September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

आज तीज पर्व : महत्व बढ्दै तर आधुनिकताले मौलिकता हराउँदै

भैरहवा – तीजमा चेलिबेटी माइती जाने, पारिवारिक जमघट गरी वर्ष दिनका सुखदुःख साटासाट गर्ने गर्छन् । तीजका भाका गाउने, नाच्ने, छरछिमेकी जम्मा हुने गर्छन् । पछिल्लो समय गाउँदेखि सहरसम्म आधुनिकताले मौलिक भाकाहरु लोप हुँदै गएका छन् । पूराना भाका विरलै सुनिन्छ ।

यस वर्षको हरितालिका तीज आज परेको छ । कोरोना महामारीले यसपल्ट भीडभाड कम छ । मन्दिरहरु पुजाआजा न्यून छ । घरमै तीज सीमित भएको छ । तर, पूराना भाका सुनिनै छाडेका छन् । आधुनिक गीतहरुमा हाम्रो समाज, चेलिबेटी रमाइरहेका छन् ।

पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा, खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराणमा बर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णुसंग गरिदिने निधो गरे पश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा)बिकट स्थानमा पुर्याए र त्यही गौरी (पार्वती) ले कठोर तपस्या गरिन र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिएर तपस्या सफल तुल्याईदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउंदै आएको पाइन्छ ।

सखीहरू (आलीका)बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ । तीज पर्व नेपालमा मात्र नभएर भारत वर्षका बिभिन्न स्थानहरूमा मनाइन्छ । यस पर्बलाई हरियाली तीज, काजरी तीज, केभाडा तीज, अखा तीज, काजल तीज, तीजरी तीज आदि–आदि नामबाट मनाइन्छ । कतै–कतै बैशाख तथा श्रावण महिनामा पनि मनाउने गरिन्छ । तर समग्रमा तीजको महत्व र मान्यता समान देखिन्छ ।

हरितालिका तीज नेपाल लगायत भारतका बिभिन्न स्थानहरूमा धुमधामसंग मनाउने गरिन्छ । अहिले आएर संसारका बिभिन्न देशमा नेपाली र भारतीय समुदायले तीज पर्व मनाएको पाइन्छ । खासगरि नेपाली समूदायले बिदेशमा विशेष पर्वको रूपमा मनाउँदै आएको देखिन्छ । अर्को शब्दमा भन्नु पर्दा यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा परिचित भइराखेको देखिन्छ ।

तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ । त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन् । सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विवीध बिसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ । स्वयं माता पार्वतीले पनि नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यबहारीक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह, शान्ति पूर्ण आन्दोलन) गरेर आफू अनुकूल वर छानि ब्यबहारीक रूपमा समाजमा स्थापित गरेको देखिन्छ ।

यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र सम्बद्र्धन गर्दै आएको छ । हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भइरहेको छ । तर, आधुनिकताले पूरानो संस्कृति लोप हुँदै गएको पाकापुस्ता बताउँछन् ।

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ । श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने । शिव पार्वतीको आरधना एवं पूजा गर्ने । शिव पार्वतीका मठमन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने गरिन्छ । यसैगरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा गर्ने गरिन्छ । यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै छ । हाम्रो वैदिक षड–दर्शनले स्त्रीलाई प्रकृती मानेको छ । यसर्थ तीजको सम्बन्ध प्रकृती तत्व (जड तत्व ) संग छ । एक प्रकारले प्रकृतीको सम्मान, महत्व र सामिप्यतालाई यो चाडले आत्मसात् गरेको छ ।

तात्विक रूपमा प्रकृती र पुरूष (आत्मा) तत्वको मिलनको चाड हो । प्रकृती आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका, मानेका छन् । समस्त जड तत्वको समुचित उपयोग, उपदेयता , ज्ञान र संरक्षण जस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्व दिएको पाइन्छ । यसर्थ यो पर्ब तात्विक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण छ ।

समय परिबर्तनशील र गतीशील छ । समयको परिबर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुंदै आएका छन् । समयको गती संगै भएका सकारात्मक एवं श्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिंदो प्रबाह संगसंगै नकारात्मक र अश्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् ।

तीज पर्ब पनि समयको परिबर्तित चक्र संगसंगै परिबर्तन हुंदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक छ पनि । हिजो माइती घर, ब्रत, पूजा, पंधेरो, चौंतारो अनि मन्दिरहरूमा सिमीत हुने पर्व आज शहर, बजार, बस्ती, ब्यवसाय, बिद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुंदै ब्यापकता लिएको छ । हिंजो डम्फू, मादल, थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तीज पर्बको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यि सकारात्मक पक्ष हुन् ।

तर बिगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिबर्तनको बाहानामा अनि सस्तो लोकप्रियता, सजिलो आय आर्जनको लोभमा, तीज जस्तो पबित्र चाडलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाइँदै छ । पोइल जान पाम, डिस्कोमा तीज, छोटो लुगा— आदि–आदि हुँदै अगाडि बढेको तीज गीतको आधुनिक यात्राले यसपालीको तीजमा दरको साटो रक्सी खाइन्छ । देखियो जामा फाटेर–सम्मको उचाई छुईराखेको छ ।

थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ? यस्ता उच्छृंखल र छाडा गीत, संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परालाई पटक्कै फाइदा नपुग्ने संस्कृतिविदहरु बताउँछन् ।

जीवन्त समाज र बैभवशाली सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलापहरू रोक्न सरकारी निकाय, संस्कृति प्रेमी लाग्नुपर्ने मानवशास्त्री उमेशचन्द्र रिजाल बताउँछन् । शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले व्रतालुले अघिल्लो दिन मीठामीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।

वर्ष दिनको तीजमा बाबा लिन आएका,
बरिलै, हाम्री सासू पापिनीले शिरफूल लुकाइन्…


दैलोमुनि काँकरीको विरुवा,
नचलाऊ बालले हाइ बरिलै…

भाउजू–नन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तीजमा गाइने उपयुक्त पुराना लयका गीत गाउँघरमा आजभोलि सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तीजका गीत मादलको तालमा गाउँदैनाच्दै गरिने रमाइलो एकाएक हराए ।

पछिल्लो समयमा मान्छे सहरीकरण हुँदा भिन्न समुदायका व्यक्तिसँगको रहन–सहन, बोलिभाषा नमिल्दा सामूहिक रूपमा गाइने तीज गीत हराउँदै गएको छ । सहर बजारमा केही वर्षयता तीजको एक महिनाअगावै दर खाने र रमाइलो गर्ने नाममा थुप्रै रकम खर्च हुने गरेको छ । मूलतः नारीका इच्छा, रहर, माइती, पोशाक, गरगहना, अनमेल विवाह र बुहारी भएर बस्दाका पीडा, सासूको थिचोमिचो, आमाबाबु नहुँदा दाजुभाउजूले गरेको उपेक्षा, माइतमा जान नपाउँदाको पीडा जस्ता अनेकौ विषयको बयान गरिएको सुनिने यस्ता प्रकृतिका तीज गीतलाई परम्परागत वा उहिलेका गीत भन्दा उपयूक्त हुने संस्कृतिविद् बताउँछन् ।