April 18, 2025, Friday
२०८२ बैशाख ५

शिकार छाडेर संरक्षणमा सक्रिय

तेलपानी (सुर्खेत)– एक समय वन्यजन्तु शिकार गरेर जीविकोपार्जन गर्दै आएका बर्दिया र सुर्खेतको सीमानास्थित चुरे क्षेत्रका बासिन्दाको दैनिकी अहिले फेरिएको छ । उनीहरु अहिले वैकल्पिक आयआर्जनका गतिविधिसँगै वन्यजन्तु संरक्षणमा क्रियाशील छन् । विकट भूगोल भएकाले आधारभूत आवश्यकता समेत उपलब्ध नरहेको सुर्खेतको वराहताल गाउँपालिकाका बासिन्दाले अभाव सहेर पनि वन्यजन्तु संरक्षणमा क्रियाशील छन् ।

यसरी संरक्षणमा अग्रसर मध्येका एक हुन सुर्खेतको वराहाताल गाउँपालिका–३, राजकाँडाका रणबहादुर बुढा । डेढ दशक अघिसम्म वन्यजन्तुको खोजीमा निकुञ्ज भित्र बरालिने उनलाई यतिबेला खेतीपाती र बस्तुभाउ स्याहार्न भ्याइ–नभ्याई छ । उनको बारीमा हरियाली छाएको छ । थरीथरी फलफूल र तरकारी मौलाएका छन् । घरबारी बर्दिया निकुञ्जसित गाँसिएको छ । बारीमा गहुँ र चना उम्रिएका छन् । त्यसभन्दा तल्तिर अदुवा खेती छ । त्यही टिमुर, आँप र कागतीका बिरुवा हुर्किरहेका छन् ।

Advertisement

घरभन्दा पश्चिम रहेको खोरमा २८ बाख्रा छन् । एउटा भैसी भर्खरै ब्याएको छ । गोठमा एक हल गोरु बाँधेका छन् । रणबहादुर र पत्नी धनसरा बिहान उठेदेखि रातिसम्म खेती र बस्तुभाउको स्याहारमै बिताउँछन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्णालीको चिसापानी पुल छेउबाट उक्लिएर गाइनेकाँडा हुँदैं बेलाबेला पाहुना आइरहन्छन् । त्यस्ता पाहुनाका लागि घरभन्दा पूर्वपट्टि दुई कोठाको होमस्टे निर्माण गरेका छन् । त्यहाँ चारजना पाहुना अट्ने क्षमता छ । पाहुना आउँदा खेतीपाती र बस्तुभाउ स्याहर्ने समय छोट्याएर स्वागत–सत्कार गर्ने गरेको रणबहादुरले बताए ।

कैलालीको लम्कीमा बसेर पढीरहेका जेठा छोरा डम्बर घर आएका बेला आमा–बुवालाई काममा सघाउँछन् । २०५६ सालमा डम्बर जन्मिएकै वर्षबाट रणबहादुरले वन्यजन्तु शिकार गर्न थालेको सुनाए । त्यतिबेला गाउँघरमा आयआर्जनका अन्य उपाय थिएनन् । परम्परागत खेतीपातीले खानै पुग्थेन । ‘कि भारत गएर मजदुरी गर्नुपथ्र्यो,’ रणबहादुरले भने, ‘हैन भने शिकार गरेर जनावरको सुकुटी बनाएर बेचेर गुजारा गथ्र्यौ ।’ त्यतिबेला उनको घरमा भरुवा बन्दुक थियो । आफ्ना बुवाले बन्दुक खरिद गरेको उनले बताए । आफूले बाबुबाट शिकार गर्ने कला सिकेको उनी सुनाउँछन् । आफूले ६–७ वर्ष शिकार खेलेको उनले बताए । उनका अनुसार त्यतिबेला वन्यजन्तु संरक्षण गर्नुपर्छ चेतना थिएन ।

संरक्षणको कुरा गर्ने व्यक्ति देख्यो कि आक्रमण गरौं जस्तो लाग्ने उनी बताउँछन् । ‘यहाँका अधिकांशको काम शिकार गर्ने नै थियो,’ उनले भने, ‘जंगलमा जनावर मार्ने, सुकुटी तयार गरेर ल्याउने र दलाललाई बेच्ने गरिन्थ्यो ।’ धेरैले शिकार गरेरै परिवारको लालनपालन गरिरहेका थिए । त्यतिबेला स्थानीय बँदेल, रतुवा, जरायोको शिकार गर्ने निकुञ्जको भित्री क्षेत्र (दमार) मै पुग्ने गरेको उनले बताए । त्यसरी शिकार गर्न जानेहरु कोही पक्राउ पर्थे । केही जंगलमै सुकुटी बनाएर बोरामा ल्याएर आउँथे । स्थानीय तयार गरेको सुकुटी खरिद गर्न जिल्लाबाट बाहिरबाट मानिस आउँथे ।

बर्दिया निकुञ्ज मुख्यालयबाट टाढा र सुरक्षा पोष्ट नभएकाले रोकतोक गर्ने कोही हुन्थेन । मुलुकमा सशस्त्र द्वन्द्वका बेला चुरे क्षेत्रमा चोरी शिकारले मौलाउने अवसर पाएको स्थानीय बासिन्दाले बताए । चुरेक्षेत्रका बस्ती बर्दिया र सुर्खेतको पानीढलोमा छन् । दक्षिणपट्टि निकुञ्ज छ । उत्तरतर्फ बस्ती छन् । चुरेको चुली नै बस्ती र जंगल छुट्याउने सिमाना हो । वन्यजन्तु हानी नियन्त्रण गर्न र उत्तरी क्षेत्रका बासिन्दालाई संरक्षणमा क्रियाशील गराउन २०६७ पुष १ गते निकुञ्ज प्रभावित सुर्खेतका बस्ती समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरियो । त्यसपछि यहाँका युवालाई समूह मार्फत एकजुट गराएर संरक्षण शिक्षा प्रदान गर्न थालियो । उत्तरी क्षेत्रमा मध्यवर्ती सामुदायिक वन गठन गरियो । चारवटा उपभोक्ता समिति बनाइयो ।

गाउँमा संरक्षण क्रियाकलाप सुरु भएपछि रणबहादुर चोरी शिकारमा संलग्न आरोपमा पक्राउ परे । उनलाई निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगियो । त्यसबेला उनकी बहिनी चन्द्रा तरङगा–सिद्धचुली मध्यवर्ती उपभोक्ता समितिकी कोषाध्यक्ष थिइन् । ‘म माथि आरोप मात्र थियो, प्रमाणसहित पक्राउ परेको थिएन,’ रणबहादुरले भने, ‘त्यसैले समितिले जिम्मेवारी लिएपछि १० हजार धरौटी बुझाएर छुटे ।’ त्यसपछि शिकार गरेको पाइएमा समितिले जिम्मेवारी नलिने भयो । त्यतिबेला रणबहादुर वन्यजन्तु शिकार गर्थे । भने बहिनी चन्द्रा संरक्षणमा लागेकी थिइन् । पक्राउ परेको घटनापछि रणबहादुरले आफूलाई परिवर्तन गर्ने सोच बनाए । त्यसपछि आफैले बन्दुक बहिनीलाई बुझाएर संरक्षणमा सक्रिय हुने प्रतिवद्धता जनाए ।

‘त्यसभन्दा अगाडि मासु खान मन लाग्दा शिकार खेल्न जान्थे,’ उनले भने, ‘अहिले वन्यजन्तु मार्नु आमाको मासु खानु जस्तो लाग्छ ।’ बन्दुक बुझाएकै दिनबाट आफ्नै खुट्टामा उभिएर देखाउने कसम खाएको उनले बताए । बन्दुक बुझाएपछि शिकारमा आश्रित स्थानीय बासिन्दा रणबहादुरसित रिसाए । त्यस्ता व्यक्तिले रणबहादुरलाई ‘मार्छु’ समेत भने । वन्यजन्तु संरक्षण गर्दा मिल्ने लाभ र मारेपछि हुने कानुनी कारबाहीबारे बुझाएपछि स्थानीय हतियार बुझाउन तयार भएको उनले बताए ।

बन्दुक बुझाएपछि आसपासका गाउँबाट समेत शिकार छाडेर संरक्षणमा सक्रिय हुने बढ्दैं गए । रणबहादुरका अनुसार गाइनेकाँडा, राजकाँडा, बुङगाड, सिद्धगैरा र गुराँसेबाट ११ थान बन्दुक स्व–स्फुर्त बुझाइएको थियो । अहिले यहाँ कोही पनि शिकारमा संलग्न नरहेको रणबहादुरले बताए । ‘परिवारले नै संरक्षणमा सघाइरहेका छन्,’ उनले भने, ‘गाउँले नै चोरी शिकार रोक्न सक्रिय छन, काठ काट्न दिँदैनन् ।’ काठ आवश्यक परेका बेला अनुमति लिनुपर्ने नियम छ । आफैले कानुनी प्रावधानबारे जानकारी गराउँछन् । संरक्षणका लागि जनचेतना फैलाउन सक्रिय छन् ।

वराहाताल–१, तेलपानी गाउँ निकुञ्जको ढिकमा छ । यहाँका बासिन्दा खेतीपातीमा निर्भर छन् । उब्जनीले बाह्रैमास धान्दैन । त्यसैले ८० हाराहारी घर रहेको बस्तीका अधिकांश बासिन्दा मजदुरीका लागि भारतका विभिन्न सहर आउजाउ गर्छन् । ‘अन्नबाली आधा भित्र्याउँछौं,’ स्थानीय दलबहादुर वलीले भने, ‘आधा वन्यजन्तुले खान्छन् ।’ निकुञ्जले वन्यजन्तुले बाली नोक्सान पुर्याए वापत राहत मिल्छ । यहाँका बासिन्दाका लागि राहत लिन सहज छैन । राहतका लागि सिफारिस बनाउन वडा कार्यालय पुग्न एक दिन लाग्छ । कृषि र भेटनरी कार्यालय त्यति नै दूरीमा छन् । निकुञ्जको मुख्य कार्यालय आउजाउ गर्न बास वस्नु पर्छ । ‘चार हजार राहत लिन आठ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘पक्रियामै धेरै खर्च हुने भएपछि राहत लिन कोही जाँदैनन् ।’ स्थानीयका अनुसार पहिले चुरे क्षेत्रमा बन्दुक पड्क्यो कि तेलपानीका बासिन्दालाई शंका गरिन्थ्यो ।

वराहाताल–१, स्थित हरिहरपुर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत चोरी शिकार नियन्त्रण युवा परिचालन उपसमिति अध्यक्ष डम्बरबहादुर बडुवालले मध्यवर्ती क्षेत्र घोषणा पूर्व चोरी शिकारका घटना धेरै हुने गरेको बताए । मध्यवर्ती क्षेत्र घोषणापछि स्थानीय युवा संरक्षणमा क्रियाशील भएकाले चोरी शिकार नियन्त्रण सम्भव भएको बताए । अहिले चोरी शिकार नियन्त्रण युवा परिचालन उपसमितिमा ५१ जना युवा आवद्ध भएर जनचेतना फैलाउने काम गरिरहेका छन् । ‘हामीले चोरी शिकार गर्दा दुःख पाइन्छ, जेल जानुपर्छ भनेर कानुनी व्यवस्था सम्बन्धि बुझाउने गरेका छौं,’ उनले भने, ‘टोल–टोलमा भेला गरेर संरक्षण सम्बन्धि जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

उनकाअनुसार साविक हरिहरपुर गाबिसबाट ७८ थान हतियार बुझाएका थिए । शिक्षा अभावले गर्दा स्थानीयलाई सम्झाउन चुनौती रहेको उनले बताए । यहाँ संरक्षणमा क्रियाशील व्यक्तिले दुःख दिएको र शिकार गर्न बाध्य पुर्याइरहेको भ्रम स्थानीयमा रहेकाले त्यो हटाउन चुनौती रहेको उनले बताए । मध्यवर्ती क्षेत्र स्थापनापछि निकुञ्जको आम्दानी बाँडफाँड भएर उपभोक्त समितिमा आउने गरेको छ । बडुवालका अनुसार उक्त आम्दानी बाँडफाँडको आधार जनसंख्या बनाइएकाले थोरै रकम आउने गरेको बताए । ‘यहाँका लागि राजश्व बाँडफाँडको आधार भुगोल बनाउनु पर्छ,’ उनले भने, ‘तराईमा जस्तो यहाँ धेरै जनसंख्या छैन ।’

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले उत्तरी क्षेत्र भौगोलिक रुपमा विकट रहेकाले त्यहाँका बासिन्दाको जीवन कष्टकर रहेको बताए । तर, स्थानीयले अभाव सहेर पनि संरक्षणमा योगदान पुर्याइरहेको उनले बताए । ‘सहजै हतियार बुझाएकाले छिटफुट बाहेक चोरी शिकारका घटना भएका छैनन्,’ उनले भने, ‘संरक्षणमा योगदान पुर्याउने जनताको जीवनस्तर उकास्ने निकुञ्जको पनि दायित्व हो ।’ उनका अनुसार स्थानीयले उत्तरी क्षेत्रबाट २ सय ४२ थान बन्दुक बुझाएका थिए । त्यस क्षेत्रको बिकासका लागि स्थानीय, पालिका र निकुञ्ज मिलेर अगाडि बढ्नुपर्ने उनको भनाई छ । ‘बजेट अभाव भएकाले कतिपय आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सकेका छैनौं,’ उनले भने, ‘मध्यवर्ती अन्तर्गतका १९ उपभोक्ता समितिलाई १ करोड १० रुपैयाँ बाँडफाँड गरेर उपलब्ध गराएका हौं, एउटा समितिलाई १० लाख दरले ।’ बाटोघाटो र भौगोलिक विकटताले गर्दा छिटो राहत वितरण हुन नसकेको उनले बताए ।