October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

अनुसाशनको खोजी

करिब एक महिना हुन थालिसक्यो अनुसाको सपरिवार मुसिकोट बजारमा देखिन छाडेको । उनीहरू कहाँ छन ? के गरिरहेका छन् ? कसैलाई केही पत्तो छैन । उनिहरू मुसिकोट बजारबाट यसरी हराएको दिनदेखि सबैभन्दा बढी चिन्ताले मनमायालाई सताइरहेको छ । यही चिन्ताको कारण हिजोआज मनमायालाई रातमा निद्रा र दिनमा भोक लाग्नसमेत छोडेको छ । आफ्नो प्यारी श्रीमतीको यो हालत देखेर धनेको मनमा पनि पर्नु पीर परिरहेको छ ।

एउटा कापीको पानामा मनमायाले अनुसाको सपरिवारको फोन नम्बर राखेकी थिई । तर अनुसाको फोनबाहेक अरु कसैको फोन लाग्दैनथ्यो । अनुसाको फोनमा घन्टी त जान्थ्यो तर उठ्दैनथ्यो । तै पनि फोन उठिहाल्छ कि भनी हरेक पल मनमायाले अनुसाको फोनमा पटकपटक डायल गरिरहन्थी । तर फोन कुनै हालतमा उठ्दैनथ्यो । मनमायाको लोग्ने धनबहादुरले पनि नयाँनयाँ नम्बरबाट अनुसाको फोन नं. डायल गरिरहन्थ्यो । तर जुनसुकै फोन नम्बरबाट डायल गरेता पनि अनुसाको फोन मरिगए उठ्दैनथ्यो ।

“कति हो त्यसबाट लिनु पर्ने ?” राति बाह्र बजेतिर धनेले मनमायालाई सोध्यो ।

“ढुकुटी खेलेको सात लाख, बैंकको किस्ता तिरीदिएको दुइ लाख, अनि घर बनाउँदा सापटी लगेको एकलाख गरी दशलाख ।” मनमायाले अनुसासँगको लेनदेनको सबै हिसाब लोग्नेलाई सुनाई ।

“यति ठूलो रकम पो रहेछ । मान्छे चिनेर कारोबारो गर्नुपर्ने । कतै ठग्ने त होइनन् यत्रो पैसा !”धनबहादुरले शंका व्यक्त ग¥यो ।

“ठग्न त नपर्ने हो । हेर्दा त यिनीहरूको परिवार मेहिनेती र इमान्दार नै देखिन्थे ।” मनमायाले भनी ।

“खै मान्छेको मनभित्र को पस्न सक्छ र ? यो जमानाका मान्छेहरू कसैलाई विश्वास गर्न सकिदैन । इमान्दार भएको भए त फोन उठाउनुपर्ने । सके ता उतैबाट फोन गरेर सञ्चो बिसन्चोको कुराकानी गर्नुपर्ने । यस्तो ठाउँमा बसेका छौँ भन्नु पर्ने । अब सुतौं । बेकारमा अनिदो किन हुने ?” धनेले निदाउने कोशिस ग¥यो ।

“सुत्नलाई निद पनि त लाग्नु प¥यो नि ।” मनमायाले आँखा मिच्दै भनी ।

“साँच्चै ठगे भने त घर बेचेर डेराको बास त हुने होला । छोरा छोरीलाई राम्रो ठाउँमा पढाउने कुरा पनि त्यत्तिकै हुने होला । हाम्रो त दशा नै लाग्ने भयो । अरुहरूले जस्तै छलछाम र चारछब्बीस गर्न पनि हामीले जान्दैनौँ । फेरि यस्तो कुकर्म गर्नु पनि भएन…।” धनबहादुर निकैबेर गुनगुनायो ।

“कहीँ कतै उजुरी पो गर्न सकिन्थ्यो कि ?”मनमायाले सम्भावनाको खोजी गरी ।

“के प्रमाण छ र हामीसँग उजुरी गर्नलाई । उजुरीको कुराबाट हामीलाई केही फल पर्नेवाला छैन । बरु एकचोटि तिनीहरू कहाँ बस्छन् ? के गर्छन् पत्ता लगाएर पैशा असुल्ने केही उपाय खोज्दा राम्रो होला ….। धनबहादुरले भन्यो ।

“त्यै त राम्रो तरिकाले तिनीहरूबाट केही कागज प्रमाणसम्म बनाउन सके त राम्रै हुन्थ्यो । मनमायाले जुक्ति निकाल्यो । यो जुक्तिले सायद तिनीहरूको मन केही सितलो भएर आयो ।

“खै तिम्रो त्यो हात यता ल्याउ त …।” रातको एक बजेतिर धनवहादुरले मनमायाको हातमा प्रेमले चुम्न खोज्यो ।

“मेरो जिउ सञ्चो छैन आज मसँग नछोइयौ है ।” मनमायाले आफ्नो समस्या राखी ।

“धेरै चिन्ता गर्ने होइन बूढी । जस्तो पर्छ त्यस्तै तर्छ ।” धनबहादुरले छात्तिमा हिम्मतको न्यानो राप भर्दै अर्काेतिर कोल्टे फे¥यो । दुबै लोग्ने स्वास्नी गुनगुनाउँदै दुई बजिसकेको थियो । एकै क्षणपछि दुबै लोग्ने स्वास्नी स्वास्वा गर्दै निदाए ।

मनमायाको जुक्ति अनुसार एक हप्तापछि धनबहादुर दाङ जिल्लाको तुल्सीपुर बजारमा पुग्यो । अनुसाको परिवार तुल्सीपुरमा बस्छन् रे भन्ने सुनेको भरमा धनबहादुर उनीहरूको खोजीमा निस्केको हो । तर यति ठूलो शहरमा उनीहरूलाई कहाँ कसरी पो पत्ता लगाउनु ? हिड्दै गर्दा संयोगले कुनै ठाउँमा जम्का भेट हुन सके मात्रै नत्र तिनीहरूलाई पत्ता लगाउने उसँग कुनै भरपर्दाे शुत्र केही पनि थिएन ।

पहिलो दिन धनबहादुर हावाको तालमा शहरको गल्लीगल्ली यता र उता गरिरह्यो । “रुकुमको मुसिकोट बजारबाट झरेका अनुसाको परिवारहरू कता बस्छन् होला ? तपाईले कतै चाल पाउनु भएको छ कि ?” तुल्सीपुर बजारमा भेटीएका र अनुसाको बारेमा थाहा पाउन सक्ने थुप्रै सम्भावीत मान्छेहरूलाई धनबहादुरल यो प्रश्न सोध्यो । तर सबैबाट उसले “थाहा छैन” भन्ने जवाफको अरिरिक्त अरु केही पाउन सकेन । “लुकेर बसेका मान्छेहरूलाई यस्तो हावा तालमा हिँडेर पनि कहाँ भेट्न सकिएला । बेकारमा दुःख पाइरहेको छु मैले ।” साँझ पख निराश हुँदै उ तुल्सीपुरको एउटा होटेलमा बास बस्यो ।

अर्काे दिन पनि धनबहादुरले दिनभरि नै तुल्सीपुरको बसपार्क आसपासमा यसरी नै भौतारिई रह्यो । तर पनि उसलाई अनुसाको परिवार बस्ने थातथलोको केही संकेत प्राप्त भएन । साँझपख ऊ बसपार्कतिरकै अर्काे होटेलमा बास बस्यो ।

अनुसाको परिवारलाइ पत्ता लगाउन रुकुमबाट तुल्सीपुर झरेको आज तेस्रो दिन भइसकेको थियो । बसपार्कको छेवैबाट पातुखोला निरन्तर बगिरहेको थियो । केही बर्ष पहिला यो ठाउँमा पातु खोला एक्लै थियो । वरपर जताततै केवल पातुखोला बग्ने बगर मात्रै थियो । तर आजभोलि तुल्सीपुरको त्यो बगर सकिदै गएको छ । बगर वरिपरि ठुलाठुला बजार तथा बस्तीहरू बढेका छन् । पातुखोलालाई साँगुरीएर बग्नु परिरहेको छ । यति घना बस्तीमा अब कहाँ खोज्ने अनुसाको परिवारलाई ? धनबहादुर क्रमशः अन्योलमा पर्दै थियो । तै पनि उसले आज अन्तिम प्रयास गर्ने निर्णय ग¥यो ।

बिहानको खाना खाइसकेपछि उ पातुखोलाको बगरमा तल र माथि गर्न थाल्यो । बालुवा चाल्ने, गिट्टी फोर्ने गरिब निमुखा मानिसहरू यत्रतत्र छरिएर आआफ्नै सुरमा काम गरिरहेका भेटीन्थे । त्यसरी बगरमा काम गर्नेहरूमा रुकुमतिरबाट झरेकाहरू पनि निकै भेटिए । धनबहादुरले उनीहरूलाई अनुसाको बारेमा सोधपुछ गर्दै यता र उति गर्दै थियो । तर अझसम्म पनि उसले केही पनि पत्ता लगाउन सकिरहेको थिएन ।
यतिबेला धनबहादुर अनुसाको परिवारले देरा लिएर बसेको घर आसपासमै भौतारिइरहेको थियो । अर्थात अनुसाको परिवार त्यही पातुखोलाको पारिपट्टि रहेको घना बजारबीचको एउटा घरमा डेरा लिएर बसेका थिए । उनीहरूको त्यहाँको बसाइँ खासै सहज नभएकाले उनीहरुले त्यो ठाउँमा कठिन अवस्थामा दैनिकी गुजारेर बसेका थिए ।

तुल्सीपुरको त्यो घरमा डेरा लिएर बस्नुपूर्व अर्थात रुकुमको मुसिकोट बजारमा बस्दाको समयमा अनुसाको लोग्ने बलबहादुर खुब सिपालु मिस्त्री थियो । विशेष गरी घर तथा भवनहरू निर्माण गर्ने कला थियो उसको । अनुसाले पनि मुसिकोट बजारमै एउटा फेन्सी पसल चलाउथी । उनीहरुका अनुराग नामको एक छोरा र आरती नामकी एक छोरी थिए । यसरी अनुसाको जम्मा चार जनाको सुखी परिवार थियो ।

वरिपरिका सवैले अनुसा र बलबहादुर दुई लोग्ने स्वास्नीको खुब तारिफ गर्दथे । किनकि घर बनाउने राम्रो सीप भएको कारण बलेले बजारमा सजिलै काम पाउँथ्यो र प्रशस्तै पैसा कमाउँथ्यो । उसको कमाइले अधिकृततहको कर्मचारीको तलबलाई उछिन्थ्यो । देश छोडेर विदेशिएकाहरूको भन्दा उसको कमाइ बढी भएको देख्दा विदेश जान तम्सेका युवाहरूले समेत उसको कमाई देखेर ¥याल चुहाउँथे ।
यस्तो राम्रो कमाइको कारण विस्तारै अनुसा र बलबहादुरको जीवनस्तर माथि उठ्दै जान थाल्यो । मुसिकोट बजारमा उनीहरूको आफ्नै दुई तलाको राम्रो पक्कि भवन बन्यो । बलबहादुरले अनुसालाई बाइकको पछाडि राखेर बजार घुमाउन थाल्यो । उनीहरूले आफ्ना छोरा र छोरीलाई पनि महङ्गो बोर्डिङ स्कुलमा भर्ना गरेर पढाउन थाले ।

यसरी रुकुम जिल्लाको जिल्ला सडरमुकाम मुसिकोट बजारमा बलबहादुर मिस्त्री र अनुसा एक स्थापित नाम बन्न पुग्यो । यति राम्रो कमाइ भएर पनि बलबहादुर र अनुसाको खासै चित्त बुझिरहेको थिएन । उनीहरूको मनमा यो भन्दा अझ धेरै कमाइ गरेर धनी र सम्पन्न बन्ने महत्वकांक्षा जागृत भइरहेको थियो । तसर्थ बलबहादुरको मनमा अमेरिका गएर पैसा कमाउने भावनाको जन्म भयो । यो कुराले अनुसालाई पनि खुशी तुल्यायो । दुबै लोग्ने स्वास्नीको सल्लाह मिलेपछि उनीहरूको घरमा बलबहादुरको अमेरिका जाने योजना तयार भयो ।
अमेिरका जानलाई सानो तिनो पैसाले सम्भव थिएन । यसको लागि लाखौँ रुपैयाको आवश्याकता पर्दथ्यो । तर पनि उनीहरूले यो पैशा जम्मा गर्ने आँट गरे । उनीहरूले मुसिकोट बजारको घरलाई कृषि विकास बैंकमा धितो राखे । चिने जानेका आफन्तीहरू कसैलाई बाँकी नराखेर सबैबाट ऋण लिए । मुसिकोट बजारमा थुप्रै लघुवित्त बैकहरूले महिला समुहहरू बनाएर ऋण प्रवाह गर्दै आएका थिए । तिनै बैंकहरुले बनाएका महिला समुहहरूमा बसेर ती लघु वित्तहरूबाट पनि सकेको रकम निकाले । मनमायाले खेलाउँदै गरेको ढुकुतीमा मिसीएर ढुकुतीको सात लाख रुपैया पनि हात पारे । यसरी ठूलो रकम जम्मा गरेर बलबहादुर अमेरिकाको भिसा लगाउन काठमाडौं गएको थियो ।

काठमाडौं गएर बलबहादुरले आफूलाई अमेरिका पठाइदिने दलाललाई भेट्यो । आफूजस्तै अमेरिका जानका लागि त्यो दलालको सम्पर्कका अरु पाँचजना युवाहरू पनि थिए । त्यो दलालले सबैलाई भारतको बाटो हुँदै अमेरिका पठाउने गरेको भन्दै बलबहादुर लगायतका छ जनालाई पनि भारतको नयाँ दिल्लीतर्फ पठाइदियो । जब बलबहादुर लगायत ती पाँचजना युवाहरू भारतको नयाँ दिल्ली पुगेर अलपत्र परे त्यसपछि मात्र बल्ल उनीहरूलाई थाहा भयो कि त्यो जाली दलालले उनीहरूलाई ठगेको रहेछ । यसरी अलपत्र परेका बलबहादुरको समुहलाई भारतमा क्रियाशील मुलप्रवाह अखिल भारत नेपाली एकता समाजले उद्धार गरी काठमाडौ‌ं पठाइदिएको थियो । उनीहरूले काठमाडौ आएर त्यो ठग दलाललाई आफ्नो क्षमताले भ्याएसम्म खोज्ने कार्य गरे तर त्यो दलाल कहि कतै पनि भेटिएन । यसरी मुसिकोट बजारमा चर्चा कमाएका अनुसा र बलबहादुरको जीवनमा उल्तो गन्ती सुरु भयो ।

अमेरिका जाने सपनामा सारा भएभरको पैसा यसरी ठगलाई खुवाएपछि बलबहादुरलाई मुसिकोट बजारमा फर्किनलाई सारा ढोका बन्द भयो । उसले सोच्यो, “म अब मुसिकोट फर्केर त्यहाँका मानिसहरूसँग कुन लाजले मुख देखाउने । यति ठूलो ऋण तिर्नलाई अब मसँग तत्काल केही उपाए पनि छैन । त्यसैले सबै परिवारलाई लिएर तुल्सीपुरतिर कतै लुकेर वस्दा नै ठिक होला …..।” बलबहादुरको यही सोच र योजना अनुसार नै अनुसाको सपरिवार रातारात मुसिकोट बजारबाट तुल्सीपुर बजारतिर झरेको थियो । तर तुल्सीपुरमा पनि उनीहरूलाई चैनले बाँच्न सक्ने बातावरण भएन । त्यसैले अनुसाको सपरिवार तुल्सीपुरबाट पनि भागिसकेका थिए । उनीहरू भागेर कहाँ गए ? कसैलाई केही थाहा थिएन । वास्तबमा अनुसाको परिवार अब नेपालमा नै थिएन । उनीहरू यतिबेला भारतको गोवातर्फ लागिसकेका थिए ।

यता धनबहादुरले तुल्सीपुरको पातुखोला आसपासमा उनीहरूको खोजी गर्दागर्दै साँझ परिसकेको थियो । पातुखोलाको बगरमा बालुवा चाल्दैगरेको एउटा मान्छेले अनुसाको परिवारलाई राम्ररी चिन्दो रहेछ र उसले उनीहरू बस्ने कोठा समेत थाहा पाएको रहेछ । उसैले नै उनीहरू बस्ने घर देखाइदिएपछि धनबहादुर खुशी हुँदै अनुसाको परिवारले डेरा लिएर बसेको घरमा पुग्यो । अपशोच ! त्यहाँ पुग्नेवित्तिकै धनबहादुरको खुशी तासको महल जस्तै क्षणभरमै फुस्सा भयो । तेस्रो दिन सम्मको अनवरत प्रयासपछि बल्लबल्ल अनुसाको परिवार वस्ने घर पत्ता लागे पनि उसको यो प्रयास त्यत्तिकै खेर गयो । किनकी उनीहरू बसेको कोठामा ताल्चो लागेको थियो ।

“नेपालगञ्ज आफन्तलाई भेट्नु छ । दुइ चार दिनमा फर्किन्छौ भनेर सपरिवार यहाँबाट हिँडेका हुन । त्यसपछि आज दश दिन भइसक्यो फर्केका छैनन् ।” घरबेटीले धनबहादुरलाई यति भनिसकेपछि धनबहादुर निरास भएर तुल्सीपुरबाट मुसिकोट बजार फर्केर आयो । उसले मनमायालाई तुल्सीपुर पुगेर फर्कदासम्मका सबै कुराहरू कुनै पनि नछुटाइ सुनायो ।

अनुसाको परिवारको खोजीमा गएको भन्ने कुरा थाहा पाएकाले मुसिकोट बजारका थुप्रै मानिसहरूले अनुसाको बारेमा सोध्न धनबहादुरलाई भेट्न घरैमा आए । आउने जति सबैले अनुसालाई दुई लाख देखि पाँचलाखसम्मको ऋण लगानी गरेका रहेछन् । यसरी मुसिकोट बजारभित्र अनुसाको पचास लाखको आसपासमा ऋण देखियो । अनुसा भागेको थाहा पाएपछि मुसिकोट बजारमा खुलेका लघुवित्त बैकहरूले अनुसाले लगेको सम्पूर्ण ऋण समुहमा बसेका महिलाहरूबाट असुल्न थाल्यो ।

आत्मनिर्भर लघुवित्त बैंकले अनुसाको ऋण असुल्ने क्रममा महिला समुहमा बसेकै कारण मनमायाले पनि उक्त बैकलाई फगतमा चालिसहजार तिर्नु प¥यो । यसरी अनुसाको कारणले मनमायाको शिरमाथि फगतमा दशलाख ऋणको बोझ थपियो । यही ऋणको कारण मनमायाको घर परिवारमा दुःख र तनावले बास गर्नपुग्यो । सँगै रहँदा बस्दा मनमाया र अनुसा घनिष्ट छिमेकी बन्न पुगेका थिए । भइपरि आउँदा एकले अर्कालाई हृदय खोलेर सहयोग गर्ने गर्थे । यति राम्रो सम्बन्धमा यस्तो दरार पैदा होला भन्ने कुरा मनमायाले सपनामा पनि देखेकी थिएन । तर आज उही नजिकको छिमेकी अनुसाले धोका दिँदा मनमायाको छाती छियाछिया भइरहेको छ ।

हिजो आज मनमायालाई दैनिक फोन आइरहन्छ । कसैले व्याज माग्ने गर्छन त कसैले साँउव्याज दुवै । आसपासमा रहेका साहुहरू यसरी ऋण असुल्नको लागि दैनिक जसो घरैमा आइपुग्छन् । घरमा मसिनो मिठो खान नपाउँदा र राम्रो लाउन नपाउँदा छोरा छोरीहरू थुस्किन्छन् । फगतमा आफूले यति ठूलो ऋणको भार बोक्नुपरेको तनावले विस्तारै मनमायाको अनुहार फुस्रो हुँदै गइरहेको थियो भने शरीर दुब्लाउँदै गएको थियो ।

“यो दुःख र ऋणको तनाबमा बस्नुभन्दा हामी बस्दै आएको यो घर बेचिदिऊँ बूढी । आखिरीमा यसै दुःख उसै दुःख सर्वहारा सुकुम्बासी भएर बसौँला ।” एकदिन बलबहादुरले मनमायालाई यस्तै प्रस्ताब राख्यो ।

बलबहादुरको यो प्रस्ताबमा मनमायाको न सहमति थियो न असहमति । मनमायाले खाली गहँभरी आँसु लिएकी थिई । किनकि मनमायाले जीवनमा बाँच्नुको कुनै अर्थ देखिकी थिइन । उसले त केवल पासो लगाएर मर्नलाई उपयुक्त समय कुरिरहेकी थिई ।

दिउसोको बाह्र बज्दै थियो । घरमा मनमाया एक्लै थिई । केटाकेटीहरू स्कुल गइसकेका थिए । धनबहादुर पनि घर विक्रीको लागि ग्राहक जुटाउन निस्किसकेको थियो । अब भने मनमायाले मृत्युवरण गर्नको निम्ति एकदम उपयुक्त समय पाई । दराजबाट उसले नाइलनको डोरी निकाली र सुनसान घरको टाँडीमा रहेको बलोमा बाँधी । झुन्डिनुको अनुभव कस्तो हुन्छ ? कसरी झुन्डिने ! एक तकले उभिएर मनमायाले टाँडीमा बाँधेको डोरी हेरिरहेकी थिई । ठिक यसैबेला दराजमाथि राखिएको मनमायाको मोबाइलमा फोनको घण्टी बज्यो । “सायद कुनै साहुले पैसा माग्नलाई गरेको हुन पर्छ । यत्रैसित्ति उठाउँदिन । मर्ने बेलासमेत सुख नदिने भए यि साहुहरूले । अब यो मोबाइल सोबाइल फुटालिदिन्छु । अब के चाहियो मलाई यो मोबाइल ।” यही कुरा सोचेर मनमायाले दराजको माबोइल हातमा लिई ।

मोबाइलमा घन्टी बजि नै रहेको थियो । मनमायाको आँखा मोबाइलमा आएको नम्बरमा प¥यो । त्यो नम्बर देखेर मनमाया अचम्ममा परी । किनकि त्यो नम्बर विदेशी थियो । “विदेशबाट मलाई फोन गर्ने को होला ? एकक्षण उठाइहाल्नु प¥यो ।” यत्ति सोचेर मनमायाले फोन उठाई ।
“हेलो ! को बोलेको ?”

“हेलो, मलाई चिन्नु भएन ? म अनुसा के ।”

“अनुसा !” मनमाया अचम्ममा परी उसलाई यो सपना हो कि विपना हो जस्तो लाग्यो ।

“हो म अनुसा, सञ्चै हुनुहुन्छ ?” अनुसाले सन्चो विसञ्चो सोधी ।

“सञ्चै छु । अनि तपाईहरूलाई कस्तो छ नि ? मनमायलाले पनि आफ्नो तर्फबाट सञ्चो विसन्चो सोधी ।

“यता पनि सबै ठिकै छ । परिस्थितिले गर्दा भाग्दै हिँड्नु पर्ने बनायो । नरिसाउनु होला है मनमाया ।” अनुसाले भनि ।
“किन रिसाउनु र ? आजभाेलि कहाँ के गर्दैहुनुहुन्छ ?” मनमायाले सोधी ।

“कसैलाई नभन्नुहोला । हामी इन्डिय आएका छौँ । मुसिकोटमा हाम्रो ऋण धेरै छ । त्यै ऋण तिर्नलाई हामी इन्डियमा काम गरिरहेका छौँ । आजभोलि हामीलाई राम्रो काम मिलेको छ । र कमाई पनि राम्रै भइरहेको छ । तपाई मेरो सुख दुःखको छिमेकी तपाईको गुण मैले विर्सेको छैन । पहिला तपाईको ऋण चुक्ता गर्ने सल्लाह गरेका छौँ । अहिलेलाई तपाईँको नाममा दुइलाख आई एम ई. गरिदिएकी छु । पैसा निकालेर मलाई फोन गर्नुहोला । बाँकी महिनामहिनामा पठाइदिउँला ।” यति भनी अनुसाले मनमायालाई आइ एम ई नम्बर टिपाइदिई ।

“मलाई ता के गरुँ कसो गरुँ भन्ने भइरहेको थियो । पैसा पठाएर ठूलो काम धान्नु भयो ।” मनमायलाले अनुसासँग खुशी प्रकट गरी ।
“केही चिन्ता नमान्नु होला । बेलाबेलामा फोनबाट कुरा गर्दै गरौँला । अहिले फोन राखौँ है मनमाया ।” यति भनी अनुसाले फोन राखी ।
अनुसासँगको यो फोन कुराकानी मनमायालाई भ्रम हो कि साँचो हो जस्तो लागिरहेको थियो । यो कुराकानीले मनमायाको शरीरभरि महिनौँदेखि फैलिदै आएको दुःख र तनाव क्षणभरमै नामेट भएर गयो । भर्खरै मात्र झुन्डिएर मर्नलाई टाँडीको बलोमा आफैले बाँधेको नाइलनको दोरीमा मनमायाको नजर पुग्यो ।

“छि मैले यो के गर्न लागेकी हुँला । एकदिन न एक दिन त सुखको दिन फर्किहाल्छ नि । साँच्चीकै म मरिहालेको भए त जिन्दगीमा यति धेरै माया गर्ने लोग्नेलाई र आफैले जन्माएका छोराछोरीलाई झन ठूलो विपदमा पार्ने रहेछु । जीवनमा जस्तो सुकै आपत परोस् तर शत्रुको हाँसो गराउनलाई म किन मर्ने ?” आफुलाई आफैले प्रश्न गर्दै मनमायाले टाँडीमा बाधेको नाइलनको डोरी फुकाई र आफ्नी लोग्नेलाई फोन लगाई ।
“हेलो बूढा कहाँ छौ तिमी ?”

“म बजारमै छु । भाउ मिलेको छैन । उसले हामीले भनेको मुल्य हाल्न मानिरहेको छैन । बाह्र लाख भए हाल्छु भन्छ । उसले भनेको यो मूल्य त धेरै कम पो भयो त । के गर्नेहोला बूढी ?”

“अब हामीले घर बेच्नु पर्दैन बूढा । हाम्रो घरमा हामी आफै बस्ने हो ।”

“घर बेच्नु पर्दैन रे ! होइन के भन्छ्यौ हँ तिमीले ?” मनमायको कुराले धनबहादुर अचम्ममा प¥यो ।

“हो बूढा अब हामीले घर बेच्नु पर्दैन । अहिले भर्खरै मलाई अनुसाले इन्डियबाट फोन गरेकी थिइ । दुईलाख पठाइदिएकी रहेछे । अनि बाँकी पैसा महिनामहिनामा पठाइदिने कुरा गरेकी छे । अनि यता सुन त बूढा, यो कुरा अहिलेलाई कतै नभन्ने पनि भनेकी छे । अब छिटै घर आइहाल ।” मनमायाले लोग्नेसँग फोनबाट अपार खुशी प्रकट गर्दै बोली ।

“यिनीहरू त साह्रै इमान्दार पो रहेछन् । मलाइ त यिनीहरूले पैसा देलान भन्ने आस मरिसकेको थियो । कसै कसैलाई त इमान्दार हुँदाहुदै पनि परिस्थितिले बेइमान हुन बाध्य

बनाउँदो रहेछ । अनुसाको हामीलाई ठग्ने नियतभन्दा पनि बाध्यता रहेछ ।” धनबहादुरले अनुसाको प्रसंसामा बोल्यो ।
“ह्याँ फोनमा पैसा सकिन लाग्यो । जति कुरा गरे पनि घरमै गरौँला । फोन राख । अनि ए बूढा यता सुन त आउँदाखेरी बजारबाट एककिलो लौका पनि लिएर आए है । साँझको तरकारी केही छैन ।” मनमायाले लोग्नेलाई फोनबाटै अह्राई ।

“अब घर नै बेच्न नपर्ने भए के को लौका र ? एउटा लोकल कुखराको भाले नै लिएर आउछु नि ।” धनबहादुरले भन्यो ।

“हुन्छहुन्छ जे मन लाग्छ त्यै ल्याउनु ।” यति भन्दै मनमायाले फोन राखी ।

अनुसाको इमान्दारीताको कारण मनमायाको परिवारमा अपार खुशी छाएको छ । थाहा छैन अनुसा इमान्दार नभइदिएको भए मनमायको जीवन कति भयवह र दर्दनाक हुन्थ्यो होला । यति बेला यो धर्तीमा मनमायाको शरीर टाँडीको बलामा बाधिएको नाइलनको डोरीमा तुर्लुङ्ग झुन्डिइरहेको हुने थियो । (पश्चिम रुकुम) नेपाली साहित्य घर डटकमबाट