मतदाताबाट पाएको अपार माया र सद्भावले हौसला बढाएको छः डा.लेखजंग


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–३ का उम्मेदवार डा.लेखजंग थापाले आफूले मतदाताबाट अपार माया र सद्भाव पाएको बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियान सञ्चालन गरिरहेका डा.थापाले रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ३ अन्तर्गत रहेका अधिकाँश वडामा पुग्दा मतदाताले आफूप्रति देखाएको सद्भाव र शुभेच्छाले हौसला बढाएको जनाए । ‘रुपन्देही–३ मा रहेका ३६ वटा वडामध्ये लगभग सवै वडामा पुग्दा म र रास्वपाप्रति मतदाताले देखाएको माया र सद्भावले हौसला बढाएको छ । उहाँहरुले देखाएको अपार मायाले हामी आफ्नो चुनावी यात्रामा सफल हुन्छौं भन्नेमा ढुक्क छौं’, डा.थापाले भने, ‘हामीले सोंचे भन्दा पनि धेरै राम्रो प्रतिक्रिया र आतिथ्यता पाएका छौं ।’
चुनाव प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा पुग्दा आमजनताको अपेक्षा जनप्रतिनिधिले पुरा गर्नै नसक्ने खालका नभएर दैनिक रुपमा भोग्दै आउनु परेको सामान्य खालका भएको उनले जनाए । ‘उहाँहरुको माग कृषि मलखाद, रोजगारीको सिर्जना, शिक्षा, स्वास्थ्य जस्ता बिषयवस्तुसँगै नै केन्द्रित छन्’, उनले भने, ‘दैनिक जीवनयापनका लागि आवश्यक पर्ने अत्यावश्यक बस्तुको व्यवस्थापन गर्नेसँग सम्बन्धित छन् ।’
यस वाहेक अधिकाँश मतदाताले पछिल्लो समयमा युवा पिँढी बिदेशिने क्रमले गर्दा आफूहरु घरमा एक्लो हुन थालेको पीडा सुनाउने गरेको उनले जनाए । बिदेशिने क्रमलाई कसरी रोक्न सकिन्छ ? बस्ती टोल युवाबिहीन हुन थाले । मुलुकलाई कसरी आर्थिक समृद्धि बनाउन सकिन्छ ? सहज रुपमा प्रशासनिक सेवा कसरी पाउने ? जस्ता जिज्ञासा आफू समक्ष मतदाताले गर्ने गरेको उनले बताए ।
‘जताततै सुशासनको अभाव र भ्रष्टाचारले प्रताडित हुनु परेको दुखेसो मतदाताको छ’, डा.थापाले भने, ‘भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलतामात्रै होइन, उन्मूलन नै कसरी गर्ने ? भन्नेमा हाम्रो पार्टी केन्द्रित छ ।’ आफू स्थानीय भएको नाताले जन्मिको, खेलेको, हुर्केको, घुमेको स्थल यही भएकाले रुपन्देही–३ का अधिकाँश मतदाता समक्ष घुलमिल हुन सहज भएको र लामो समयदेखि चिकित्सा पेसामा आवद्ध भएकाले पनि चिरपरिचित हुन सहज भएको उनले बताए । कतिपय मतदाता त आफूले उपचार गरेका र उहाँहरुको नातेदार भएकाले अझ सहज भएको भनाइ उनको छ ।
जनताको आँगनमा मत भन्दा पहिले परिवर्तनको मन भेटिन्छः रास्वपा उम्मेदवार डा.थापा
रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार
डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट
देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा
पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग








प्रतिकृया दिनुहोस्