May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

खेतीपातीको सिजनकै बेला मल अभाव

Advertisement

भैरहवा– मुलुकमै धेरै अन्नबाली उत्पादन हुने लुम्बिनी प्रदेशमा खेतीपातीको सिजन सुरु हुने बेला रासायनिक मलको अभाव खड्किएको छ । प्रदेशस्थित तराईका जिल्लामा अहिले धानको बीउ राख्ने बेला भएको छ । बिउ राख्नु अघि यहाँका किसान मलको खोजीमा भौतारिन बाध्य छन् । उनीहरु अहिलेदेखि मलको जोहो गर्न सहकारी र स्थानीय बजार धाइरहेका छन् । अधिकांश सर्वसाधरण सरकारी अनुदानको मलको प्रतीक्षामा देखिन्छन् । तर, अझैं मल वितरणको सुरसार छैन ।

Advertisement

खेतीपातीका बेला मल, बीउ र सिंचाइको प्रवन्ध नहुँदा सधैं किसान चिन्तित छन् । यसपटक पनि त्यही नियती दोहोरिएको छ । सबैको भान्सामा साँझ–बिहान नभई नहुने खाद्यान्न उत्पादन गर्ने किसान मल, बीउ र पानीका लागि भौतारिनु नयाँ समस्या भने होइन् । प्रत्येक वर्ष जेठ लागेपछि बाँझो बारीतर्फ टोलाएर पर्याप्त मलको अपेक्षा गर्छन् । सम्बन्धित सरोकारवाला रासायनिक मल उपलब्ध गराउने आश्वास बाँड्छन् । तर, खाँचो परेका बेला मलका लागि सिमापारीका भारतीय बजार धाउनुपर्छ । त्यहाँ नपुग्नेहरु भन्सार छलेर भित्र्याइने मलमा निर्भर हुन्छन् । त्यस्तो मलको मूल्य चर्को हुन्छ ।

रुपन्देहीको मर्चवार लगायत ग्रामीण क्षेत्रका बासिन्दाले पम्पसेटबाट पानी तानेर भए पनि धानको बिउ राख्ने तयारी गरेका छन् । सिंचाई नहुँदा पीडित स्थानीयलाई यही बेला मलको अभावले पिरोलेको छ । ‘चाहिए जति मल कहिल्यैं पाइएन,’ कोटहीमाई–५, का ७६ वर्षीय प्रेम हरिजनले भने, ‘नेपाल सरकारले दिने मल कुर्यो–कुर्यो पाइँदैन । अनि भारत गएर मल ल्याउनु पर्छ ।’ सिमावर्ती भारतीय बजारबाट मल किनेर ल्याउँदा सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए । ‘खेतीपाती गरेर वर्षमा ६ महिना गुजारा चलाउछौं,’ उनले भने, ‘नेताले खेति गर्ने मल र सिंचाई व्यवस्था गर्छौ भनेको वर्षौ भयो, अहिलेसम्म पूरा गर्न सकेका छैनन् ।’

बर्दियाको गुलरिया–५, सुहेलवाका रामबली थारु यस्तै तनावमा छन् । ‘धानको बिउ राख्ने बेला भइसक्यो,’ उनले भने, ‘ अहिलेसम्म कुनै जुगाड छैन ।’ जेठ पहिलो साताबाट मलको खोजीमा दौडधुप गरिरहेको उनले बताए । जगदम्बा सहकारी संस्थाका सदस्य उनी मलका लागि आफै सम्बन्धित ठाउँमा धाइरहेका छन् । प्रत्येक वर्ष यस्तै समस्या झेल्नु परिरहेको उनले बताए । जसोतसो धानको बिउ जोहो गरेको उनले बताए ।

‘धानको बिउ राख्न खेत तयार छ,’ उनले भने, ‘मल कहिले पाउने अझै टुङ्गो लागेको छैन ।’ मल, बिउ र सिंचाई अभाव सहेर उत्पादन गरिने अन्नबालीको उचित मूल्य नपाउँदा झन पीडा हुने गरेको उनले बताए । किसानले गरेको मेहनत परिश्रमको मूल्यांकन गरि उत्पादित खाद्यान्नको मूल्य तोक्न उनले माग गरे ।

लामो समयदेखि पानी नपरेका कारण बाँकेका किसान चिन्तित छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ । यही बेला खडेरीका कारण धानको बिउ राख्ने र खेत जोत्ने जस्ता काम थालिएको छैन । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ का किसान सोनु विकका अनुसार सिँचाइको असुविधाका कारण किसानहरू पूर्णरुपमा वर्षाको भरमा खेती गर्छन् । ‘अहिले खडेरी परेको कारणले कतै पनि खेत जोतिएको छैन । जबसम्म एकचोटि पानी पर्दैन, तबसम्म बिउ राख्न पनि सकिँदैन र जोताइको काम पनि सुरु हुँदैन’ , उनले भने ।

लुम्बिनी प्रदेशका रुकुम पूर्व बाहेक जिल्लामा राससायनिक मलको आवश्यकता पर्छ । प्रदेशका सिमावर्ती ६ जिल्लामा धेरै धान खेती हुने गरेको छ । ती जिल्लाका किसान प्रत्येक वर्ष मल, बीउ र सिँचाईका लागि तडपिने गर्छन् । सरकारले पनि बेलैंमा रासायनिक मल उपलब्ध गराउने आश्वासन दिने गरेको छ । निर्वाचनका बेला उम्मेदवारको मुख्य एजेण्डा पनि रासायनिक मल हुने गर्छ । तर, किसानलाई चाहिएका बेला मल पाइँदैन ।