July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

व्यंग्य : साँचो गफ

शनिबारको महत्त्व जागिरेको निम्ति अत्यधिक हुन्छ, त्यसमाथि पनि मेरो निम्ति त महामहत्त्वपूर्ण, किनभने प्रत्येक शनिबार मलाई एक न एक मित्र वा नातेदारले ‘लन्च’को निम्ति ‘इन्भाइट’ गर्दछ ।

Advertisement

मचाहिँ भरसक मित्रहरूलाई नै यस शुभकार्यमा प्राथमिकता दिन्छु, किनभने नातेदारकहाँ खाँदा नातावादको दुर्गन्ध फिँजी गुटबन्दीले प्रश्रय पाउने सम्भावना र मानवतावादी भावनाको अवमूल्यन होला कि भन्ने त्रास मनमा सधैँ रहन्छ ।

Advertisement

आफ्नी श्रीमतीसहित मित्रकहाँ हमला बोल्न र पेट भर्न पाउनको अतिरिक्त तास (जुवाको निम्ति होइन, मनोरञ्जनको निम्ति नाम मात्रको बाजी लगाएर) खेलको निम्ति खेल्न म औधी रुचाउँदछु (प्रायसः सधैँ जित्नमा सफल हुन्छु, किनभने झेल अर्थात् हातको सफाइ ममा पूरा छ) ।

अब तपाईं नै हिसाब गर्नोस्, यो महँगीमा एक त आफ्नो चुल्होमा आगो जोर्न परेन, अर्को केही आर्थिक उपलब्धि पनि भयो ।

एउटा आपत् भने छ र त्यो हो बसभाडा । तर, त्यसका लागि म र मेरी श्रीमतीलाई चिन्ता छैन । कन्डक्टरले मसँग टिकटको पैसा मागे म श्रीमतीलाई ‘रेफर’ गरिदिन्छु र मेरी श्रीमतीसँग टिकटको पैसा माग्नुभन्दा उनको लावण्यको स्वाद लिनु नै कन्डक्टरलाई पर्याप्त हुन्छ ।

शहीदको ढोकाको बस कुराइ । अचेल यी बसहरूलाई पनि के भएको हो कुन्नि ? आधुनिक प्रेमिकाले प्रतीक्षा गराएझैँ क्युमा कुराई कुराई हैरानै पार्ने ।

जीवनको एकएक क्षण अमूल्य छ भन्ने ज्ञान त्यस बखत पहिलोपटक ममा आएकोले समय बिताउन एउटा पुस्तक स्टलतिर लागेँ । दराजमा राखेका पुस्तकहरूको ‘सिंहावलोकन’ यसरी गर्न थालेँ जसरी कुनै पुस्तकालयका अधिकृत सदस्यले पोजिसनका साथ दराजको पुस्तक केलाउँदछ ।

पसलेलाई असह्य भएछ । मजस्ता अरू धेरै भद्रजनको रिस मैमाथि पोख्दै बम्कियो, ‘होइन, कुन किताब चाहिएको हो तपाईंलाई ? किन्ने पनि हो कि हेर्ने मात्रै ?’

आफ्नो प्रतिष्ठा र बगलीको मर्यादा अक्षुण्ण राख्न मैले आफ्नो बौद्धिक क्षेप्यास्त्र प्रहार गरेँ, ‘हास्य व्यंग्यको ।’

मेरो रुचिमाथि उसले यसरी गन्हाउने मुख लायो जसरी चाउचाउ खान लागेका भद्रपुरुषको प्लेट हेरेर गँड्यौला सम्झी म होटेलमा मुख बिगार्दछु ।

उसले भन्यो, ‘त्यस्तो किताप मकहाँ छैन ।’ र, मेरो हातमा रहेको एउटा सानो कथाको किताप यसरी खोस्यो जसरी साँढेले निल्न आँटेको रायोको सागको मुठा वसन्तपुरको तरकारी पसलेले निःसंकोच खोसेर आफ्नो डालोमा राख्दछ ।

त्यस घटनालाई मैले पनि साग टप्काउने साँढेले झैँ नै सिरियसली टेक अप गरिनँ, किनभने गौशालाको बस त्यतिञ्जेल बिसौनीमा आएर उभ्भिसकेको थियो ।

बसमा बस्ने ठाउँ पैल्याउन सफल हुनु अचेल लोकसेवा आयोगको परीक्षामा सफल हुनुझैँ भइसक्यो । दुर्भाग्यले यदि तपार्ईं सोमतिलो र सभ्य भए त झन् सुनमा सुगन्ध ।

तर, मचाहिँ सधैँ उत्तीर्ण हुन्छु । किनभने, भगवान्ले ती दुई गुण वितरण गर्दा मेरा जिजुबाजेले ‘क्यु’ उभ्भिन इन्कार गरी नियमको उल्लंघन गरेका रहेछन् ।

आखिर रगत रगत नै हो, पुस्तौँसम्म लालित्य हस्तान्तरित भइ नै रहन्छ । अलि जंगली र पाखे हुनु सक्नुपर्दछ, बसमा ठाउँ नपाउने शंका नै रहँदैन । तसर्थ, नियमानुसार सफलताले मलाई नै अंकमाल गर्दछ ।

बस हिँडने घण्टी बजेपछि ५ महिलाहरू चढे । एउट खप्लक्के, अर्की च्याउँसी, अर्की छ्याकटी, अर्की अधबैँसे र अन्त्यमा एउटी आधुनिका । सबै विभिन्न मोडलका । एकको अवस्था, रहनसहन, पोसाक, भंगिमा अर्कोसँग पटक्कै मेल नखाने ।

खप्लक्के बूढीबाहेक अरू सबै पशुपति दर्शन गर्न हिँडेका रहेछन् भन्ने पत्ता लगाउन मलाई त्यति गाह्रो परेन, किनभने सबैको हातमा पूजासामाले भरिभराउ बास्केट थियो ।

साधारणतया शुक्रबार रातिको ‘डिनर’ गर्ने चलन मेरो घरमा छैन । शनिबारको सुखद प्रतीक्षा गर्दा मलाई भोक नै लाग्दैन । बेहान ९ बजेको थियो, तसर्थ अलिअलि भोक त लाग्ने नै भयो ।

भोक लागेपछि म ‘एब्स्ट्र्याक चिन्तन’ गर्न थाल्दछु र यो भोकझैँ नै रमाइलो हुन्छ । मनमनै ‘मान्छेलाई भोक किन लाग्छ ?’ भन्ने विषयमा रिसर्च गर्दै थिएँ, खप्लक्के बूढीको आर्तनाद सुनियो, ‘एक छिन खुट्टा उचालेर सिटमा राख्नुस्, मेरो साँचोको झुत्तो हिजो यही बसमा खसेको रहेछ, पाइहाल्छ कि ?’

बूढीको खलबल हावामा विलीन भयो, किनभने साँचो हराउनु यात्रुहरूको निम्ति कुनै चासोको विषय थिएन । आजको जमानामा जब प्रत्येक व्यक्ति स्वाभिमानी भइसकेको छ, बूढी मात्र अपवाद किन हुन्थिन् ।

बूढीले एकदमै तोड सहन नसकी भनिन्, ‘भएभरिका साँचो त्यसै झुत्तोमा थिए ।’

यत्तिकैमा च्याउँसीले आफ्नो उदगार हावामा पोखिन्, ‘साँचो पनि गजबकै चीज हो, पाउनेलाई फुसफास, हराउनेको सर्वनाश !’

उनको यो तुकबन्दी मिलेको कविता–दर्शनबाट म बडो प्रभावित भएँ । अर्की छ्याकटीले आफ्नो बस यात्राको अनुभव पोख्दै भनिन्, (सम्बोधन कसलाई गरेकी हुन्, यो मैले पैल्याउन सकिनँ) ‘पाइन्छ बा ! मेरो एउटा कानै नभएको थोत्रो खाली बास्केट त तीन दिनपछि यही बसमा भेट्टाएँ, साँचो त कसो पो हराउला ?’

बसको यस दिगो हुने वार्तालापको उपेक्षा गर्न नसकी ड्राइभरले गेयर चेन्ज गर्दै भन्यो, ‘आज कन्डक्टर फेरिएको छ, म हिजोको कन्डक्टरलाई सोधूँला, पाइएला, हराउन त नपर्ने हो ।’

हावा बर्ता भएर बाइस्कलको टिउब फुटेझैँ आफ्नो पेटमा धेरै बेरदेखि कुरा गम्स्याएर राखेकी च्याउँसीले भनिन्, ‘यो साँचोले नपिर्ने पनि कोही भएन, दिन्हौँ हराएकै छ, कहिले कट्टीमा घुसारेर तकिया मुनि खोज्न पुगिन्छ, कहिले धारामा छाडेर चर्पीमा खोज्न पुगिन्छ ।’

अर्की अधबैँसेले (नियमको प्रतिकूल गएर उनी चूप लागेको लाग्यै बसेको देख्दा पहिले त उनी लाटी पो रहिछन् कि भन्ने धारणा मैले लिएको थिएँ, तर पछि यो धारणामा संशोधन गर्न बाध्य हुनुपर्‍यो) भनिन्, ‘रिङमा हाले त हराउँदैन…बा ! यी मेरो त’ भन्दै हावामा रिङ घुमाउँदै सफल गृहिणीको उपाधिको दावा गरिन् ।

यतिन्जेल बस रत्नपार्क पुगेर बिसौनीमा उभ्भिएको थियो । अब पाँचै महिलाहरूमा प्रगाढ मित्रता र पारस्परिक सद्भावको अभिवृद्धि भइसकेको थियो, मानौँ युगौँदेखिका परिचित हुन् ।

अधबैँसेलाई खपिनसक्नु भएर आधुनिकालाई सोधी हालिन्, ‘छोराछोरी कति छन्, माइती कहाँ ?’

आधुनिकाको उत्तर सानो थियो (सम्भवतः उनी बोल्नुभन्दा काम गर्नुमा बढी विश्वास गर्दथिन्), ‘दुई छोरा दुई छोरी, डिल्लीबजार ।’
‘ठिक्क रहेछ, कति मिलेको ? अब पाउनु त हुँदैन । ओखती गर्नुपर्दछ ।’

यो उपदेशात्मक अनुरोध छ्याकटीको थियो । आधुनिकाले मौन समर्थन गरिन्, उनको मुख लाजले भुतुक्क भइसकेको थियो ।

एक हातले बसको डन्डा समोतकीले ‘स्लिभलेस ब्लाउज’ को वरदानस्वरूप उनका काखीका काला रौँ हावामा उडिरहेका थिए, विशुद्ध लामाको बोकेदारी कहिलेकाहीँ हावामा फरफराएजस्तै ।

छ्याकटीले केही इशारा गरिन्, आधुनिकाले आफ्नो धोतीको सप्कोले काखीलाई तीन सप्को दिएर टन्काइन् ।

खप्लक्केले विषयवस्तुलाई अर्को मोड दिँदै सोधिन्, ‘खसम के गर्नुहुन्छ नि ?’
‘ऐल्या वर्ष प्रमोसन पाउनुभयो, ना.सु. हुनुहुन्छ (यसो भन्दा उनी गर्वले राति भइन्, मानौँ ना.सु. उनका पति होइनन् अपितु उनै हुन्) ।
च्याउँसीले शंका उत्पन्न गरिन्, ‘अचेल के छ र प्रमोसन पाउन ? चाकडी गर्न जान्नुपर्दछ ।’

छ्याकटीलाई खपिनसक्नु भएछ, एकाएक भन्न थालिन्, ‘गर्नु त पर्छ नि, परेको बखत कोरीको पाउ त मल्नुपर्छ ।’

‘बस्न नपाएर ढाड कुप्रियो, हरे शिव !’ साँचो हराउने खप्लक्केले ‘प्रोटेस्ट’ गरिन् । यतिन्जेल उनलाई साँचोको पीर थियो, अब बस्ने पीर पलायो ।

डिल्लीबजारमा बस रोकिएपछि उनी पुनः निहुरीनिहुरी भुइँमा साँचो खोज्न थालिन् । बस हिँड्यो । उनलाई ओर्लने पीर पर्‍यो । उनले एकैपटक कराइन्, ‘ल, ल, मलाई यहीँ ओर्लिनु छ रोक्नुस् !’

अलि पर गई बस रोकियो । बूढी साँचो हराएको तोडमा टिकटको पैसा नै नतिरी ओर्लिन्, आफ्नो बाटो लागिन् । सबै यात्रीहरू हललल्ल हाँसे ।

केही बेर शान्ति रह्यो । छ्याकटीले शंका उत्पन्न गरिन्, ‘बेर भयो, पशुपतिको ढोका बन्द भइसक्ने हो कि ?’

आधुनिकाले अभयदान दिइन्, ‘बन्द भए म खोल्न लगाऊँला, भट्टज्यूलाई मैले चिनेकी छु ।’

यतिकैमा कन्डक्टरले पैसा माग्यो ।

‘देख्तैनौ, हात खाली छैन ओर्लने बेलामा त दिइहाल्छौँ नि !’ सबै स्त्रीगणले समर्थन गरे । 

च्याउँसीले सिँगान सुर्कदै भनिन्, ‘बस्ने ठाउँचाहिँ पाइने होइन, पैसै लिने हडबड मात्र ।’

बस गौशाला पुग्यो, अब ओर्लने तयारी हुन लाग्यो । करिब ५ मिनट लुगासुगा, धोतीको सप्को, मुजो आदि मिलाई एक हातमा बास्केट लिई सबै ओर्लिए ।

चारैजना लागे पशुपतितिर । कन्डक्टर पैसा माग्दै थियो । कसैले पनि उसको कुरा सुनेन । उनीहरूको इमान्दारीप्रति श्रद्धाले विभोर भएर मैले आफ्नी श्रीमतीलाई केही इशारा गरेँ ।

उनी अघिल्लो ढोकामा उभ्भिएकी थिइन् । म पछिल्लो ढोकाबाट ओर्लिएँ । आफ्नो श्रीमतीलाई कन्डक्टरलाई चिनाउँदै भनेँ, ‘पैसा ऊ त्योसँग लिनोस् ।’

अर्को ढोकाबाट मेरी श्रीमती ओर्लिंदै जंगिइन्, ‘ऊ त्योसँग लिनोस् भन्या हैन, खोइ छोड्नुहोस् बाटो ।’

उनको चालमा स्वाभाविक गर्व र विजयको आभास थियो, उता मेरो चालमा आर्थिक उपलब्धि भएको जोश थियो ।

दुवै लम्क्यौँ चाबेलतिर, किनभने मित्रकहाँ ‘लन्च’ को टाइम ल्याप्स हुनै आँटेको थियो ।

(गोरखापत्र, असार २८, २०२६)
(प्रसिद्ध व्यंग्यकार श्याम गोतामेकी पत्नी पद्मादेवी गौतमको स्वीकृतिमा गोतामेको ‘मपाईं’ व्यंग्यसंग्रहको तेस्रो व्यंग्य । यस संग्रहका सम्पूर्ण व्यंग्यहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)
baarhakhari