर्दछ युगिन मखमली बैभब ।।५।।
कतै कहिँ लाग्छ
कोही आफ्नो सबथोक बिर्सिएर देशलाई केन्द्रमा राखोस्
पटक पटक वेपर्वाह जीवनको बलिदानी दिइरहोस्
संघर्षको मैदानमा होमिइरहोस्
र
कथित ब्वाँसाका नायकहरु सँग पौंठेजोरी खेलिरहोस्
लोकहित नै सर्वोपरी ठानोस्
परोपकार पुण्यायः को बाटो हिडिरहोस्
र नगरोस् आफूलाई देवत्वकरण
मथिङ्गलमा एउटै उत्तर दोहोरीरहन्छ
जो सत्य छन् र निर्विकल्प हुन्
सान्दाजु अर्थात विपी
आज पनि विपि बाँचिरहेका छन्
उनका अथाह सृजनामा
उनका दर्शनमा
र
हरेक अनुयायीका मनभित्र
जसले फक्राईरहेछन् समाजवादका सुन्दर फूलहरु ।।६।।
तिलोत्तमा, रूपन्देही








लेखकको सम्वन्धमा