सिद्धबाबा सुरुङमार्गबाट असोजभित्र गाडी गुडाउने तयारी


भैरहवा–सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३, दोभानमा निर्माणाधीन सुरुङमार्गमा असोजभित्र गाडी गुडाउने तयारी गरिएको छ । यसकालागि सुरुङमार्गको मुख्य टनेलभित्र सडक बनाउने काम सकिएको छ । मुख्य टनेल अन्तर्गत १ हजार १ सय २६ मिटर सडक निर्माण पूरा भएको छ ।
मुख्य टनेलबाट असोजसम्म गाडी चलाउनेगरि काम भइरहेको आयोजना कार्यालय प्रमुख नवराज बास्तोलाले जानकारी दिए । सुरुङको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहेको छ । सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भएअनुसार काम अघि बढेको प्रमुख बास्तोलाले बताए ।
असार अन्तिम सातासम्म ६९ दशमलव २५ प्रतिशत सुरुङमार्गको भौतिक प्रगति सकिएको छ । वित्तीय प्रगति भने ६३ दशमलव ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । सुरुङभित्रबाट यातायात संचालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षण सम्बन्धी काम गरिनेछ ।
पैदलयात्रीका लागि ‘रकसेड’ भित्र सुरक्षित बाटो निर्माण गरिनेछ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम सकिएको छ । सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाइएको आयोजना प्रमुख बास्तोलाले बताए । सुरुङमार्गको सेकेण्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न गरी अहिले लाइटिङ, भेन्टिलेसन, पंखा लगायत उपकरण जडान गर्ने काम अघि बढेको उनले बताए । डिजाइन, सिभिलवर्क, टनेल अप्रेसन र आयोजना सक्नेगरी काम भइरहेको उनले बताए ।
निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सुरुङ सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्नेछ । त्यसपछिको थप ५ वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ । यो सुरुङमार्गको ठेक्का ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन–ईपीसी) मोडलमा लगाइएको हो । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुने आयोजना प्रमुख वास्तोलाले बताए ।
निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोडमा ठेक्का लिएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आगामी असोजसम्म संचालनमा ल्याउने लक्ष्य राखिएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन १ हजार १ सय १६ मिटर लामो सुरुङमार्गको ६८ प्रतिशत काम भएको हो । यसको चौडाइ चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर छ ।

सुरुङमार्गभित्र पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेकाले असोजभित्रै सम्पन्न गरी गाडी गुडाउन बाँकी कामलाई तीव्रता दिइएको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाइएको छ । सुरुङमार्गको सेकेण्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न गरी अहिले लाइट, भेन्टिलेसन, पंखालगायत उपकरण जडान सुरु गरिएको छ ।
आयोजनाका प्रमुख बास्तोलाले आगामी असोजसम्म सुरुङमा यातायात संचालन गर्ने लक्ष्य अनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘सिद्धबाबा सुरुङमार्ग असोजसम्म संचालनमा ल्याउने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । मुख्य सुरुङमार्गको सिभिल काम सम्पन्न भई विद्युतीकरणको काम भइरहेको छ । बाँकी काम चाँडै सक्नेगरी धमाधम काम भइरहेको छ,’ उनले भने । उनका अनुसार निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सुरुङ सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्नेछ । त्यसपछिको थप ५ वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ ।
२०७८ फागुन २५ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण ५ वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ संचालन एवम् मर्मत सम्भार गर्नेछ । आयोजनाको म्याद २०८३ फागुन ९ सम्म रहेको छ ।
सुरुङमार्गको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । २०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आव्हान गरी सुरुङमार्गको ठेक्का लगाएको थियो । २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको थियो ।








प्रतिकृया दिनुहोस्