स्यालको सत्तानृत्य


केही झुण्ड
टपरटुइयाँ स्यालहरु
हुँइया मच्याउँदैछन्
कुर्लंदैछन्, उफ्रिंदैछन्
बोकेर कथित नायक ब्वाँसाको अस्थिपन्जर
उत्खनन् गरेर चिहानबाट
र
तत्पर छन्, उत्सुक छन्
गर्नलाई अविरजात्रा र रथारोहण
आफ्ना अधिपति
स्वामी र सर्वस्व ।१।
तिखारेका आफ्ना दाह्रा र नङ्ग्रालाई
छोपेर छोपाएर नकाव र पञ्जाहरुले
गराउँदै देवत्वकरण
सहरका गल्लीहरूमा,
गाउँका चौतारीहरूमा,
डाँडापाखा, जंगलदेखि महलका बार्दलीहरूमा
गुंञ्जाउँदैछ कर्कस जयजयकारको धुन
र
देखाउँदैछन् सत्तामोहको निर्लज्ज नाच ।२।
सुनेको छु
स्यालहरु मृत्यु माग्न सहर पस्छन् रे
अलि बेसी खरानी घस्छन् रे
बाख्राका पिठ्युँ कन्याइदिन्छन् रे
जुम्रा र किर्ना मार्दिए जस्तो गर्छन् रे
र
ओइलाउन लागेपछि घाम
देखिन छाडेपछि परपरका रूखहरु
त्यही बाख्रोको घिँच्रो निमोठेर
मनाउँछन् रे महाउत्सवको उत्सर्ग
रगतको होली ।३।
कमजोर बनाउँदा दैलो
र
नलगाउँदा गजवार
स्यालहरु गाँऊ पस्न सक्छन्
बाख्रा र कुखुराका बथानमा घुस्न सक्छन्
पाडापाडी माथी वितण्डा मच्याउन सक्छन्
त्यसैले
होसियार
सबै मुखियाहरु
अब शास्त्र र शस्त्र लिएर उठ्नुपर्छ
एउटै थलोमा एक भई जुट्नु पर्छ
र
लखेट्नु पर्छ स्यालका बथानलाई
र कटाउँनु पर्छ डाँडो
कुल्चिएर यिनका कथित नवावको टाउको
मिल्काउनु पर्छ मुर्कुटाको बस्तीमा
ता की कोही कसैले
घरी घरी नगाइरहोस् भ्रमको आलाप ।४।
तिलोत्तमा, रूपन्देही








लेखकको सम्वन्धमा