November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

‘प्रकृति तिमिलाई हामी माया गर्छौं’

Advertisement

भैरहवा- प्रिय साथी प्रकृति लम्साल अब हाम्रो साथमा छैनन्
तर उनको सम्झना सधैं हाम्रो हृदयमा जीवित रहनेछ ।
उनको असामयिक निधनले हामी सबैलाई गहिरो पीडा पुगेको छ
र, यो क्षति शब्दहरुमा व्यक्त गर्न कठिन छ ।

Advertisement

हामीले सँगै बिताएका हाँसो, खुसी र अविस्मरणीय पलहरु
सधै अमिट रहनेछन्
उनको मायालु व्यवहार, साथ दिने स्वभाव
र, उज्यालो मुस्कानको सम्झना हामी कहिल्यै बिर्सन सक्दैनौं ।

हामी उनको आत्माको शान्तिका लागि प्रार्थना गर्दछौं
साथै, परिवारजनलाई यो कठिन समयमा
धैर्य र सहनशक्ति मिलोस् भन्ने कामना गर्दछौं
प्रकृति, तिमी हाम्रो स्मृतिमा सधैं जीवित रहन्छौं
हामी तिमीलाई माया गर्छौं र सधै सम्झिरहन्छौं ।
                       –तिम्रा प्रिय साथीहर तथा बाचमेटहरू

माथि उल्लेखित शब्दसहतिको श्रद्धाञ्जली भैरहवाकी प्रकृति लम्सालप्रति उनका साथीहरुले लेखेको हो । सोमबार रुपन्देहीको सिद्धार्थनगर–८ स्थित बैंक कोलोनीमा रहेको प्रकृतिको घरमा पुग्दा सबैजना भावुक थिए । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृतिसँगै अध्यनरत ५ जना साथी उनको घरमा आएका थिए । छोरीसँगै पढेका साथीहरु आउँदा बुवा सुनिल र आमा सरिता भावुक बने, सरिताले त आँसु थाम्नै सकिनन् । प्रकृतिको घरमा उपस्थित आफन्त र छिमेकीमा पनि सन्नाटा छायो ।

धेरैलाई प्रकृतिका साथीहरुले फोटोसहितको फेरेममा लेखेर ल्याएको श्रद्धाञ्जली पढ्दा भावविह्वल बनायो । प्रकृतिका साथीहरुले ‘तिम्रो मायालु ब्यवहार, साथ दिने स्वभाव र उज्यालो मुस्कान कहिल्यै विर्सिनौं, तिमीलाई हामी माया गर्छौं र सधैं सम्झिरहन्छौं’ लेखिएको श्रद्धाञ्जली फेरेम घरमा ल्याएका थिए । भावुक मुद्रामा रहेका प्रकृतिका साथीहरुले सरितालाई सम्झाइरहेका थिए । उनीहरु तनाव र भावुव देखिन्थे ।

प्रकृतिकी आमा सरिताले पटक–पटक छोरीका साथीहरुलाई तिमीहरुले जोगिएर पढ्नु भन्दै सम्झाइरहेकी थिइन् । ‘तिमीहरु जोगिनु, प्रकृति अब छैन । तर, तिमीहरुको सुरक्षा हामीलाई चिन्ता हो’, उनले भनिन्, ‘नानीबाबुहरु तेह्रौं दिनका दिन यहाँ आउनु है ।’ प्रकृतिको घरमा उनसँगै पढेका दुईजना छात्रा र तीजना छात्र आएका थिए । उनीहरु सबैजना रुपन्देहीका विभिन्न पालिमा बसोबास गर्नेहरु हुन् ।

कुराकानीका क्रममा उनीहरुले आफूहरु केही नबोल्ने बताए । प्रकृतिका बुवा सुनिलले उनीहरुको भनाई बाहिर आउँदा उता (ओडिसा)मा समस्या हुने भन्दै नबोल्न सम्झाए । आफ्नै छोरीसँगै एउटै कक्षामा पढ्ने साथीहरु अहिले दैनिक रुपमा घरमा आउने गरेको सुनिलले सुनाए । ‘छोरीका साथीहरु आउँदा सरिताका आँसु रोकिँदैनन्’, उनले भने, ‘यहाँ आउने छोरीका साथीहरुले सम्झाउँछन् । तर आँसु रोकिँदैनन् ।’ उनले विस्तारै आफूलाई सम्हाल्दै लगेको जनाए । ‘ओडिसामा अध्ययनरत जतिजना विद्यार्थी यहाँ आउँछन्, सबैलाई सरिता र मेरो एउटै भनाई रहन्छ– तिमीहरु जोगिएर पढ्नु ।’

फागुन ४ गते २० वर्षीया प्रकृतिको उनी अध्ययनरत कलेजको होस्टलमा शंकास्पद मृत्यु भएको थियो । छोरीको मृत्यु पछि बुवा सुनिल ओडिसा पुगेर प्रकृतिको पार्थिब शरीर भैरहवा ल्याएर फर्किएका थिए । उनको गत मंगलबार राति भैरहवाको स्वर्गद्वारी घाटमा दाहासंस्कार गरिएको थियो । प्रकृतिको मृत्युलाई लिएर नेपाल–भारत दुबै देशमा विरोध भए । भारतमा विभिन्न छानविन समिति बनेका छन् तर घटना अझै रहस्यमै छ । घटना घटेको दिन दिउँसो २ बजेर ५१ मिनेटमा प्रकृतिले आमा सरुसँग फोनमा कुराकानी गर्दै कलेजमा फेस्टिभल चलिरहेको र त्यही जाँदैछु भनेकी थिइन् ।

प्रकृतिले राति आउँदा ढिला हुन्छ होला भनेपछि आमा सरिताले फर्किएपछि म्यासेज छोड्न भनेको स्मरण गरिन् । तर, यत्तिकैमा कुरा टुंगिएको केही समयमा प्रकृतिले संसार छाडेको कुरा आयो । प्रकृतिको परिवारले अहिले न्यायको याचना गरेको छ । दोषीलाई कारबाही गर्न र कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा ग्यारेन्टी हुनुपर्ने उनीहरुको माग छ । ‘मेरो जस्तो अरु परिवारमा कसैलाई पीडा नपरोस्’, सरिताले पब्लिक कुरासँग भनिन्, ‘सरकारले पहल गरेर नेपाली विद्यार्थीको सुरक्षा ग्यारेन्टी गर्नुपर्छ ।’

प्रकृतिलाई उनी अध्ययनरत विश्वविद्यालयमा बी–टेक (मेकानिकल) तेस्रो वर्षमा पढ्ने २१ वर्षका आड्विक श्रीवास्तवले दुव्र्यबहार गरेको घटना थाहा पाउँदा परिवार झनै चिन्तित बनेको छ । पटक–पटक कलेज प्रशासनलाई जानकारी गराउँदा छोरीमाथि भएको दुव्र्यवहारबारे घरमा खबर नगरिएको विषयले परिवारलाई थप पीडा दिएको छ । त्यसैमाथि प्रकृतिको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले नेपाली विद्यार्थीहरुलाई गरेको दमनले बेचैन बनाएको छ । छोरीको उज्वल भविष्य देखेर बी–टेक पढाउन पठाए पनि एकाएक परिवारमा परेको बज्रपातले जीवनभर असैह्य पीडा थपिएको छ ।

तेस्रो वर्षमा अध्ययनरत प्रकृतिको आउने बैशाखदेखि पढाइ सकिँदै थियो । आफूहरुले वास्तविकता बाहिर आउने दिनको प्रतीक्षा गरिरहे पनि विश्वविद्यालयले घटनासम्बन्धी धेरै विषय लुकाइरहेको पीडित परिवारको गुनासो छ । ‘कलेजमा पुग्दा उल्टै आफूहरुलाई अप्रत्यक्ष रुपमा के डिमान्ड छ भन्ने किसिमाबाट कुरा आयो’, सुनिलले भने, ‘हामीलाई न्याय बाहेक केही नचाहिने बताए । अहिले पनि भन्छु, न्याय बाहेक केही चाहिँदैन ।’

प्रकृतिको मृत्युपछि शोकमा रहेका परिवार र आफन्तले कलेजमा नेपाली विद्यार्थीले सुरक्षित भएर पढ्न पाउने वातावरण अझै सुनिश्चित नभएको बताउँछन् । प्रकृतिको घरमा समवेदना दिन आउने उनका साथीहरुले खुलेर बोल्न सक्दैनन् । उनीहरुले कलेजले नेपाली विद्यार्थीहरुप्रति गर्ने व्यवहार राम्रो नभएको भन्दै भावुक कुरा गर्ने गर्छन् । यसले घटनाबारे सत्यतथ्य बाहिर आउनेमा परिवारमा आशंका छ ।

सुनिल र सरुका छोरी र छोरा थिए । छोरीको मृत्युपछि कक्षा ४ मा पढ्ने छोरालाई हेरेर उनीहरुले आफूलाई सम्हालीरहेका छन् । भैरहवाका स्थायी बासिन्दा उनीहरुले डेढ दशकदेखि काठमाडौंमा बसेर ब्यापार गर्छन् । खुशीसाथ दैनिकी अघि बढीरहेका बेला एकाएक छोरीको मृत्युले लम्साल परिवारलाई कहिल्यै नमेटिने घाउ लागेको छ । प्रकृतिको न्यायका लागि सरकारी तहबाटै पहल हुनुपर्ने परिवारको माग छ ।

प्रकृति मृत्यु प्रकरण: फेस्टिभलमा जान्छु भनेको केही घण्टामा अपत्यारिलो खबर’

प्रकृति लम्साललाई न्याय माग, भैरहवामा निकालियो र्‍याली

ओडिसाबाट ३०१ विद्यार्थी घर फर्किए

प्रधानमन्त्री र प्रकृतिका बुवाबीच फोनमा कुराकानी, सुनिलले भने– अब यस्ता घटना नहोस् भनेर राज्यले पहल गरोस्

भैरहवाकाे स्वर्गद्वारीघाटमा प्रकृतिकाे अन्त्येष्टि

भारतमा मृत्यु भएकी भैरहवाकी प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि