कविता : सम्झना बुवालाई

- तिलकराम पोख्रेल

सम्पादकज्यूले भन्नुभयो
प्रिय कवि !
बुबाको मुख हेर्ने दिन आउँदैछ
विशेषाङ्क छ त्यसको निम्ति
केही लेख्नु होस् न
बुबाको बारेमा
आफू तेह्र महिनाको हुँदा
स्वर्गबासी भएका तिमी, मेरो बुबा
म के नै लेखुँ …….
तथापि लेख्ने भावनामा
मनसँग सम्झौता गरी
दृश्यहरूबाट केहीँ सापटी लिएर
यो कविता लेख्दैछु पहिलोपटक
सम्झना बुबालाई …….
मलाई थाहा छैन
बुबा तिमी कस्ता थियौं ?
छेउमै मुस्कुराइरहने
मेरी आमाले दिएको ममता पर्याप्त छ
तर पनि……
पल्लो घरको राजु
उसको बुबाको काँधमा बसेर पाठशाला गएको देख्दा
कतै कतै तिम्रो सम्झना आउँछ
जिन्दगीको मोडमा
सयौँ सङ्घर्ष गरिन् आमाले
प्रत्यक्ष देखेको छु
मेरी आमा “पराक्रमी” छिन्
तर पनि ……
व्रतबन्ध गर्दा छेउबाट सिकाईदिने
बुबाको अभावमा आमाका आँखा रसाउँछन्
त्यस बखत तिम्रो सम्झना आउँछ
आमा “ महान” छिन्
अझ मलाई लाग्छ तिमीले
यस्तो माया दिन सक्ने थियौ वा थिएनौ
तर पनि…….
सबै सरकारी कागजात भर्नु पर्दा
पिताको नाम नै लेख्न लगाउँछन
त्यस बखत कलमले तिम्रो सम्झना गर्छ…
जबजब पर्व र तीजहरूमा
अरू सबैको सिउँदो
सिन्दूरले चमक्क चम्केको हुन्छ
रातो साडीमा चिटिक्क देखिन्छन्
त्यसबखत …
तिम्रो नामको रित्तो सिउँदोमा
आमा उदास देखिएकी हुन्छिन्
सधुवाको रातो साडी
तिम्रो नाममा समर्पण गरेर
एककुनामा बसेकी हुन्छिन् …..
त्यसबखत
तिम्रो सम्झना असाध्यै आउँछ
हामी खुसी छौँ बुबा……
तिमी कहाँ छौं थाहा छैन
तापनि हामी सम्झिरहेका छौँ
यस्तो सम्झन्छौँ कि
कतै आमासँग मेला-पातमा जाँदा
ठ्याक्कै माइलाको अनुहार नि भन्दा
मलाई कुन्नि के भइजान्छ
तिम्रो सम्झना आउँछ
वर्षेनी गरिने तिम्रो पूण्य श्राद्धमा
आफन्तहरूले तिम्रो बारे कुरा गर्दा
यी मान्छे यस्तै थिए त भनी
तिम्रो सम्झना गर्छु
तिम्रो बारे कसैले वर्णन गरे
गौरवले मख्ख पर्छु
तिम्रो बारे कसैले याद गरे
म तिमीलाई सम्झन्छु
तिमीलाई नदेखे पनि , यति भन्न मन लाग्छ
तिमी भाग्यमानी रहेछौ बुबा!!
आमा जस्ती साहसी नारीलाई
जीवन साथी पायौं
म धन्य छु बुबा
यस्ती आमाको कोखमा
अनाथ हुनु परेन
श्रद्धेय बुबा……
जहाँ छौ त्यहाँ निश्चिन्त भएर बस
श्रद्धाञ्जली पठाउँदैछु
असाध्यै सम्झना छ बुबा तिमीलाई ।
प्रतिकृया दिनुहोस्