June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा

Advertisement

भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा.लेखजंग थापाले देश झनपछि झन दिर्घरोगी जस्तै बन्दै गएकाले आफू टुलुटुलु हेरेर बस्न नसकेपछि राजनीतिमा होमिएको बताएका छन् । क्षेत्रका मतदाताहरुलाई सम्बोधन गर्दै उनले शुक्रबार सामाजिक संजाल मार्फत् यस्तो बताएका हुन् ।

Advertisement

‘मैले एक चिकित्सकको रुपमा डेढ दशकदेखि बिरामीहरुको उपचार गर्दै आएँ तर देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति र बेरोजगारी जस्ता रोगले देश झन दिर्घरोगी जस्तै बन्दै गयो, जुन मैले टुलुटुलु हेरेर बस्न सकिनँ’, उनले लेखेका छन्, ‘नीतिगत र प्रणालीगत अवस्थालाई सुधार गरी देशको उपचार गर्छु भनेर राजनीतिमा आएको छु । मैले यो राजनीतिक यात्राको सुरुवात आफ्नै जन्म जिल्ला रुपन्देहीबाट नै सुरु गरेको छु । आफ्नै जिल्लाको क्षेत्र नम्बर ३ बाट यतिबेला म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेको यहाँहरुलाई जानकारी नै छ ।’

उनले आगामी फागुन २१ गते हुन गहिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि आफू उम्मेदवार भएर घर–आगनमा जाँदा मतदाताले देखाएको माया र विश्वासले हौसला बढाएको जनाएका छन् । उनले आफूलाई मत दिएर नीतिनिर्माण गर्ने ठाउँमा पुर्याउने विश्वास समेत व्यक्त गरेका छन् ।

‘हिजो मैले नागरिकको शरीरमा लागेको रोगको उपचार गरेँ । अब देशको उपचार गरेर नागरिकले झेल्नुपरेको समस्यालाई समाधान गर्छु भनेर नै म राजनितिक मैदानमा आएको छु,’, उनले भनेका छन्, ‘पक्कै पनि तपाईंहरुले मेरो यो देशप्रतिको माया र देश निर्माणमा केही गर्छु भन्ने हुटहुटीलाई चिन्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

गत माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताका क्रममा देखिएको उपस्थितिले आफूलाई थप उर्जा बढाएको जनाएका छन् । ‘उक्त दिन उपस्थित पार्टीका हरेक तह र तप्कामा रहनु भएका साथिहरु, जेनजी अगुवा, सामाजिक अभियन्ताहरु र आम सर्बसाधरण प्रति म हृदयदेखि नै आभार प्रकट गर्दछु । साथै, आगामी दिनमा पनि यहाँहरुको त्यस्तै सहयोगको अपेक्षा गरिरहने छु’, उनले भनेका छन् ।

पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग