July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

भानुः एक सम्झना

Advertisement

झमझम् पानी परिरहेकै थियो, आषाढको मासमा
धनञ्जय अनि धर्मावती थिए, सन्तानका आशमा
जन्मे रत्न धरामा दीक्षित बने, श्री कृष्णका काखमा
फैलियो सुकृति आदिकवि बनी, बसे मुटु माझमा ।१।

Advertisement

भानु हुन् सकल नेपाली मनमा, झल्किरहेका कवि
भानु हुन् अनन्त त्यो सगरमा, टल्किरहेका रवि
भानु हुन् सरस नेपाली कविता, गाईन्छन् प्रमोदले
भानु हुन् भाषिक सूत्रधार यी, जोडी प्रेम सूत्रले ।२।

भानु हुन् प्रदिप्त रवि किरण यी, लालि मय टाकुरी
भानु हुन् जनक यी काव्य रसका, छर्छन् सदा माधुरी
भानु हुन् वर्तमान भूत भविष्य, काव्यका प्रतिबिम्ब
भानु हुन् एकताका नायक यिनी, छर्छन् भक्ति सुगन्ध ।३।

घाँसीका प्रेरणा सँगाली मनमा, रच्यौ काव्य सुन्दर
सिँगार्न ती मधुर सिल्प रचना, लाग्यौ हे निरन्तर
तिम्रो अगाध स्नेह साहित्यको, फक्रिरहेछन् यहाँ
तिम्रै सृष्टिकल्प रामायण कथा, गाइरहेछन् यहाँ ।४।

भानु हुन् आदर्श चरीत्रका अनि, राम भक्तिका गायक
भानु हुन् उद्दिप्त जागरण अनि, विद्रोहका नायक
भानु हुन् नवयुगका शिखर यी, झल्किन्छन् प्रभातमा
भानु हुन् उज्वल नक्षत्र नभका, साहित्य आकाशमा ।५।

तिलोत्तमा, रूपन्देही