October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

घनश्यामको चिन्ता

छोरीलाई विदाइ गरेपछि घनश्यामको घर सुनसान भयो ।

सबैका आँखामा आँसु थिए । कसैको पनि अनुहार उज्ज्यालो थिएन ।

कमलाकी आमा भित्र कोठामा बसेर सुकसुकाइरहेकी थिइन् । बुबा नुन खाएका कुखुराजस्तै झोक्राएर बसिरहेका थिए । सधैँ चकचक गर्ने र कहिल्यै भावुक नहुने भाइ पनि एकाहोरिएर बसेको थियो । उसका हातमा मोवाइल होइन, फ्रेममा रहेको दिदीको तस्वीर थियो । दिदीको तस्वीर हेरेर घरीघरी आँखाबाट बग्दै गरेका आँसु पुच्दै थियो । बेलुकी, साँझ र रातिसम्मै यो क्रम जारी रह्यो ।

अर्को दिनदेखि सबैको स्वभावमा बिस्तारै परिवर्तन देखिन थाल्यो तर घनश्यामको अनुहार भने उज्ज्यालो भएन । एकान्तमा झोक्राएर बस्ने र पिरलो गर्ने क्रम जारी रह्यो । लोग्नेको अवस्था देखेर श्रीमती चिन्तित भइन् । मनमनै भनिन्, ‘छोरीलाई कति धेरै माया गर्नुहुन्थ्यो । विवाह गरेर गएपछि मुटुको टुक्रा झिकेर फालेजस्तै भएको छ ।’

त्यसपछि उनले सम्झाउने प्रयास गरिन्, “चिन्ता नगर्नुस् । हामी आफैले राजीखुसीले दिएका हौँ क्यारे । छोरीको जात सधैँ माइतीमा बस्ने कुरा पनि हुँदैन । एक दिन त दिनै पथ्र्यो, दियौँ गई ।”

त्यसपछि उनी पनि भक्कानिएर रुन थालिन् ।

केही समय वातावरण स्तब्ध भयो ।

“लक्ष्मी म छोरीका पिरलोले दुःखी भएको होइन । छोरीको विवाहमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएको हुँ ।” धेरैबेरको मौनतापछि घनश्यामले भने ।

(गुल्मी) नेपाली साहित्य घर डटकमबाट