June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देखिने, नदेखिने भोलि

Advertisement

म छैन । म हुने छैन भन्दैमा भोलि नहुने होइन । भोलि अवश्य हुन्छ, हामी जति नै अन्धकारमा रुमल्लिएका किन नहोऊँ । त्यो अन्धकारको सत्तोसरापमा समय र बल खर्चिनु बौद्धिकता नाशबाहेक केही लाग्दैन ।

Advertisement

हिजोका मान्छेले हिजोकै कुरा सिकाए । हामी हिजोमै यसरी भुल्यौँ कि भोलि छ भन्ने नै भुल्यौँ । आज बाँच्नेले भोलि बनाउन कसैले सिकाएन । यो देश आलोचना होस् या समर्थन, हिजोको चर्चाले नै खाएको हो । आज बाँच्नेले भोलिको निर्माण गर्नुपर्ने आदर्शमा कहीँ कतै खिया लाग्दै गएको हो कि ?

हामी अक्सर अन्धकारप्रति रिसाउँछौँ, आलोचना गर्छौं, कोस्छौँ । तर, त्यो अन्धकार हटाउने झिल्का खोज्नभन्दा त्यसको सत्तोसरापमा हाम्रो समय र ऊर्जा खर्च गर्छौं ।

यो प्रवृत्ति केवल बौद्धिक थकान होइन, बौद्धिक नाश हो, जहाँ चिन्तन मृत हुन्छ, सिर्जना ओइलिन्छ र आशा अन्यमनस्क हुन्छ ।

साँच्चिकै हिजोको छायामा हराएको छ आज । हिजोका पुस्ताले हिजोकै पाठ पढाए । विगतका युद्ध, आन्दोलन, उपलब्धि वा असफलताको चर्चा हामीले त्यसरी दोहोर्‍यायौँ कि त्यसैमा रमायौँ ।

त्यो सिकाइ जरुरी थियो या सीमित थियो । हिजोलाई सम्झनु राम्रो हो, तर  त्यसैमा आजलाई गुमाउनु उचित होइन ।

हिजो सिकेको पाठले आजका सवालको उत्तर दिन सक्दैन । यदि, हामी त्यसलाई जिउँदो सवालजवाफको अभ्यासमा रूपान्तरण गर्न सक्दैनौँ भने ।

भोलिको निर्माण केवल हिजो सम्झेर होइन, आजको समझदारी र कर्मबाट मात्रै सम्भव हुन्छ । समर्थन र विरोध त हिजोकै चर्चामा थलिएका र थलिएका आयाम हुन् ।

हाम्रो सामाजिक संवाद – जुनसुकै मञ्च होस्, प्रेस, सडक, संसद् या सामाजिक सञ्जाल – त्यहाँ आलोचना वा समर्थन दुवै प्रायः अघिल्लो पुस्ताको कर्म र भाष्यमा अडिएको देखिन्छ ।

समर्थन पनि ‘हिजोजस्तै गरौँ’ भन्नेमा सीमित छ र आलोचना पनि ‘हिजो गलत थियो’ भन्नेमा अड्किएको छ । प्रश्न उठ्छ कि आज के गरिँदै छ ? अनि, कसले गरिरहेको छ ? आखिर भोलिलाई उज्ज्वल पार्न के निर्देशन हुँदै छ ?

भोलिको कुरा लेखिरहँदा लेखनको कुरा छुटाउनु अन्यायपूर्ण हुन्छ कि ! वास्तवमै नेपाली मात्र होइन, विश्वसाहित्यको ठूलो हिस्सा विगतको पुनरवलोकन, पीडा, स्मृति र संघर्षले भरिएको छ ।

युद्ध, प्रेम, ह्रास, धर्म, राजनीतिका कथनहरू मुख्यतः हिजोको जीवन, हिजोका मूल्य र हिजोका पात्रहरूमै केन्द्रित छन् । कारण के हो भने, हिजो देखिएको थियो, अनुभूत गरिएको थियो, अनि त्यसलाई कलामा उतार्न सहज थियो ।

तर, अहिले प्रश्न उठ्छ– साहित्यले भोलिको कल्पना कसरी गर्छ त आखिर ? आजको लेखकले भोलिको भाषा कसरी बोल्न सक्छ ? भोलिको साहित्य एउटा सम्भावनाको रचना किन हुन सक्दैन ?

साहित्य अहिलेसम्म प्रायः विगतसँग बाँधिएको छ । हिजोका सम्झनाहरू, हारहरू, विद्रोहहरू, स्नेहहरू । यी सब हामीले पढ्यौँ, लेख्यौँ, स्यार्हायौं । तर, अब समय फेरिएको छ । अब हामीले भोलिको साहित्य पनि लेख्न सुरु गर्नुपर्छ ।

के हो त भोलिको साहित्य ? भोलिको साहित्य भन्नाले केवल विज्ञानकथाहरू मात्रै त होइन !

केवल युटोपिया र रोबोटहरूसँगको संवाद पनि होइन । भोलिको साहित्य भन्नाले त्यो लेखन हो, जहाँ भविष्यको समाज अझै बनेको छैन, तर कल्पनामा जीवित छ । जहाँ हामी एउटा यस्तो शिक्षा–व्यवस्था देख्छौँ, जहाँ प्रश्न सोध्ने अधिकार जन्मसिद्ध हुन्छ । जहाँ पात्रहरूले यस्तो देशमा सास फेर्छन्, जहाँ राजनीति होइन, न्याय हुन्छ केन्द्रमा ।

हामीले यस्तो कथा लेख्न सक्नुपर्छ, जहाँ हाम्रा छोरीहरू आफ्ना सपना च्यापेर अन्तरिक्षमा जाऊन् । जहाँ श्रमिकको अनुहार समाचारको पहिलो पृष्ठमा होस्, सम्मानपूर्ण तरिकाले । जहाँ सभ्यताको मापन जीडीपीले होइन, सहानुभूति र मानवीय सूचकांकले निर्धारण गरोस् ।

सपना र योजनामा साहित्यको नवनिर्माणका उपकरण मिसिएर आऊन् । यदि, योजना नीति निर्माताहरूका लागि हो भने पनि सपना साहित्यकारका लागि पनि  होऊन् । तर, त्यो सपना हावामा होइन, सम्भावनाको धरातलमा रोपिएको हुनुपर्छ ।

त्यसैले आज हामीले यस्तो कविता लेख्न सक्नुपर्छ, जहाँ शब्दहरूले नारा होइन, सजग विचार बोकेका हुन्छन् । हामीले यस्तो उपन्यास लेख्न सक्नुपर्छ, जहाँ बालकले केवल बाँसुरी बजाउँदैन । भोलिको पर्यावरण बचाउने योजना पनि सँगै  बनाउँछ ।

भोलिको साहित्यले के गर्न सक्छ ? यो साहित्य कल्पना मात्र होइन, चेतना पनि हो । यो साहित्यले दृष्टि दिन्छ, क्रान्तिको स्थान शान्तिले लिन्छ । तर्कले जित्छ ।

यो साहित्य मानवता, प्रविधि, प्रेम र पृथ्वीका बीचको सन्तुलनमा लेखिनुपर्छ । यो साहित्य त्यस्तो शैलीमा लेखिन्छ, जहाँ सपना शब्द एउटा स्पष्ट कार्यदिशा जस्तो लागोस् ।

लेख्न हतार भएको होइन र ? जहाँ हिजोको पीडा मात्र होइन, भोलिको सम्भावना पनि स्पष्ट देखिन ।

तर, भोलिको साहित्य लेख्न सजिलो पनि छैन । किनभने, त्यो अझै देखिएको छैन । तर, साहित्य त त्यही हो अदृश्यको भाष्य, अनुश्रुतको उद्घोष, अप्राप्त कुराको सम्भावना । त्यसैले लेखौँ, एक कविता जसरी जुन आकाशले नभएको जूनलाई निम्तो दिन्छ ।

एक कथा, जसरी जसले पाठकको अन्तरमनलाई सोध्छ— के तिमी तयार छौ, यस्तो भोलिको लागि ?

आज बाँचिरहेको पुस्ताले भोलिको दिशानिर्देशन गर्नुपर्ने हो । तर, त्यो सोच, त्यो योजना, त्यो आदर्श खिया लाग्दै गइरहेको छ । हामी पिँढीगत उत्तरदायित्व बिर्सिरहेका छौँ । भोलि एक दिन हो मात्र होइन, एक विचारको नवीन प्रवाह पनि त हो ।

एक सपना पनि होइन र भोलि ! एक नैतिक उत्तरदायित्व हो, जसको निर्माण आज नै थाल्नुपर्ने हुन्छ । भोलिको निर्माण गर्न विचार, अभ्यास र सहकार्यको संयोजनको जग आजै हाल्नुपर्ने हुन्छ ।

भोलि अचानक आउने त होइन, यो क्रमिक निर्माण हो । विचार, अभ्यास र सहकार्य नयाँनयाँ पुस्ताको स्वागत र अस्तित्व स्वीकारमा कमी आउन हुँदैन । यी तीन कुरा हराउने हो भने भोलि त आए पनि अर्थहीन हुन्छ ।

तब समाज आत्मघाती स्मृतिमा रमाउने बानीमा डुब्छ, जसले गर्दा उत्प्रेरणा मर्छ । सिर्जनशीलता गुम्छ । नयाँ बाटो खोज्ने साहस हराउँछ । यो कुरा घरदेखि सहर, देश र संसारमै लागु हुने प्रक्रिया हो ।

आरम्भ हुनु अन्त मात्र होइन । सकिनु अर्को कुरा थपिनु हो । समयसँग यसको अटुटपन जोडिएको छ । अन्त्य त आरम्भको आह्वान पनि त हो । हिजो, आज र भोलि समयका केवल खण्ड होइनन् ।

भोलि केवल एक क्यालेन्डरको पाना मात्र होइन, यो वर्तमानको उत्तरदायित्वले उभ्याएको सम्भावना हो ।

‘म छैन’ भन्नु एउटा सत्ताको अन्त्य हुनसक्छ । तर, भोलि छैन भन्नु चेतनाको हत्या हो । त्यसैले भोलिको निर्माण आजै सुरु गर्नुपर्छ । आलोचनाबाट होइन, विचारबाट । प्रतिक्रिया पोखेर होइन कि शालीन र सुगम संकल्पबाट, जसलाई आममन र मानसिकताले सहर्ष स्वीकार गरोस् ।

हामीलाई हिजोले सिकाएको पाठ थाहा छ । अब हाम्रो प्रश्नचाहिँ भोलिका लागि हामी के गर्दै छौँ भन्ने हुनुपर्छ । भोलिको बीउ आजै रोपिएको हुन्छ । तर, बीउ रोप्न ढंग नपुगेको हुनाले हो कि इतिहास सदैव आलोचनाको कठघरामा उभिन अभिशप्त छ ।

म छैन, म हुने छैन, यो स्वीकारोक्ति हो, जीवनको नाशप्रति । तर, त्यसको अर्थ यो होइन कि भोलि नै छैन । म नहुन सक्छु । तपाईं नहुन सक्नुहुन्छ । तर, भोलि त निश्चित छ नि, किनभने समय चलिरहन्छ ।

तर, त्यो समय कस्तो हुनेछ ? त्यो उज्यालो हुनेछ कि फेरि अन्धकारको दोहोरो स्वरूप ? त्यो प्रश्नको उत्तर आजको कर्मसँग गाँसिएको छ । हिजोको बोझलाई आजको लाचारी सम्झेर धिक्कार्नु मात्र समयको गति हुनु हुँदैन ।

हाम्रो समाज हिजोको सन्दर्भमा यति अडिएको छ कि भोलिको कल्पना गर्न पनि डराउन थालेको छ । हिजोका आदर्श, हिजोका अनुहार, हिजोकै नायकहरू – यी नै हाम्रो वर्तमानका विचार हुन् ।

त्यही भएर होला, भोलिको निर्माण गर्ने साहस हामीभित्र जागेको छैन । हामी आदर्शको पूजा गर्छौं, तर अभ्यास गर्न पछि हट्छौँ । हिजोका आवाजहरू आज पनि गुन्जिरहेछन्, तर आजका प्रश्नहरू सुन्ने कान मौन छन् । आखिर किन ?

भोलि भनेको के हो त ? भोलि भनेको केवल अर्को दिन होइन ।

भोलि भन्नाले एउटा समाज हो, जहाँ शिक्षा परीक्षा पास गर्न होइन, जीवन बुझ्न सिकाइने होस् । एउटा देश हो, जहाँ नेतृत्व वाचा होइन, जवाफदेहीमा मात्र मापन गरियोस् । एउटा चेतना जहाँ वर्ग, जात, धर्म र तहभन्दा पहिला मानव ठानियोस् ।

एउटा नागरिक जहाँ व्यक्ति आफ्ना सपनाको मालिक हुन पाओस् । बाध्यताले आश्रित हुन नपरोस् । एउटा यथार्थ स्थापित होस्, जहाँ म मजदुर हुँ भनेर लाज होइन, गर्वको अनुभूति होस् ।

भोलि त्यस्तो होस्, जहाँ सपना र श्रमको मूल्य बराबर होस् ।

जहाँ कलम र कोदालो एउटै यथार्थमा काम गरून् । जहाँ राजनीति केवल पदको होइन, सेवा र सोचको कुरामा विकसित होस् । तर, यस्तो भोलि आफैँ आउँदैन ।

हामीले आज नै केही गर्नु छ । हामीले आलोचना गर्नु ठिक हो, तर त्यसैमा रमाउनु मात्र होइन । हामीले हिजोबाट त सिक्नुपर्छ नै, तर त्यसैमा समाहित हुन छोड्नुपरेको छ ।

हामीले आज ठूलो योजनाको होइन, सानोतिनो अभ्यासको सुरुआत गर्नु छ । जस्तो कि हामी आफ्ना छोराछोरीलाई जसरी पढाउँछौँ, त्यसमा प्रश्न उठाउन सिकाउने अभ्यास गरौँ । जिज्ञासा राख्न उत्साह भर्नुपर्छ ।

हामी सडकमा हिँड्दा छेउको मान्छेलाई हेर्न सक्ने आँखामा ममता भर्न सिकाउन सक्छौँ, आफू निजी सवारीमै सवार भए पनि ।

हामी बोल्दा प्रश्न गर्ने स्वर र सुन्ने संवेदनशीलताबीच सन्तुलन बनाइरहन सकौँ । यी साना अभ्यासहरू आज रोपिएका बीउ हुन्, जसले भोलिको समाज बनाउनेछ ।

वर्तमानको लयमा नै भविष्यको संगीत भर्ने । भोलि एउटा मिठो संगीतको रूपमा स्थापित गर्न सक्छौँ । त्यो संगीत आजको चेतनाबाट उत्पन्न हुन्छ । यदि, आजको स्वर बेसुरो छ भने भोलि गुन्जिने गीत पनि विकृत हुनेछ ।

त्यसैले भोलिको सुन्दरता सुनिश्चित गर्न हामीले आज आफूलाई फेरि चिन्नुपर्नेछ । आफ्ना मूल्य–मान्यताहरू पुनः परिभाषित गर्नुपर्नेछ । अनि, विवेक र बौद्धिकतामा आधारित समाज बनाउने साहस गर्नुपर्नेछ ।

अन्त्यमा, म छैन, म हुने छैन भन्ने वाक्य स्मरणमा रहोस् । म छैन भन्नु एउटा तटस्थ वाक्य होइन । त्यो हो, आफ्नो सीमा बुझेर पनि समयलाई जिम्मा दिने आत्मविश्वास जो सबैमा जाग्नु छ, जगाउनु छ ।

त्यसैले हामी आफैँले नभए पनि, हाम्रो कर्म, हाम्रो सोच, हाम्रो आदर्श जीवित रहून् सदैव ।

र, त्यो बाटो हुँदै हाम्रो भोलि उज्यालो भइरहोस् । -baahrakhari