यौनकथाः कामोद्यान


जीउ फुरुङ्ग छ । मन शान्त छ । म एरिकाको नजीकै बसेर फेरि पनि एरिकालाई भन्छु, ‘म तिमीलाई वास्तवमै प्रेम गर्छु एरिका । गर्छुको मतलब तिमीसँग मेरो प्रेम भयो ।’
००००
एक घण्टा अगाडिदेखि मेरो आँखा ऊमाथि परेको थियो । पार्टीमा ऊ फरकफरक टेबलमा पुगेर गफ गरिरहेकी थिई । मानौं ऊ सबैसँग परिचित छे ।
ऊ म बसेको टेबलमा आइपुगी ।
‘गुड इभिनिङ ।’ मुखसँगै उसले हात पनि अगाडि बढाई ।
‘गुड इभिनिङ ।’ मैले पनि हात अगाडि बढाएँ र सोधें, ‘तपाईंको नाम ?’
‘एरिका । एरिका हो मेरो नाम ।’
‘आहा ! कति राम्रो नाम । आमाबुबाले राखिदिएको नाम हो ?’
‘आमा बुबाले राखिदिएको नभएर तपाईंले राखिदिएको हो त ? जसले जन्माउँछ नाम राख्ने अधिकार पनि उसैको हो होइन र ?’ उसैले मलाई नै प्रतिप्रश्न गरी ।
म अलि समालिएँ र भनें, ‘होइन, आजकल शहरमा नीक नाम राख्ने चलन पनि छ नि, त्यही भएर सोधेको ।’ प्रश्न सोधेकोमा सानो पछुतो मान्दै स्पष्टीकरण दिएँ ।
‘मेरो नाम अर्ग्यानिक हो, बाइलर नाममा मलाई विश्वास छैन । तर केटा मान्छेहरू कामको कुरामा भन्दा बढी नाममा किन रुचि राख्छन् ?’ ऊ अलि अनौपचारिक हुन चाही ।
‘कामका कुरा पहिल्याउन नसकेर होला नि ।’ मैले पनि हल्काफुल्का जवाफ दिएँ ।
‘तपाईंको पनि इन्ट्रेस्ट काममा भन्दा नाममा छ हो ?’
‘म काम र नाम दुवैमा विश्वास गर्छु ।’
‘मलाई त नामसँग बाल मतलब छैन । यी हेर्नुस् त तपाईंसँग यति कुरा भैसक्दा मैले तपाईंको नाम सोधेको छु त ? मलाई त मात्र काम अनि दामको मतलब छ ।’ उसले माहौललाई हाँसोमा परिणत गर्न खोजी । उसको कुरामा म हल्का हाँसिदिएँ ।
एरिका त्यो पार्टीमा मसँग झन्डै एक घण्टा गफ गरेर बसी । तर उसले त्यो एक घण्टालाई हामी एक वर्ष अगाडिबाटै चिनजान छौं भने झैं माहौल बनाई ।
छुट्ने वेलामा पनि उसले बडो आत्मीयताका साथ हात हल्लाएर ‘बाइ’ भनी । बाइ मात्र भनिन, ‘सि यु’ समेत भन्न भ्याई ।
००००
एरिकासँग मेरो पहिलो भेट यसरी कुनै ककटेल पार्टीमा भएको थियो । त्यो दिन एरिका निकै झकिझकाउ भएर आएकी थिई । एक किसिमले त्यो पार्टीको केन्द्रबिन्दु ऊ नै थिई जस्तो लाग्थ्यो ।
पार्टीमा उसले सबैसँग घुलमिल गरेको देख्दा लाग्थ्यो, ऊ निकै स्मार्ट छे । पार्टीमा उसले ह्विस्कीको गिलास हातमा लिएकी थिई । मैले बियर गिलास । लेडी ब्रान्ड भनेर चिनिने वाइनसँग जीवनको पूर्वार्द्धमै साक्षात्कार गरेकी थिई कि शायद । हुन त जति कडा ब्रान्ड उति कडा व्यक्तित्व । उसको व्यक्तित्व पनि त ह्विस्कीभन्दा कम कडा थिएन ।
कालो मिनिस्कर्ट, अग्ला हिल जुत्ता, कानमा ठूला रिङ, सेतो नेकलेस, जुरो बाँधेको कपाल, लामो आइब्रो, गाढा रातो लिपिस्टिक, अनि क्याटवाक शैलीको हिंडाइ । चमकदार व्यक्तित्व । पार्टीबाट घर फर्केर बेडमा पल्टिँदा पनि एरिका मेरो मनमस्तिष्कबाट हटेकी थिइन । रक्सीले भन्दा बढी एरिकाको हाउभाउले मेरो मथिङ्गल घुमाउँदै थियो ।
उसको प्रतिविम्ब सोच्दासोच्दै कुन वेला निदाएँ । पत्तै भएन ।
००००
बिहान उठ्दा रक्सीले छोडे पनि एरिकाको प्रतिबिम्बले मलाई अझै छोडेको थिएन
उसले हिजो बोलेका शब्द मेरा कानमा झनननन…. बजेको मात्र होइन, आँखामा झलझली उसैको तस्वीर आइरहेको थियो । मस्तिष्क एरिकामा केन्द्रित थियो । मानौँ एरिका अहिले पनि मेरै अगाडि छे ।
उसले धेरै कुरा गरे पनि अलि कठोर जस्तो गरी बोलेको ‘केटा मान्छेहरू कामको कुरामा भन्दा बढी नाममा किन रुचि राख्छन् ?’ भन्ने वाक्यले मेरो मनमस्तिष्कमा प्रहार गरेको थियो ।
होइन, होइन, प्रहार होइन । त्यो वाक्यले मलाई प्रभावित पारेको थियो भनूँ । लोग्ने मान्छेको अगाडि शिर ठाडो पारेर बोल्ने यही शैलीले त उसले छोटो भेटमै मेरो मनमस्तिष्कलाई तिरिमिरी पारेकी थिई नि ।
बेडबाट उठेँ । अफिस पनि त जानु थियो । फ्रेश भएँ । तर ध्यान अफिसले भन्दा बढी एरिकाले नै तानेकी थिई ।
फेसबूकमा नाम सर्च गरें । फेसबूकमा भएका थुप्रै एरिकाहरू मध्ये हिजो बेलुका पार्टीमा भेटिएकी एरिकाको प्रोफाइल खोलें । उसका तस्वीरहरू हेरें । तस्वीरले प्रष्ट पारिरहेको थियो । राजनीति, समाजसेवा, पारिवारिक व्यवहार सबैतिर ऊ पर्फेक्ट छे । डाँडाँकाँडा चढेका तस्वीरले हाइकिङमा पनि रुचि छ भन्ने बुझिन्थ्यो ।
प्रोफाइलको फ्रेन्ड रिक्वेस्टमा क्लिक गरें । अनि उसका अरू थप केही विवरणहरू हेरें । अफिस पुगेर म अनलाइन हुँदा उसले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिसकेकी रहिछे ।
‘हाइ !’
जस्तालाई त्यस्तै नै उत्तर आयो । ‘हाइ’ ।
‘चिन्नु भो नि ?’
‘जरूर । कसरी बिर्सन सक्छु ?’
‘नयाँ सुनाउनुस् । के छ ?’
‘सबै उस्तै । पुरानै हो ।’ उसले भनी
‘तपाईं कहाँ बस्नुहुन्छ रे ?’
‘सानेपा ।’
‘अनि तपाईं नि ?’
‘म बानेश्वर बस्छु ।’ मैले पनि छोटोछोटै उत्तर दिएँ ।
००००
केही दिन बिते । केही हप्ता बिते । केही महीना बिते । तर एरिकाको छाप मेरो दिमागबाट हटेन । बरु मेरा पदचाप दिनप्रतिदिन उसैका पछिपछि लागे ।
कुराकानी बढ्दै गयो । भेटघाट बढ्दै गयो । ऊ र म बीचको दूरी भने घट्दै गयो । भेटघाट बढ्नु र दूरी घट्नु बीच डिमान्ड र आपूर्ति बीचको जस्तो सम्बन्ध हुन्छ कि ?
शुरूमा प्रत्यक्ष भेटघाटबाट परिचय भए तापनि एरिकासँग नजीक बन्ने माध्यम भने सामाजिक सञ्जाल बन्यो ।
हामी झनझन नजिकिंदै थियौं । एक अर्काको विषयमा खोजीको गहिराइमा पनि पस्दै थियौं ।
ऊ डिभोर्स रहिछे । एक सन्तानकी आमा । शुरूका दिनमा उसले आफ्नो बारेमा खुल्न नचाहे पनि पछिल्ला दिनमा उसले आफ्नो वैवाहिक स्थिति बताई ।
त्यसो त म पनि त डिभोर्स नै थिएँ । दुई सन्तानको बाबु । हिसाबकिताब बराबर, खाली सन्तानको सङ्ख्या मात्र थोरै फरक ।
उसको र मेरो भेट बाक्लियो । आज, भोलि, पर्सि । हुँदाहुँदा दिनमा एकदुई पटक अर्कामा हाइहल्लो नगरी न्यास्रो लाग्ने भैसेको थियो । कुराहरू औपचारिकभन्दा अनौपचारिक बढी हुन थालिसकेका थिए । एक अर्कालाई प्रयोग गर्ने आदरार्थी पनि तपाईंबाट तिमीमा ओर्लिसकेको थियो । मानौं सम्बन्धहरू र सम्बोधनहरू औपचारिकभन्दा अनौपचारिक नै न्याना हुन्छन् ।
प्रकृतिको नियम नै हो, चुम्बकका विपरीत ध्रुवहरू आकर्षित हुन्छन् । ऊ मसँग नजीक, म ऊसगँ नजीक । बिना अवरोध नजीक ।
मलाई ऊसँग दिनप्रपति आत्मीयता बढेको महसूस हुँदै थियो । जीवनको उत्तरार्द्धमै किन नहोस् ऊसँग भेट्न पाएकोमा म मेरो जीवनको अपूर्ण हिस्सा पूर्ण भए झैँ अनुभूत गर्दै थिएँ ।
शुरूमा उसको जीउडाल, हाउभाउ र शैलीमा प्रभावित भए पनि बिस्तारै ऊसँग आत्मिक रूपमा प्रभावित हुन थालेको थिएँ ।
आत्मिक निकटतालाई प्रेम भनिन्छ भने शायद म त्यही यात्रामा पो थिएँ कि ?
००००
लगातार फेसबूक र ह्वाट्सएपमा गफहरू चल्दै थिए । आज भेट्ने प्रस्ताव मैले नै अगाडि गरें ।
‘अपराह्नतिर भेटौं न ।’
‘एस । ह्वाइ नट ?’ उसले आफ्नै शैलीमा भनी ।
‘कति बजे ?’
‘तपाईं जुन वेला भन्नुहुन्छ ।’
‘बेलुकी पाँच बजे ।’
आजको हाम्रो भेटघाट स्पट थियो ठमेलको हिमालयन जाभा ।
म पुग्दा ऊ पहिल्यै पुगिसकेकी थिई । र सधैं झैं मलाई स्मार्ट लाग्ने ड्रेसमा थिई, स्मार्ट भएर हिंड्नु उसको शौख हो शायद ।
ऊ कहिलेकाहीं मलाई भन्थी, ‘तिमी अलि रफ भएर हिंड्छौ यार । अलि स्मार्ट भएर हिंड न ।’
‘लुगाले मान्छे स्मार्ट हुने हो र ?’ म आफ्नै तर्क गर्थें ।
‘त्यसो भए नाङ्गै हिंड न त ।’ ऊ हँसाउँदै कुराको बिट मार्थी ।
जे होस् हरेक पटकको फरक फरक गेटअपमा उसलाई देखेर म मन्त्रमुग्ध हुन्थें । जसरी आज पनि भैरहेको थिएँ ।
उसलाई हेरिरहने मेरो भोक झनझन जागेको थियो ।
‘के ट्वाल्ल हेरेको, कहिल्यै मान्छे नदेखे जस्तो ? भन के खान्छौ ?’ उसले मेरो नाक तान्दै भनी ।
‘मेरो खासै च्वाइस छैन, तिमी जे भन्छौ ।’
‘दुई वटा अमेरिकानो कफी र एउटा चिकेन मःम ।’ उसैले अर्डर गरी । ‘मःम चाहिं शेयर गर्ने है ।’ उसैले प्रस्ताव राखी ।
‘हुन्छ ।’ मैले सहमति जनाएँ ।
वेटर अर्डर लिएर गएपछि मैले कुरा शुरू गरेँ । ‘तिमी मलाई मन पर्न थालेको छ एरिका ।’
‘अरे यार, यो पनि भनिरहनुपर्ने कुरा हो र ? हामी एक अर्काबाट प्रभावित भएर त एक अर्कालाई पटक पटक भेटिरहेका छौं नि । मन नपरेको मान्छेसँग किन भेट्छ मान्छेले यो व्यस्त दुनियाँमा ?’
‘मेरो मतलब तिमीप्रति मेरो प्रेमिल अनुराग छ । म तिमीलाई प्रेम गर्न थालेको छु ।’
‘प्रेम ! हाहाहाहा…..’ ऊ गलल्ल हाँसी । र भनी– ‘यो प्रेमस्रेमका कुरा नगर । प्रेम त कमजोर मुटु भएकाहरूले गर्ने हो । कोटा मान्छे भएर कामका कुरा गर प्रेमका होइन ।’
म झसङ्ग भएँ । प्रेम कहाँबाट अङ्कुरित हुन्छ, मलाई थाहा छैन । उसको भनाइले त्यही थाहा नभएको ठाउँमा थाहा पाउने गरी चसक्क दुख्यो ।
‘तिमी प्रेमलाई कसरी बुझ्छौ ?’ दुखेको अनुहार बोकेर मैले अलि झिनो स्वरमा सोधें ।
‘प्रेम भन्ने कुरा संसारको सबैभन्दा वाहियात कुरा हो । जहाँ भ्रम सिवाय केही हुँदैन ।’ उसले तर्क गरी ।
‘किन ?’
‘प्रेममा मानिसका सपनाहरू शहीद हुन्छन् । जब सपना शहीद हुन्छन्, तब मान्छेलाई सबैभन्दा बढी दुख्छ । सपनाहरू शहीद हुने त्यस्तो प्रेम नगर्नु नै राम्रो हो । आफ्ना सपनाहरूलाई शहीद बनाएर त्यही शहीद को मलामी जानु छैन मलाई ।’
‘के लैला मज्नु, मुनामदन रोमियो जुलियटका प्रेम कथाहरू वाहियात थिए ?
‘हो ती सब वाइवात भ्रम थिए । वाहियात मात्र थिएनन्, जीवनका दुःख थिए । ती आदर्श भनिएका प्रेमीप्रेमिकाले सुखानुभूति गर्न पाएनन् । ती प्रेमहरू सब शहीद भए । मलाई सोध्छौ भने वास्तवमा ती प्रेम थिएनन् । ती लहडी लेखकका दिमागमा उब्जेका काल्पनिक कहानी थिए ।’
‘यसको मतलब तिम्रो विचारमा संसारमा प्रेम भन्ने कुरा हुँदैन ?’
‘हो, प्रेम हुँदैन । तर भएको भ्रम छरिन्छ । त्यसैले म भन्छु प्रेम संसारको सबैभन्दा ठूलो भ्रम हो ।’
‘त्यस्तो होइन, प्रेम संसारको एक मात्र सत्य हो ।’ मैले आफ्नो तर्क गरें ।
ऊ र म बीच प्रेमका बारेमा तर्क भए, वितर्क भए । तर न ऊ मेरो तर्कमा सहमत, न ऊ मेरो तर्कमा सहमत ।
तर आपसी तर्कवितर्कले हामी बीच दुरी बढेको थिएन । बरु झन् नजीक भएको थियो । एक अर्काको दृष्टिकोणलाई नजीकबाट चिन्ने मौका पनि ।
कफी सकियो, मःम पनि सकियो, टेबल रित्तियो । तर कुरा सकिएन, मन रित्तिएन । रात छिप्पिइसकेको थियो । मैले उसलाई घरसम्म लिफ्ट दिएँ ।
००००
शनिवार बिहान पशुपति मन्दिर दर्शन गर्न पुगेको थिएँ । फोनमा घण्टी बज्यो । स्क्रीनमा हेरें । एरिका ।
‘हेल्लो ! कता छौ मिस्टर ह्याण्डसम ?’
‘म पशुपति मन्दिरमा दर्शन गर्न आएको छु ।’
‘पशुपतिमा शिवको मात्र दर्शन गर्छौ कि, माथि मन्दिरका टुँडालतिर पनि आँखा घुमाउँछौ ?’
‘हाहाहाहा …..।’ म हाँसे मात्र ।
‘मन्दिरभित्र शिवलिङ्गको दर्शन चाहिं म पछि आएर गरुँला । तिमी चाहिं आज टुँडालका आसनहरूमा राम्ररी ध्यान देऊ ।’ उसले थप जिस्किने मूडमा भनी ।
‘आऊ न त आऊ अहिले नै यतै ।’ मैले पनि उसको रोमान्टिक मूडमा अलिकति घिउ थपिदिएँ ।
‘भो अहिले त म आउँदिन । बरु तिमी यता आऊ ।’
मैले असमर्थता जनाएँ । कारण दशै बजे एउटा बैठकमा भाग लिनु थियो ।
‘ल त ल नआऊ ।’ उसले अलि ठुस्स परे झैं गरेर भनी ।
मैले थप केही भन्न पाएको थिएन, उसैले थपी, ‘बेलुका एउटा गेट टुगेदर थियो । अलि बढी नै पिएछु । ह्यागओभर भको छ । अझै दुई घण्टा सुत्छु । तिमी तिम्रै मिटिङतिर रमाऊ । म चाहिं सुतें । गुड नाइट ।’
बिहानको नौ बजे ‘गुडनाइट’को झटारो भेटेको मूडमा सोचें, ‘प्यास लाग्दा प्यासीको महत्त्व बुझ्न सकेन भने धारोको के काम ?’
००००
‘ओ मिस्टर ह्याण्डसम ! मलाई बिर्स्यौ कि क्या हो ? मैले फोन नगरेसम्म त बाल छैन त ।’ आज पनि बिहानै उसको फोन आयो ।
बिर्सन त म उसलाई कहाँ सक्थें र । ऊ मेरो मनमा बसिसकेकी थिई ।
‘म तिमीलाई कसरी बिर्सन सक्छु एरिका । कसरी सोच्यौ तिमीले यस्ता कुरा ?’
‘ल आऊ त्यसो भा आज मेरो घरमा । म एक्लै छु ।’
‘बिदाको दिन थियो । सहजै स्वीकार गरेँ ।’
म उसको घरमा पुग्दा ऊ बाथरूममा पसेकी थिई, फ्रेश हुन ।
सोफामा बसेँ । टिटेलबमा कामसूत्रको किताब थियो ।
कामसूत्र भनेको यौन कलाको वर्णन भएको वात्स्यायानरचित यौनशास्त्र हो भन्ने सतही ज्ञान मलाई थियो । तर मैले गहिरिएर अध्ययन गरेको थिइनँ । सोफामा बसेर केही पाना पल्टाउँदै थिएँ । ऊ बाथरूमबाट निस्की ।
फिजेको कपाल र अर्धनग्न शरीरमा थिई ऊ । अर्द्ध0नग्न मात्र होइन अर्द्धकामूक मूडमा देखिन्थी ।
‘द्याट्स गुड मिस्टर ह्याण्डसम । बल्ल तिम्रो सही ठाउँमा ध्यान पुग्यो । पढेका छौ नि कामसूत्र ? यहाँ यौन जिज्ञासाका धेरै समाधान छन् ।’
‘छैन ।’ मैले भनें ।
‘धत् ! तिमी पनि बुद्धु नै रहेछौ । ल सुन । यौन जीवनलाई कसरी रोमाञ्चक र आनन्ददायी बनाउने, यौन विकार र कुण्ठाबाट कसरी माथि उठ्ने, यौनमा चरम आनन्द कसरी प्राप्त गर्ने भन्ने यौनकलाको पुस्तक हो कामसूत्र । जसलाई यौनग्रन्थ, यौनसंहिता, यौनपुराण, यौनगीता तिमी जे भनेर पनि बुझ्न सक्छौ । आजभन्दा झन्डै तीन हजार वर्षपूर्व त्यो पनि पूर्वीय सभ्यतामा यस्तो ग्रन्थ लेखिनु भनेको मान्छेको जीवनमा यौनको कति महत्त्व थियो भनेर प्रष्टिन्छ ।’ सोफामा बस्दै उसले भनी ।
भिजेको कपाल पछाडि लग्न टाउको घुमाई । उसको कपालले फालेका पानीका बाछिटाहरू मेरो शरीरभरि परे ।
‘त्यस वेला प्रेम ग्रन्थहरू पनि लेखिएका थिए नि होइन र एरिका ?’
‘ह्या ! तिमी पनि फेरि उही प्रेम, प्रेम, प्रेम । तिम्रा प्रेमका भाषण नसुनाऊ मलाई । ती सब आदर्शका पोका हुन् । बरु आसनका कुरा गर, जो मानव जीवनमा व्यावहारिक छन् । आखिर प्रेमका जतिसुकै बखान छाँटे पनि जति आदर्शका कुरा गरे पनि प्रेमको अन्तिम लक्ष्य पनि यौन नै हो । पुग्ने लक्ष्य एउटै हो भने प्रेम नामको घुमाउरो बाटो किन लाग्छौ यार । यौन आसन नामको सजिलो बाटो समात न । ठूला ठूला यौन आदर्शका पाना पल्टाउनुभन्दा यौन क्रियाअगाडि, यौन क्रियाका क्रममा र यौन क्रीडापछिका कार्यका बारेमा ध्यान देऊ । तिमी जस्तो ह्याण्डसम मान्छेले यौन क्रिया, आलिङ्गन, चुम्बन, स्पर्शका कलाहरू सिक्ने हो । जसले यौन सुखानुभूति दिन्छ । त्यो प्रेमको दार्शनिक भएर आफूलाई कमजोर बनाउने होइन ।’
‘संसारमा सबै प्रश्नको उत्तर प्रेम हो, प्रेमभन्दा अर्को समाधान संसारमा छैन । इतिहास साक्षी छ, प्रेम कहिल्यै मरेन र भविष्यमा पनि मर्दैन । यो पनि जान एरिका ।’
‘तर फ्रायडका अनुसार सबै प्रश्नको उत्तर यौन हो । तिमी यो पनि जानिराख मिस्टर ह्याण्डसम । प्रेमभन्दा यौन जेठो हो र यो दीर्घजीवी छ ।’
यति भन्दै गर्दा ऊ सोफामा झनै मेरो छेउमै आएर टाँसिई ।
हो, यौन पनि मानव जीवनको अभिन्न अङ्ग हो, तर यौन आध्यात्मिक हुनुपर्छ । ओशोको आध्यात्मिक यौन र वात्स्यायानको भौतिक यौन बीचको फरक तिमीले बुझेकी छौ ?’ मैले ओशोको सेक्स से समाधितकतिर उसलाई मोड्न खोजेँ । अर्थात् यौनमा प्रेमको घुलन गर्न चाहें ।
‘मलाई यो ध्यान, समाधि, योगा भन्ने पनि सबै फत्तुर कुरा लाग्छन् । यौन सम्पर्कमा दुवैको सन्तुष्टिमा म विश्वास गर्छु । सब चिन्ता भुलेर यौन सम्पर्क गर्नुपर्छ, त्यही हो जीवनको चरम आनन्द । त्यही हो यौन समाधि ।
म यौनको विरोधी होइन, तर प्रेम र एकीभावद्वारा गरिएको यौन सम्पर्कले मात्र चरम सन्तुष्टि मिल्छ भन्ने मेरो दृष्टि हो । बिना प्रेमका यौन सम्बन्धहरू कति जायज हुन् ? प्रेम विनाको यौन सम्पर्क त पशुले मात्र गर्छ होइन र ?
‘यौनमा मान्छेभन्दा पशु धेरै अनुशासित हुन्छन् । तिनीहरू यौनमा स्वच्छन्द छन्, तर मान्छे जस्तो ढोँगी छैनन् । त्यसैले यौनका सवालमा पशुलाई मान्छेसँग तुलना गरेर तिमी पशुको अपमान नगर । बरु एउटा कुराको उत्तर देऊ । तिमी भातसँग प्रेम भएर भात खान्छौ कि ? पेटको भोक मार्न भात खान्छौ ?’
‘आवश्यक भोक मार्न ।’
‘त्यसो भए बुझ । यौन पनि भोक हो, भोक मार्न यौन सबलता चाहिन्छ, जसरी भोको पेटलाई धित मारेर भर्न मीठो भात चाहिन्छ । परिपूर्तिको महत्त्व त्यतिवेला हुन्छ जब आवश्यकताले महत्त्व देख्छ । शरीरको यौन दुर्बलता भएकाहरू, जो आवश्यकताको महत्त्व बुझ्दैनन् तिनीहरू आफ्नो कमजोरी लुकाउन प्रेमको अस्त्र प्रयोग गर्छन् । मेरो विचारमा प्रेम मानिसको जीवनमा ज्यादै कमजोर अस्त्र हो । यसले मानिसलाई कहिल्यै बलियो बनाउँदैन । सधैँ कमजोर बनाउँछ ।’ ऊ जबर्जस्त तर्क गर्छे ।
‘तर यौनमा शरीरसँग आत्मा पनि हुनुपर्दछ भन्ने म मान्दछु ।’ मेरो तर्कले पनि हारेको छैन ।
‘तर म आत्मा छ भन्ने कुरामै विश्वास गर्दिन । हेर बुद्धु ! मान्छेहरू भन्ने गर्छन्– प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । तर यसमा समयसापेक्ष अलिकति करेक्सन आवश्यक छ । यौन र युद्धमा चाहिँ सबै कुरा जायज हुन्छ । यौन पनि एक प्रकारको युद्ध नै हो । युद्ध गर युद्ध । अनि मिस्टर ह्याण्डसम तिमीलाई प्रेम नै चाहिएको हो भने भौतिक देह एउटै हुनु पनि प्रेम बुझ । के जो पायो त्यही मान्छेसँग भौतिक शरीर एकाकार हुन्छ र ?’
उसको कुरामा आंशिक सत्यता पाउँछु म ।
ऊ यौन पुराणवाचिक झैं थप्दै गई, ‘जसरी प्रेम छ भने यौन छ कि छैन भन्ने प्रश्न वाहियात हो, त्यसैगरी यौनमा प्रेम भएन, छैन कि भन्ने प्रश्न पनि त्यत्ति नै वाहियात हो । तिम्रो प्रश्न नै गलत ठान्छु म । गीता पढेका छैनौ ? गीतामा कृष्णले अर्जुनलाई आफ्नो अगाडि जे कर्म आउँछ त्यो गर्नुपर्छ भनेका छन् । त्यसको कारण र परिणामतिर किन घोत्लिन्छौ ? कर्म गर कर्म ।’
उसको शरीरबाट निस्केका यौनका बाछिटाले म भिज्दै थिएँ । समुद्रमै डुबाई भने मेरो हालत के होला ?
मनमा प्रश्नहरू आउँदै थिए । उसको क्रियाकलापले प्रेममा यौन कि यौनमा प्रेम भन्ने कुराको ममा मनोद्वन्द्व चर्किँदै थियो ।
ऊ कामातुरी थिई, म प्रेमातुर थिएँ । तर प्रेमातुरलाई कामातुरीले जित्दै थिई । जित्दै थिई । जित्दै थिई ।
यतिवेला उसको शरीरमा आगो बलेको थियो । ऊ चाहन्थी– उसको शरीरको आगो मैले निभाइदियोस् । कत्ति पनि ढिला नगरी ।
आगो निभाउन पानी चाहिन्छ । तर होइन, आइरन कट आइरन भने झैं उसको शरीरमा दन्केको आगो निभाउन आगो नै चाहिन्छ । मेरो शरीरमा पनि बिस्तारै आगो लागिसकेको थियो । दुवै आगोका लप्काहरू एकै ठाउँमा लपेटिए । झन् ठूलो दन्कियो, दन्कियो, दन्कियो । …..र आधा घण्टामा निभ्यो । ऊ शान्त भई । शान्त त म पनि भएँ ।
जीउ फुरुङ्ग छ । मन शान्त छ । म एरिकाको नजीकै बसेर फेरि पनि एरिकालाई भन्छु, ‘म तिमीलाई वास्तवमै प्रेम गर्छु एरिका । गर्छुको मतलब तिमीसँग मेरो प्रेम भयो ।’
‘त्यो मलाई थाहा छ, यो कुरा मलाई तिमीले पहिले पनि भनेकै हौ नि, यसमा नौलो नै के छ र ?’
‘तर तिमी … ?’
‘तर म तिमीलाई प्रेम गर्दिनँ ।’
‘किन ?’
‘जुन दिन तिमी मसँग आकर्षित भएका थियौ पहिलो दिन, के त्यसवेला तिमी र म बीच प्रेम थियो ?’
‘थिएन ।’
‘त्यसो भए किन तिमी मप्रति आकर्षित भयौ ?’
‘शायद त्यसवेला तिमीप्रति विपरीत लिङ्गीय आकर्षण थियो कि ।’
‘जुन कारणबाट हामी एक अर्कामा आकर्षित भयौं, त्यही कारण नै हाम्रो सम्बन्धका लागि पर्याप्त छ ?’
‘के हामी त्यसो भए एक अर्काको यौन सन्तुष्टिका साधन मात्र हौँ ?’
‘तिमी जे सोच ।’
‘ल एकछिनको लागि हामी साधन नै सही रे, तर साध्य त प्रेम हो नि होइन र ?’
‘प्रेम… ! त्यो सब वाहियात हो । किन थाहा छ ? प्रेममा घृणा हुन्छ, यौनमा घृणा हुन्न । थाहा पायौ नि कति मीठो थियो अघिको त्यो क्षण ।’
‘…अब धेरै प्रेमदर्शन नछाँट मिस्टर ह्याण्डसम । अहिले तिमी यहाँबाट जान सक्छौ । तर सधैँलाई जाने होइन नि । फेरि अर्को दिन आउने गरी ।’ -sahityapost








प्रतिकृया दिनुहोस्