May 29, 2026, Friday
२०८३ जेष्ठ १५ शुक्रबार

बजेटप्रति रूपन्देहीको निजी क्षेत्र उत्साहित

Advertisement

भैरहवा– संघीय सरकारले प्रस्तुत गरेको बजेटप्रति रुपन्देहीको निजी क्षेत्र उत्साहित देखिएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ बजेट प्रस्तुत गरेका छन् । बजेट निजी क्षेत्र मैत्री भएको भन्दै यहाँका उद्योगी–व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Advertisement

केही व्यवसायीले कार्यान्वयन पक्ष मा आशंका गरेका छन् । तर, अधिकांश व्यवसायीले बजेट सही कार्यान्वयन भए यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउने जनाएका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष तथा भैरहवाका व्यवसायी व्यवसायी कृष्णप्रसाद शर्माले बजेट राम्रो भए पनि कार्यान्वयन पक्ष राम्रो भएको बताए ।

‘निकासीजन्य उद्योगका वारेमा बजेटले स्पष्ट पार्न नसके पनि निजी व्यवसायीको मनोबल उठाउने खालको छ’, उनले भने, ‘महिला, युवा, साना लगानीकर्ता लगायतका उद्यमशिलतालाई प्रोत्साहित गर्न खोजेको छ, यो सकारात्मक हो ।

शर्माले पर्यटन क्षेत्रहरुलाई जोडेर एकीकृत रुपमा पूर्वाधारको विकासमा जोड दिएको र निजीक्षेत्रको आत्मबिश्वास बढाउने खालको रहेको जनाए । ‘बजेटको कार्यान्वयन पक्षको चुनौतीपूर्ण भने छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा अर्घाखाँची सिमेन्टका संचालक राजेशकुमार अग्रवालले बजेट निकै सकारात्मक निजी क्षेत्रमैत्री रहेको बताए । ‘शेयरबजारदेखि उद्योग व्यवसाय चलायमान बनाउनेसम्मका योजना बजेटमा समेटिएको छ,’, उनले भने, ‘यो बजेट बितरणमूखि नभएर विकासमुखी छ ।’

अग्रवालले विभिन्न बस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेजीले चोरी पैठारीलाई रोक्ने जनाए । ‘बजेट बैज्ञानिक खालको भएकाले म धेरै उत्साहित छु’, उनले भने, ‘भौतिक पूर्वाधारमा बढि केन्द्रित र विकास बजेट बढेको छ । यो राम्रो पक्ष हो ।’

औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तिमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको, विद्यमान एघार तहको भन्सार दरलाई सात तहमा सीमित गरेको, हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको, भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको लगायतका प्रावधनालाई रुपन्देहीका व्यवसायीले सकारात्मक रुपमा लिएका छन् ।

पञ्चकन्या समूहका महाप्रबन्धक देबेन्द्र साहुले बजेटले विकास निर्माणदेखि पर्यटन क्षेत्र र भौतिक पूर्वाधारदेखि उद्योग व्यवसायी सवैलाई सकारात्मक ढंगले समटेको बताए । ‘यो बजेटले सवै प्रदेशलाई सन्तुलित ढंगले विकास निर्माणबाट समेत समेटेको मैले पाएको छु’, साहूले भने, ‘मैले अहिलेसम्म सुनेको बजेटमध्ये उत्कृष्ट लागेको छ । कार्यान्वयन पक्ष राम्रो हुनुपर्छ ।’

बजेटले गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउने, पर्यटन क्षेत्रको विकास, कसरी खर्च बिनियोजन गर्ने ? आर्थिक स्रोत कसरी संकलन गर्ने ? लगायतका सवै विषयबस्तुलाई समेटेको उनले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले समग्रमा बजेट स्वागतयोग्य र उद्यमी व्यवसायीको पक्षमा रहेको जनाए । ‘बजेटले उद्यमी व्यवसायीलाई उत्साहित बनाएको छ’, आचार्यले भने, ‘व्यवसायीलाई विभिन्न छुट तथा सुविधा दिने भनिएसँगै कर संकलन कसरी बढाउने गर्ने ? भन्नेम ापनि बजेटले उपाय खोजेको छ ।’

चेम्बर अफ कमर्श, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले बजेट धेरै उत्कृष्ट रहेको बताइन् । मुलुकको भौगोलिक अवस्थादेखि सबै पक्षलाई राम्ररी अध्ययन गरेर बजेटमा समेटिएको उनले जनाइन् ।

‘महिला, कृषक, युवा, निजी लगानी क्षेत्र सबैलाई समेटर बजेटमा सम्बोधन गरिएको छ’, उनले भनिन्, ‘बजेट कार्यान्वयन हुनेमा पनि म विश्वस्त छु ।’ अहिलेको विद्यमान कमजोर अर्थतन्त्रको वेलामा पनि सबैपक्षलाई अनुकूल हुने गरि बजेट ल्याउनु भनेको आफैमा सामान्य कुरा नभएको उनले बताइन् ।