रास्वपा उम्मेदवार डा.लेखजंगको बाचाः नमूना विद्यालयदेखि पर्यटकीय डण्डा कोरिडोरसम्म


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–३ का उम्मेदवार डा.लेखजंग थापाले क्षेत्रगत विकासका लागि केही महत्वपूर्ण योजनाहरु अघि सारेका छन् । उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास, गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा संचालन लगायतका विषयलाई समेटेर क्षेत्र विकासका योजना अघि सारेका हुन् । उनले अघि सारेका योजनामा पार्टी केन्द्रले गरेका बाचाका मुख्य बुँदाहरु समेत समावेश गरिएको छ ।
रास्वपा उम्मेदवार थापाले जिल्ला अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा तथा स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्ने बाचा क्षेत्रबासीसँग गरेका छन् । यस्तै, वडा सडक संजाल, कनेक्सन रोड, ढल व्यवस्था तथा डण्डा करिडोरलाई व्यावसायिक र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने उल्लेख गरेका छन् ।
सरकारी विद्यालयको गुणस्तरीयता वृद्धि गरि नमूना विद्यालयको रुपमा विकास तथा गरीब र विपन्न वर्गका बालबालिकाहरुसम्म सहज पहुँच विस्तार गर्ने उनको बाचा छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनको पहल गर्नेछ, आवश्यक झण्झटहरु हटाइने छ’, उनले आफ्नो बाचापत्रमा भनेका छन्, ‘निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) सुविधा सहितको भैरहवा भन्सार कार्यालयलाई सेवालाई शीघ्र कार्यन्वयनमा जोड दिइने छ । यस्तै, आईसीपीसम्म रेल–वे कनेक्सन ल्याउन राजनीति तथा कुटनीतिक पहल गर्नेछु ।’
मेला महोत्सव तथा सभा सम्मेलनको लागि जग्गा पहिचान गरि क्षेत्रको आवश्यक स्थानमा मण्डप निर्माणको पहल गर्ने, कृषि पैदावारको सुरक्षित भण्डारणका लागि शीत भण्डारको निर्माण तथा प्रभावकारी उत्पादनका लागि एक वडा एक उत्पादन नीतिलाई प्राथमिकता दिने उनको बाचा छ ।
‘कृषि मल तथा बिउबिजन वितरणमा वैज्ञानिक नीति तथा प्रक्रिया अपनाई सहज उपलब्धताको सुनिश्चितता गरिने छ’, डा.थापाको बाचापत्रमा भनिएको छ, ‘खुला सीमालाई व्यवस्थापन गरि स्थानीय व्यवसायलाई चोरीपैठारीबाट पर्न गएको नकारात्मक प्रभावको न्यूनीकरण गरिने छ ।’ सरकारी काममा ढीला–सुस्ती र भ्रष्टचारको अन्त्य गरि सुशासन कायम गर्न सम्बन्धित निकाय र संलग्न व्यक्तिहरुप्रति शुन्य सहनशीलता अपनाइने जनाइएको छ ।
नेपालको पहिलो निर्यात प्रवद्र्धन केन्द्र विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक सेवा सुविधा विस्तारमा नीतिगत सुधार गर्ने, व्यवसायिक शिक्षा, सीपमूलक तालिम, सुलभ कर्जा सुविधा जस्ता कार्यक्रमको माध्यमबाट नागरिकलाई पूर्ण रोजगारी सिर्जना गरिने बताइएको छ । ‘सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा स्तरोन्नति तथा अन्य खेल मैदानका लागि पहल गर्नेछु’, बाचापत्रमा डा.थापाले भनेका छन् ।
नहर, डिप ट्यूववेल, लिफ्ट सिंचाईको प्रयोग बढाई प्रभावकारी कृषि सिंचाई प्रणालीको विकास गर्ने, फरक क्षमता भएका, अशक्त तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरुलाई सम्मानजनक जीवनयापन गर्ने वातावरणको सिर्जना, फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गरि फोहोरबाट विद्युत तथा कृषि मल उत्पादन गरि फोहोरलाई मोहरमा बदल्ने नीति अनुरुप सफा र समृद्ध शहरको निर्माण गर्ने उनले बाचा गरेका छन् ।
जेष्ठ नागरिक, एकल महिलाहरुको सामाजिक सुरक्षा सहित सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरणको सिर्जना र बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धका लागि गुणस्तरीय धार्मिक, सांस्कृतिक तथा भौतिक पूर्वाधारको विकास गर्ने डा.थापाले बाचा गरेका छन् ।
रास्वपा केन्द्रीय समितिकोे वाचापत्रमा मध्यम वर्गको विस्तार, रोजगारीको सिर्जना, प्रभावकारी स्वास्थ्य बीमा, दलमुक्त राज्य संयन्त्र, न्याय सुधारमा मेरिटोक्रेसी, सरकारी सुधारमा लाइन होइन, अनलाइन, निजी क्षेत्रसँग साझेदार, करको बोझ हटाउने, ५–१० वर्षमा मध्यम आय भएको मुलुक, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आम्दानी कम्तिमा ३ हजार डलर र ५–७ वर्षमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने उल्लेख छ । डा.थापाले यही विषयलाई आधार मानेर क्षेत्रगत विकासका योजना बनाएको जनाएका छन् ।
मतदाताबाट पाएको अपार माया र सद्भावले हौसला बढाएको छः डा.लेखजंग
जनताको आँगनमा मत भन्दा पहिले परिवर्तनको मन भेटिन्छः रास्वपा उम्मेदवार डा.थापा
रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार
डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट
देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा
पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग








प्रतिकृया दिनुहोस्