December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

सेतो कुकुर

हिजो थबाङबाट जलजला पहाड काटेर आएका थिए उनीहरू । जे गरे पनि सम्पर्कमा पुग्न सकेनन् । थकाइले लखतरान थिए, जेठमासको घामको मकै बिरुवाझैँ । राती सेतो कुकुर सम्पर्कमा पुग्न अझै पाँच घण्टा बढी हिँड्नु पथ्र्यो ।

Advertisement

आज भीरखोलाको गाउँमा बास बस्नु प¥यो ।

बिहानै तल गाउँतिर स्थिति केही शंकास्पद देखियो । पारि कर्तम गाउँतिर कुकुरहरू जोडजोडले भुकिरहेका थिए । यता नम्ली गाउँतिर पनि मान्छेहरू लाखापाखा लागेका देखिन्थे । कोही घाँस काट्ने निहुँमा, कोही दाउरा बटुल्ने बहनामा । मान्छेहरू एक दुई जना भएर फरक फरक बाटो गरी बनतिर हतारिरहेका देखिन्थे । त्यो हतारमा एउटा आतङ्क ब्याप्त थियो ।

“आज गाउँमा केही गडबड छ जस्तो छ ।” एक जनाले शङ्का ब्यक्त गरे ।

“पुलिस अप्रेशन छ कि क्या हो ?” अर्कोले थप्छन् ।

“केही बुझेर मात्र जानु पर्ला ।” दुबैको निचोड हुन्छ ।

रुखका छायाँमा आफुलाई लुकाएर गाउँतिर आँखा गाडे । वारिपारिको डाँडातिर आँखा केन्द्रित गराए । घरआँगन, गोठटहरो, बाटाघाटा, पाखापखेरा, थुम्काथुम्की– सबैतिर एक एक गरी चियाउँदै लगे, मृग ढुकेका शिकारीका आँखा बिछ्याए जसरी । केही देखिन्न ।

“ड्याङ… ड्याङ” दुई फायर गहिरो आवाज सुनियो । यो आवाज राइफलकै हो । चिने, आवाजबाटै ।

उनीहरुको शङ्का प्रमाणित भयो । दुबिधा रहेन । गाउँमा पुलिस आएछन् । धुम्म थियो बादल ओढेको आकाश । मौसमले भीरपाखा पनि चिसिएका जस्ता देखिन्थे । टाढा कतै भाले बासेका आवाज तीखो गरी कानमा ठोकियो । तल खोला पनि चिसो सास फेरेझैँ गरी सुसाउँछ– स्वाँऽऽऽ ।

“ला खतम…. सम्पर्कमा नपुगिने भो अब ।”

“तर जसरी पनि पुग्नै पर्छ । एकदमै इमर्जेन्सी चिट्ठी छ, चौबिस घण्टे ।”

“अनि आगोमा हामफाल्ने दुस्साहस गर्ने ?”

“उपाय आउला केही ।”

“कसरी ?”

“क्रान्तिकारीहरू अप्ठ्यारोमा पनि हतास हुँदैनन् ।”

मधुरो आवाजमा छलफल गरे दुबैले ।

नम्ली गाउँको माथिल्लो डाँडामा तड्कारो आवाज सुनियो ।

“ठोक ठोक… स्साले भाग्यो भाग्यो ठोक ।”

ड्याङ ड्याङ ड्याङ आवाज आयो । गाउँले पहिरनमा एक जना युवा कान्लेभीरमा हामफाल्दै डौडेको देखियो । काला बर्दीधारीहरू पिछा गर्दै राइफल पड्काउँदै लखेत्दै थिए । मृगलाई शिकारीले लखेटे जसरी कोही माथिबाट कोही तलबाट घेरा मार्दै पुलिसहरू जोड जोडले चिच्याइरहेका थिए । हावाको वेगमा ज्यानको प्रवाहै नगरी त्यो मान्छे फाल हान्दै डौडिरहेको थियो, मानौ कि त्यो कुनै जंगली जनावर हो ।

धन्न त्यो मान्छेलाई गोली लागेन । भीर, छाँगा र खोल्सा नाघेर बन्दुकधारीहरुलाई धेरै पछि पारिदियो । वरको नेटो कातेर बन्दुकको नजरबाट अलप भइहाल्यो ।

आहारा नपाएका शिकारी कमिलाझैँ काला बर्दीधारीका लस्कर गाउँतिर सोझियो । केही बेरपछि ओझेल परेको गाउँबाट धुवाँको मुस्लो देखियो । कालो नीलो धुँवाको मुस्लो बटारिँदै आकाशको बादलसित मिसियो । यो धुवाँ मानव वस्तीको कुनै घरमा आगो लगाइएको दावानलबाट निस्किएको थियो । एउटा ग्रिनेड बिष्फोटको आवाजले तल खोला हुँदै पारिका पखेरामा आतङ्कमिश्रित तरङ्ग फैलायो । स्वाइय गर्दै जंगलका रुखहरू पनि सर्सराए । कुकुर भुक्न छाडे । भाले बास्न छाडे । महिला र केटाकेटीको चिच्याहट अझ भनुँ दुःखदपूर्ण आर्तनाद जोडजोडले सुनियो । जंगलका चराचुरुङ्गी पनि गाउन छाडे ।

केही मुन्तिरको झाडीमा खास्य्राक खुस्रुक चाल सुनियो । त्यो मान्छेकै चाल प्रष्ट थियो ।

दुबै जना सतर्क भए । रुकस्याकको ग्रिनेड हातमा लिए । आफ्नो ज्यानलाई स्याउलासँग सेपेर लुकाए । वरपर हेरे । सशंकित भए । आपसमा आँखाहरू साउती गरेर बोले– ‘के हो ?’ नियालेर हेरे । बुझे, कोही घाँस काटिरहेको थियो । चिने, मनमाली आमा पो रहिछिन् । अनुहार खुसीले उज्यालियो ।

ओहो ! ढुङ्गा खोज्दा देवतै मिल्यो । हराएको मृगपाठाले आमा पाउँदाकोझैँ उत्साहित भए, पुलकित भए दुबै । मनको डर पनि कता भाग्यो भाग्यो ।

“उहीँ गएर बुझौँ ।” कानेखुसी गरे दुबैले ।

केही नजिक पुगेर ढुङ्गाले संकेत गरे । त्रसित मनमाली झस्किइन् ।

उसै त बन्दुकको कर्कस आवाजले परिवेश आतंकित नै थियो । सन्त्रास ब्याप्त थियो । हत्केलाले संकेत गरे, “यता आऊ ।”
उनीहरुको बीचको दुरीमा टाढाबाट देखिने नाङ्गो भाग काटेर भाडीतिर आइन् ।

भाडीबीचमा चिलबाट त्रसित चल्लाजस्तै एकै ठाउँमा जम्मा भएर सुस्तरी बोल्न थाले ।

“आम्मै ! कताबाट आयौ बावुहरू ?”

“जरुरी काम थियो । यतै रोकिनु पर्ने भयो आमा ।”

आमाले वरिपरि आँखा डौडाइन् । चारो टिप्न लागेका ढुक्कुर जसरी चनाखो भइन् ।

“आज नजाऊ बावु नजाऊ… मारिहाल्छन् ।” मनमाली आमैले सुझाइन् ।

“कोही साथीलाई समाए कि ?”

“खै, त्यस्तो ता था पाइनँ ।” गाउँतिर आँखा फर्काउँदै मनमाली आमैले भनिन्– “बिहानै अँध्यारोमै गाउँ घेर्न आ‘का थे, अघि भर्खरै गोली हान्दै लखेटेका थिए नि, त्यो ता सहरको क्याम्पस पढ्ने माझघरे माइलाका छोरा हुन् । अस्तिको दिन आएका थिए, गाउँमा नयाँ मान्छे देखिनै हुन्न… कस्ता राक्षसहरू ।”

मनमालीका आँखामा अब सन्त्रासभन्दा पनि आक्रोश मडारिएको थियो ।

पारिको गाउँमा कुकुर जोडजोडले भुक्न थाल्यो । केहीबेरपछि काईँकाईँ गर्दै कुकुरले दर्द र त्रासको आवाज निकाल्यो । लाग्यो, मान्छे रुपका कुकुरले अर्को कुकुरलाई झम्टिरहेछ ।

ढोका फोडिएको जस्तो आवाज पनि आयो । भाँडाकुँडी फाल्दा आएको खात्ल्याङ् खुत्लुङ आवाज पनि कानमा ठोकियो । सबले सास रोकेर त्यो आवाज सुनिरहे । दाँत किट्छन् । मुट्ठी कस्सिन्छ । मानौँ भर्खरै जलाइएको घरको दावानल छातीभित्रबाट ओकलिहेछन् ।

“बावुहरुलाई भोक लाग्यो होला ।” मनमालीले गादोबाट केही पोका खोलिन् र भुटेको मकैको खाजा हातमा राखिन्, “खाऊ बावु ।”
दुबैले खाए, कुरुम कुरुम । यस्तो बेला खाजा पनि रुचेन । मुखबाट खाजा चपाएर भिजाउने रस नै आएन । छिरेन घाँटीदेखि तल । पोका खल्तीमा कोचे । र, भने, “आमै, डिएचक्यु आज नपु¥याई नहुने जरुरी पत्र छ, के गर्ने होला ?”

सोँचमग्न देखिइन् आमा । निधार खुम्चाइन् मानौँ अगाडि कोही छैनन् । भर्खरै चेत खुलेको मान्छेलेझैँ निधारको गाँठो फुकाइन् र भनिन्, “चिन्ता नलेऊ बावु” अझ उत्साहित भइन्, केही संकोच मिसाएर बोलिन्, “सुर्ता मान्दैनौ भने त्यो पत्र मलाई देऊ … म गर्न सक्छु त्यो काम ।”

“हँ !” एकापसमा मुखाकृति दुश्यापान गरेपछि एउटाले भने, “के को सुर्ता लिनु ? तपाईलाई केही जोखिम हुन्छ भनेर…।”
“के को जोखिम ?” मनमाली आमा बीचैमा काटेर बोलिन्, “हामी दुरगाउँका मान्छे राज्यको बन्दुकमुनि त्यसै पनि जोखिममा छम् नि, अइले मारिने कि भोलि मारिने । देखेनौ र अघि भर्खरै त्यो निर्दोष स्कुलेलाई त्यस्तरी लखेटेका । यसै मर्ने उसै मर्ने, काम गरेरै मर्ने नि । पत्र देऊ मलाई, तिम्हरूभन्दा सजिलै काम गर्न सक्छु म ।”

पारि गाउँको धुवाँ पुट्याउन छाडेको थियो । मनमालीको आन्तरिक दृश्यमा धुवाँ अझै पुट्याइरहेथ्यो । मान्छे फाल हान्दै डौडिरहेथ्यो । पछिपछि बन्दुक हान्दै पुलिस अझै डौडिरहेझैँ लाग्यो ।

धेरै बेरसम्म योजनाबारे छलफल चल्यो । योजना मुताबिक मनमालीको हातमा पत्र थमाइयो ।

“यो डिएचक्युको पत्र हो, आज राती जसरी पनि सेतो कुकुर सम्पर्कमा पु¥याइदिनु होला । एकदमै सुरक्षित है आमा ।”

मान्छेका नाउँ, ठाउँका नाउँ, हिँडने बाटा, भेट्ने सेल्टर, कामका तरिका– सबै कोर्डभाषामा थिए । सेल्टरमा भएको सेतो कुकुरको रंगबाट त्यो सेल्टरको नामाकरण गरिएको थियो । त्यो खोलाबाङ्को गाउँ, जहाँबाट तल माडीखोला तरेर पारि घापागाउँ अनि उतै कतै जानुपथ्र्यो डिएचक्यु जान ।

“चिन्ता नलेऊ” मनमालीले बाचा दिइन्, “बरु मेरो ज्यान जाला, यो कागज दुष्टहरूको हातमा पर्न दिन्नँ म, तिम्हरू ढुक्क भएर फर्किनु ।”

आपतको बादलले घेरिएका दुई युवाका अनुहारमा कृतज्ञताको मुस्कान कोरियो । मनमनै भने, ‘धन्न्य आमा, धन्न्य जनता, महान् जनता ।’

छुट्नेबेला मनमालीका आँखा एक पटक त्राहियाम बनेको गाउँतिर घुमे । फेरि दुई युवातिर फर्केर मुस्कुराइन्– “निर्धक्क होऔ, काम बन्छ, बरु तिम्हरूनिकै ख्याल राखेर फर्किनु । लौ छुट्टिम् अब, धेरैबेर बस्नु ठीक छैन ।” मनमालीले सासै सासमा भनिन् ।

ती युवा माथिको डाँडाबाट ओझेल नपरुञ्जेलसम्म मनमालीले हेरिराखिन् । त्यसपछि घाँसको भारी कसिन् र गाउँतिरको बाटो समाइन् ।

गाउँ छिर्ने गौँडामा पुलिसहरूजम्मा भएका देखिए । सिनो लुछेर घाम तापिरहेका गिद्धहरुझैँ झुम्म परेका थिए । एक जनाले सोध्यो, “एई बूढी कताबाट आइस ?”

पुलिसको बेतुकको सवाल । घाँसको भारी देख्दा देख्दै पनि ।

“घाँस काटिकन ।” निडर तर स्वाभाबिकतामा बोलिन् ।

“आतंककारीलाई खाना त पुराइनस् ।”

“आफ्नै पेट भर्न त पुग्दैन, काँ अरुलाई खाना दिनु ?”

“उतातिर कोइलाई देखेनस ?”

“अहँ ।”

“अघि रगत चुहाउँदै डौडेको केटा कतै मरेको त देखेनौ ।” अर्को पुलिसले थप्यो ।

“अहँ ।”

“स्साले बाँच्न त बाँच्दैन त्यो, दुदुई गोली खाको छ, त्यतै कतै खोल्सामा ढलेछ होला ।”

मनमालीको मन चिसियो । तर अनुहारमा केही संकेत समेत देखाइनन् ।

“भारी बसाल ।” फेरि अर्को बन्दुकधारी बन्दुक सोझाउँदै बोल्यो ।

“गाईलाई कुँडो पकाउन हतार छ ।”

“बसाल भन्या ।” अलि च्याँट्ठिएर बोल्यो, “भनेको मान्दैनौ ?”

मनमालीले बाटोको भितामा भारी बसालिन् र अनुहारको पसिना रुमालले पुछेर खुईँय थकाइको सास फेरिन् । यो अशिष्टता र अपमान सुनेर उनी अभ्यस्त थिइन् ।

“खै हात उठा” बन्दुकधारी बन्दुककै भाषामा बोल्यो । शरिरभरि खानतलासी लियो । काखी, कुम, गादोभित्र, सानो झोला, अगाडिबाट पछाडिबाट सबैतिर छामे । पटुकी पनि छामे तर पटुकीभित्रको पेटिकोटको डोरीमा बाँधिएको सानो कागज छामिएन । तलासकारी पुलिस हाकिमको अघि गएर टनक्क तन्कियो, “केही छैन सा‘प ।”

“केही छैन ? घाँसको भारी हेर ।” दोस्रो आदेश ।

डोरीले कसक्क बाँधिएको घाँसको भारी फुकाउन लगाइयो । ओल्ट्याई पल्ट्याई घाँसको मुठा मुठा हेरियो । मनमालीलाई भित्र भित्रै रीसको पारो चढ्यो । तर शान्त र स्थिर भइन् । मुखभरि आएको गाली पनि मनमै रोकिन् ।

दिनभरि अप्रेशनी बुटमुनि गाउँ सन्त्रस्त भई बस्यो । अनि साधारण गाउँलेमनका दिन पनि । त्यस दिन साँच्चै नम्लीगाउँ अप्रेशनभित्र कैद थियो । मान्छेका त कुरै छाडौँ मानौँ हावा पनि पुलिसको आदेशमा बहनु पथ्र्यो । साँझ थुर्पालेकमाथि घाम रातो भइसक्यो । धापालधुरीको छायाँमा नम्लीगाउँ अघि नै छोपिएको थियो । पारि गोलबाङमाथिको ह्वामाधुरीमा रातो घाम भाग्ने हतारमा थियो । तर पुलिस भागेनन् गाउँबाट । जङ्कोट जाने बाटोमा क्याम्प खडा थियो ।

“जसरी नि जानै पर्छ ।” मनमालीले दृढ अठोट गरिन् । हातमा एउटा बोरा उठाइन् । क्रुसले बुनेको ऊनको फूलबुट्टेझोला भिरिन् । सरासर बाटो लागिन्, त्यही बाटो जहाँ पुलिस तैनाथ थिए ।

केरकारका धेरै असान्दर्भिक प्रश्नले घेरिइन् । पुलिसलाई सहज र स्वाभाबिक जवाफ दिइन् । “जङ्कोट पसलमा तेल लिन जानु छ ।” कडा खानतलासी पछि उनलाई छाडे । सरासर पाइला चालिन्, बाटै बाटो । हाङ्गाको(भीर) बाटोलाई एकैसासमा पाइलामा गाभिन् । अँध्यारो हुनु बाँकी रहेकोले फुपाज्युको घरमा अल्मलिइन् । झिसमिसे हुनाबितिकै त्यहाँबाट पनि बाटो लागिन् । केही पर झमक्कै अँध्यारो भयो । बनहरगाउँमा कल्याङबल्याङ चर्को थियो । मनमालीले चिनिन् । त्यो कोलाहल पुलिसहरुकै हो । जङ्कोट डाँडामा टर्चका लामा लामा प्रकाशले रातलाई छेडिरहेको थियो । उनलाई थाहा थियो, त्यो पनि पुलिसहरुकै अप्रेशन हो ।
सिँगो परिबेश त्रासभित्र बाँधिएको थियो । वरपरको वाताबरण रातभित्र ग्वाम्ल्वाङ्ग छोपिएको थियो । आकाशका तारा बादलले छोपिएका थिए, आतंकले छोपिएको गाउँजस्तै । फाट्टफुट्ट पानीका थोपा खस्न थाल्यो । औधी चिसो थियो मौसम । एक हात अगाडिको वस्तु नदेखिने चुक पोखिएझैँ अँध्यारो रातमा मनमालीले छामछुम छामछुम गर्दै पाइला चाल्न थालिन् । उनले आफ्नो मनको माली आफैलाई सम्झेर मुटु दरो पारिन् । मुलबाटो छाडेर टासीबाङ् बनको बाटो भएर माथि ओङ्बाङ् छेडा निस्कने योजना तय गरिन् ।

भूगोलको रुपरेखा उनको दिमागमा प्रष्ट उभियो, त्यो अँध्यारोको समयमा पनि । “त्यो ओङ्बाङ् छेडा काटेपछि फेरि उतापट्टि ओरालो, खनियाँको बोट, अझ तल खरेनी, बनमारा अगाडिको खोल्सा, अनि थोरै बायाँतिर लागेपछि चिउरी रुखनिर त हो सेतो कुकुर सम्पर्क ।”– मनमनै सोँचिन् । बिरालोको चालमा अगाडि बढिन् । एकपटक काखीमा च्यापिएको पत्रलाई पनि छामिन् । निर्धक्क भइन् “ठीकै छ ।”

हातखुट्टा टेकेर सुस्तरी ओङ्बाङ छेडा नजिकै पुगिन् । अगाडिको अवस्था बुझ्न करिब पाँच मिनेटजति त्यहीँ बसिरहिन् । आफूलाई जमिनमा सुताएर मूलबाटो र वरिपपरिको भूगोललाई क्षितिजमा पारेर स्थिति बुझिन् केही गतिबिधि देखिन्छ कि भनेर । शिपालु शिकारीझैँ वरपरको ठाउँमा कान बिछ्याइन् । केही छैन भन्ने निक्र्यौल गरेपछि माथिल्लो भितामा सेपिएर बाटो काटिन् । पल्लोपट्टि पुुगेर फेरि पछाडि फर्किइन् र जाँच गरिन्, कोही पिछा गर्छ कि भनेर । पन्ध्र बीस पाइला तल पुगेपछि लामो सास फेरिन्, ढुक्कताको सास ।

तल माडीखोला गाउँको आतंकलाई चिरेर स्वाँ गरी सुसायो । खोलाबाट आएको चिसो हावाले मनमालीको शरीरमा ताजापन भरिदियो । परको धापाल भीरमा घोरलहरूस्याक स्याक गर्न थाले ।

निछाम्मै अँध्यारो । बाटोको एक धर्सो समेत पनि देखिन्न । मनमाली अभ्यस्त थिइन् बाटोसँग । हात खुट्टाको चालले सब थम्याउन सक्थिन् । यहाँनेर बुटा छ । खाल्डो छ । त्यसपछि घुम्ती । छाँगानेर ठुलो ढुङ्गा । ओरालै ओरालोपछि अलिक तेर्सो । सब थाहा छ उनलाई ।

बारी कुनाको भिता पखेरामा पहिलो स्याल करायो । त्यसपछि सबैतिर कराउन थाले । मनमालीलाई यस बेला ती स्याल पनि साथीझैँ लाग्यो । जंकोट डाँडामा एक फायर राइफल पड्क्यो । चकमन्न रातमा सारा भूखण्डभरि सोरर्र आवाज प्रतिध्वनित भएर मनमालीको अगाडि आतंक भुक्न थाल्यो । उनलाई नटोक्ने कुकुर भुकेजस्तै लाग्यो । ‘पुलिस यता छैनन् र त बन्दुकले उपस्थिति जनाइरहेछन्’ मनमनै भनिन् । बेहिच्कचाहत अगाडि बढिन् ।

करिब पौने घण्टापछि घर नजिक पुगिन् । ‘यहीँ त हो सेतो कुकुर सम्पर्क’ आफुले आफैलाई भनिन् । पुलिसका मान्छे घर ढुकेर बस्न सक्छन् भनेर दश मिनेट जति वरपर नियालेर बसिन् । कान थापिन् । केही नभएको निक्र्यौल गरेपछि सदाझैँ घर पछाडिको खतप्वालको डोरी तानिन् । जुन डोरीबाट शिरानीको लोटामा घण्टी बज्ने ब्यवस्था मिलाइएको हुन्थ्यो । त्यसपछि सम्पर्कसूत्रका परिचित र सम्बन्धित मान्छे आयो भन्ने अवस्था बुझिन्थ्यो । खात्राकु खुत्रुक बज्यो । भित्र कोही उठे । सेतो कुकुर एक पटक मात्र भुकेर नजिक आयो । कुकुरले गन्धबाटै आफ्नै मान्छे चिन्यो । पुच्छर हल्लाउँदै मनमालीलाई चाटेर अपनत्व जनाउन थाल्यो, मानौँ यस्तो बेला कसरी आयौ भनिरहेछ ।

“आबुई !… कसरी आउनुभो बज्यै ?” ढोका खोल्दै सान्नानीले भनिन् ।

“डिएच क्यु लाने चिट्ठी… ।” मनमाली सासै सासमा बोलिन् ।

कानेखुसीमा छोँटो भलाकुसारी चल्यो । पानी पर्न अलि बाकलिँदै गयो ।

“अंकलहरू पर कोटल भीरमुनिको ओडारमा छन्, कोही आए त्यहाँ ल्याउनु भन्याछन् ।”

“जाम् जाम् अहिल्यै पुगम् त्यहाँ ।”

उनीहरू छामछुम गर्दै कोटल भीरमुनिको ओडारतिर लागे ।

(दाङ) नेपाली साहित्य घर डटकमबाट