June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट

Advertisement

भैरहवा– गनिएका, भरपर्दा र विश्वविख्यात ‘स्वास्थ्य उपचार प्रविधि’सँग परिचित चिकित्सक पनि राजनीतिमा ? यो प्रश्न त्यतिबेला जोडतोडले उठ्यो, जतिबेला भैरहवा निवासी वरिष्ठ न्युरोलोजिस्ट डा.लेखजंग थापा उपनर्विाचन लड्ने तयारी गर्दै थिए । गत कार्तिक १७ गते उपनिर्वाचन मिति तोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा.थापा उम्मेदवार बन्न लागिपरेका थिए । धेरैले राम्रो चिकित्सक राजनीतिमा होमिनु ठीक मानेनन् । तर, विभिन्न प्रक्रिया पूरा गरेपछि रास्वपाले उनै डा.लेखजंगलाई उम्मेदवार बनाउने निधो गर्यो ।

Advertisement

रुपन्देही–३ बाट निर्वाचित राप्रपाका बरिष्ठ नेता दीपक बोहराको निधनपछि यस क्षेत्रमा त्यसबेला उपनिर्वाचनको तयारी थियो । तर, भदौ २३ र २४ को जेनजी आन्दोलनले परिस्थिति बदलियो, अहिले मुलुक नै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । उपनिर्वाचनका बेला बडो चासोसाथ हेरिएको रुपन्देही–३ अहिले केही ओझेलमा छ, किनकी मुलुक नै निर्वाचनमय छ । तर, समग्रमा क्षेत्रको चर्चा भने कायमै छ ।

त्यसबेला रास्वपाले उम्मेदवार बनाउने घोषणा गरेका डा.थापा यसपटक पनि यही क्षेत्र (रुपन्देही–३) बाटै उम्मेदवार बनेका छन् । रास्वपाले मुलुकमा जित्ने दावी गरिएको क्षेत्र रुपन्देही–३ पनि पर्छ । स्वास्थ्य क्षेत्रमा चर्चित वरिष्ठ न्युरोलोजिस्ट डा.लेखजंग राजनीतिमा पनि कम आँकलन गरिएका नेता होइनन्, उनी यसअघि पनि उम्मेदवार बनेका थिए । उनको चर्चा तब भयो, जव उपनिर्वाचनमा रास्वपाले उम्मेदवार बनायो ।

युवाहरुमाझ निकै लोकप्रिय बनिरहेको रास्वपाको अहिले मुलुकभर नै चर्चा छ । दुई तिहाई जित्ने दावीसहित रास्वपाले बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री घोषण गरेर चुनावी अभियानमा छ ।

को हुन् डा.लेखजंग थापा ?
४८ वर्षीय डा.लेखजंग थापा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, अञ्चलपुरका बासिन्दा हुन् । डी.एम.सम्म अध्ययन गरेका थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् । सानै उमेरदेखि राजनीतिमा रुचि राख्ने उनले सामाजिक अभियन्ताको समेत छवि बनाएका छन् । गरिब तथा असाहयको निःशुल्क उपचार, आर्थिक सहयोग, निःशुल्क स्वास्थ्य शिविर समेत चलाएर उनी चर्चित बनेका हुन् । ‘पैसाकै कारण कुनै पनि नागरिक उपचारबाट बञ्चित नहोउन् भन्ने मेरो सानैदेखिको मान्यता हो’, उनले भने, ‘यही कारण मैले कुनै न कुनै माध्यमबाट निम्न वर्गीय नागरिकलाई सहयोग गर्दै आएको छु ।’

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रशिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स समेत हुन् ।

नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा सोढ १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान् बरिष्ठ चिकित्सक हुन् । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा न्युरो चिकित्सा क्षेत्रबारे आफ्नो अनुभव साटेर समेत उनले विश्वव्यापी चर्चा कमाएका छन् । ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेका उनले यही कारण पनि अन्तर्राष्ट्रिय जगातमा पहिचानसमेत बनाएका छन् । ‘म स्वास्थ्य पेसामै क्रियाशील भए पनि कहिल्यै नेपाली राजनीतिबाट टाढा रहेन’, उनले भने, ‘यही कारण म राजनीतिलाई सेवा बनाउने भावले चुनावमा होमिएको हुँ ।’

नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा समेत योगदान दिएका छन् । डा. थापाले आफ्नै पहलमा नेपालका हजारौं चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत् स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धी तालिम दिएका छन् । ‘मृत्युको दोस्रो कारणका रुपमा रहेको स्ट्रोकको प्राथमिक उपचारलाई नेपालको दुरदराजमा पुर्याउन मैले पेसामा रहँदासम्म सधैं प्रयासरत रहेँ’, उनले भने, ‘राजनीतिमा आए पनि यसलाई निरन्तर दिन्छु । स्वास्थ्य क्षेत्रको सुधारमा लाग्छु ।’

राजनीतिमा किन आए ? रास्वपा नै किन रोजे ?
नेपालको राजनीतिलाई ‘फोहोरी खेल’ भन्छिन् । यस्तो फोहोरी खेलमा किन होमिए बरिष्ठ चिकित्सक ? धेरैको मनमा उब्जिएको प्रश्न हो । डा.थापा भन्छन्, ‘पोखरी फोहोर छ भनेर सफा नगरे, त्यो फोहोर नै रहन्छ । त्यसमा हामफालेर वा अन्य उपायबाट सफा गर्नुपर्छ । अनि बल्ल सफा हुन्छ र देखिन्छ पनि ।’ उनले मुलुकमा बढेको व्याप्त भ्रष्टाचार, कुशासन र राजनीति खिचातानीलाई सही ठाउँमा ल्याउन आफू राजनीतिमा होमिएको जनाए ।

‘मैले एक चिकित्सकको रुपमा डेढ दशकदेखि बिरामीहरुको उपचार गर्दै आएँ तर देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति र बेरोजगारी जस्ता रोगले देश झन दिर्घरोगी जस्तै बन्दै गयो, जुन मैले टुलुटुलु हेरेर बस्न सकिनँ’, उनले भने, ‘नीतिगत र प्रणालीगत अवस्थालाई सुधार गरी देशको उपचार गर्छु भनेर राजनीतिमा आएको हुँ ।’ उनले राजनीतिमा सही, कर्मशील, योजना भएको र जनभावना बुझेको व्यक्ति आए मुलुकले कोल्टे फेर्ने बताउँछन् ।

‘मुलुकलाई सुशासनसहितको सामाजिक न्याय चाहिएको छ, विकास र समृद्धिको बाटोमा लैजाने अठोट भएका नेता, दल र प्रतिनिधि चाहिएको छ’, उनले भने, ‘सबै दृष्टिले रास्वपा फिट छ, यसका स्पष्ट खाका छन्, योजना कार्यान्वयनका मार्ग छन् । यसैले मैले रास्वपा रोजेँ र राजनीतिमा होमिएँ ।’ डा.थापाले मुलुकमा देखिएको अहिलेको अन्यौलतालाई चिर्ने पार्टी रास्वपा नै भएको बताए । ‘जेनजीहरुले किन आक्रोस पोखे ? यसको कारण ब्याप्त भ्रष्टाचार हो, यसलाई निर्मूल पार्न रास्वपा नै निर्विकल्प पार्टी हो ।’

उनले क्षेत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई जोड दिएका छन् । नाका व्यवस्थापन, पर्यटकीय पूर्वाधार विकास, सेज संचालन, उद्घाटन भएर पनि संचालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालन, समानुपातिक विकास, यहाँका उत्पादनको बजारीकरण जस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाएर क्षेत्रगत विकासमा लाग्ने जनाए ।

‘हाम्रा नीतिनियमन, कानूनहरु धेरै सही छन्, कतिपय कानून बाधक पनि छन्’, उनले भने, ‘सही कानूनको सही कार्यान्वयन र बाधक कानून संशोधन गरेर जनमुखी, विकासमुखी र परिणाममुखी बनाउन म लागिपर्छु ।’ उनले मुलुकमा थिति, विधि र सुशासन बसाल्न आफ्नो क्षेत्रदेखि संसदसम्म पुलको काम गर्ने जनाए । क्षेत्रबासीसँग जोडिएर मुलुकका हरेक क्षेत्रमा परिवर्तनको महसुस गर्ने वातावरण सिर्जना गर्ने उनको अठोट छ ।

देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा

पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग