नक्कली भारतीय नोटसहित भैरहवाबाट दुई भारतीय नागरिक पक्राउ


भैरहवा–५ सय दरका नक्कली भारतीय ७० हजार रुपैयाँसहित रुपन्देही प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–१२ मा नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीवार राति ९ः०० बजेको समयमा प्रहरीटोलस्थित एक चिया पसलबाट नक्कली नोटसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
समाचार श्रोतका अनुसार, प्रहरीटोलस्थित एक चिया पसलमा उनीहरुले चिया पिएपछि दिएको भारतीय नोट शंका लागेपछि चिया पसलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक बिसी सहितको प्रहरी टोली तत्काल त्यहाँ पुगेर खनतलासी गर्दा नक्कली नोट बरामद भएको हो ।
पक्राउ पर्नेमा उत्तर प्रदेश, भारत सोहरतगढ, सिद्धार्थनगरका २१ बर्षका अभिषेक कसौधन र महाराष्ट्र, भारतका २४ बर्षका यश बाउसाहेब ब्राम्हण नामका भारती नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा प्रबक्ता कृष्ण कुमार चन्दले बताए ।
उनीहरुको साथबाट ५ सय दरका १४० थान नक्कली भारतीय नोट, विभिन्न कम्पनीका २ थान मोवाइल र २ थान भारतीय आधार कार्ड बरामद भएको छ । दुवै जनालाई रुपन्देही जिल्ला अदालतमार्फत कारवाही प्रकृया अगाडी बढाउँदै थप अनुसन्धान भैरहेको चन्दले जनाए ।








प्रतिकृया दिनुहोस्