January 23, 2025, Thursday
२०८१ माघ १०

कथा: प्रोफेसरको मास्क !

जिन्दगीमा एउटै कुरा सिकियो, पढ्नुपर्छ । यो पढ्ने भुतले कहिल्यै छाडेन । एमए गरेँ । एमफिल गरेँ । पीएचडी गरेर नामको अगाडि ‘डा.’ झुन्ड्याउने रहरले सपनामा पनि ऐँठन गरायो ।

कहिलेकाहीँ कल्पना गर्थेँ– नामको अगाडि डा. झुन्ड्याउँदाको दिनको अनुभूति कस्तो हुन्छ होला ? सम्झँदा मात्रै पनि रोमाञ्चित हुन्थ्यो मन ।

Advertisement

बेला–बेलामा गाउँ जाँदा पनि मेरा गुरुहरूले सोध्ने गर्थे, ‘पीएचडी कहिले गर्ने दीपक ?’
आमाले सोध्थिन्, ‘बिहे कहिले गर्छस् ?’ म आमालाई भन्थेँ, ‘कति वर्षको भएँ र, बल्ल ३० त हुँदै छु ! अब दुई वर्षपछि बिहे गराैँला ।’
आमा मेरा साथीहरूको उदाहरण दिन्थिन्, ‘फलानाले बिहे गर्यो । छोराछोरी पायो । म भने सुनेको नसुन्यै गर्थेँ ।’

हुन पनि आठ कक्षा फेल भएको श्यामले यत्रो उन्नति गर्यो । काठमान्डुमा घर बनायो । ‘ए’ लेभलको ठेकेदार भयो ! हरि, आईए पास गरेपछि कोरिया गयो । पाँच वर्षमा एक करोड बोकेर आएछ ! गाउँ जाँदा सबैलाई एकसरो कपडा पनि लगिदिएछ । गाउँभरि चर्चा छ उसको ।

एसएलसी गरेपछि जिम्वालको छोरी पटाएर भागेको विमललाई केही समयपछि ससुराले नै अमेरिका पठाएछन् ! १० वर्षमा गाउँ आउँदा उसको छुट्टै चर्चा चुलियो । दुई–चारवटा घडेरी सहरमा जोडेछ । राजनीतिक दलसँग पनि गज्जबको सम्बन्ध गाँसेछ । पार्टीलाई १० लाख सहयोग गरेको भनेर खादा ओढाएर सम्मान पनि गरेछन् ।

ऊ गाउँको चिया पसलमा बस्दा मात्रै पनि उसका पछाडि २०/३० जनाको ओइरो लाग्छ । वरिपरि मान्छे झुम्मिन्छन् । उसको सबैले वाहवाही गर्छन् । फलानाको छोराको प्रगति हेर त ! भनेर बूढाहरू आफ्ना छोराछोरीलाई उनीहरूकै उदाहरण दिन्छन् ।

आफू भने गाउँ जाँदा एउटा चकलेट धरी लिएर गएको हैन । पहिला–पहिला त चकलेट ल्याएको होला भनेर गाउँका केटाकेटी झुम्मिन्थे, अहिले त नजिक पनि पर्दैनन् !

म दुई–चारवटा कलेजमा पढाउँछु । महिनाको ४०-५० हजार कमाउँछु । पढाइमा गाउँभरिकै अब्बल मान्छे म ! यदाकदा आफ्ना सर्टिफिकेटहरू नियाल्छु । सर्टिफिकेटले पनि मलाई गहिरो गरी नियालिरहेको जस्तो लाग्छ । अरू जे–जसो भए पनि अहिलेसम्म सर्टिफिकेटलाई अन्यायचाहिँ गरेको छैन मैले ।

एक दिन मेरा एकजना गुरुसँग भेट भयो । गुरुको कहानी अझै रोचक थियो । गुरु पनि ‘पीएचडी’ होल्डर । दुःख गरेर पढेछन् । पीएचडी गरेछन् । युनिभर्सिटीमा पढाए, निकै लामो समय ।

जीवनभरि कमाएको पैसाले चार आना जग्गामा एउटा घर बनाएछन् । काक्ताली परेर हो कि के हो, एकपटक युनिभर्सिटीको रेक्टरसम्म पड्काएछन् । दुर्भाग्य, खाँदै नखाएको विष लागेछ !

अख्तियारले त्रिशूल छाप लगाइदिएछ । मुद्दा–मामिला र जेल, हरे ! अलि–अलि कमाएको पैसा पनि सकियो । इज्जत पनि गयो ।

एउटी छोरी पढाउनै पर्यो । त्यसमाथि प्रोफेसरकी छोरी । डाक्टर बन्ने मन गरिछन् । त्यही घर पनि बेचेर गुरुले छोरीलाई पढाएछन् । जीवनभरि डेराको बास !

छोरीले पढाइसकेपछि बल्लतल्ल ३० हजारको जागिर भेटिछन् । पढाउँदा लगभग एक करोडजति सकिएछ । पढाउँदा बेचेको जग्गाको मूल्य अहिले दुई करोड पुगिसकेको रहेछ ! तर, कमाइ ३० हजार ! यिनै कुरा सुनाउँदै थिए मेरा ‘पीएचडी’ गुरु । म गुरुको कुरा सुनेर दुःखी भएँ ।

मैले पनि पीएचडी सकेँ । अहिलेसम्म पनि बोर्डिङ स्कुलमै पढाउँदै छु । यदाकदा बोर्डिङ स्कुलकै मास्टरहरू खिसी गर्छन् । स्कुलका सञ्चालक अभिभावक बैठकमा भन्छन्, ‘हेर्नुस्, चानचुने मास्टर राखिएको छ र ! उहाँ ‘पीएचडी’ गरेको मान्छे ।’ अभिभावक दिवसमा मञ्चमा उभ्याएर परिचय गराउँछन् र खादा लगाइदिन्छन् । म अमिलो हाँसो हाँस्छु, फिस्स । सायद, अभिभावकहरू पनि सोच्दा हुन्– यसले कस्तो पीएचडी गर्यो ?

आफ्नो पढाइ आफैँलाई घाँडो भएपछि एक दिन बानेश्वरबाट गोंगबु गएँ बाइकमा । टाढा जानुको एउटै उद्देश्य थियो, कसैले नचिनोस् । गोंगबुको फोटो स्टुडियोमा पनि मान्छेको उस्तै भिड ! लाइनमै बस्नुपर्ने भयो । यताउति प्ल्याकपुलुक हरेर पकेटबाट मास्क निकालेर मुखमा लगाएँ । लाइनमा उभिएँ ।

मेरा अगाडि एकजना भद्रपुरुष पनि लाइनमा उभिएका थिए । उनको अगाडि एकजना महिला थिइन् । ती भद्रपुरुषको कद–काठी देख्दा कताकता चिनेजस्तो लाग्यो ।

मैलै मुखको मास्क अझै माथि तानेँ नचिनुन् भनेर । ती भद्रपुरुषले पनि केही माथि मास्क ताने । सायद, उनको विचार पनि त्यही थियो क्यार ! पालो आयो । उनको पछाडि म नै परेँ । सन्जोगले दुवै एकैचोटि फोटो खिच्न स्टुडियोमा पस्यौँ ।

फोटो खिच्दा मास्क त हटाउनैपर्यो । फोटो खिच्ने मानिसले ती भद्रपुरुषलाई मास्क खोल्न आग्रह गर्यो । उनले अप्ठेरो मानेजस्तो गरे । अन्कनाए पनि ।

फोटो खिच्ने मान्छेले भन्यो, ‘दाइ, मास्क लगाएको फोटो अमेरिकाले मान्दैन त ! मास्क खोल्नुस् ।’

उनले विस्तारै मास्क हटाए र पुलुक्क मतिर हेरे अनि अमिलो हाँसो हाँसे । मेरो मन अमिलिएर आयो । मैले पनि मुखबाट मास्क हटाएर त्यस्तै हाँसो फर्काएँ ।

आज डीभीको रिजल्टको दिन । म मेरो गुरुको नाम सर्च गरिरहेको छु ! By baaharakhari