लुम्बिनी विकास कोष पदाधिकारीका लागि मरिहत्ते किन ?


लुम्बिनी–विश्व सम्पदा सूचिकृत लुम्बिनीको महत्व भनेकै त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्विक स्थल र बस्तु हुन् । गौतम बुद्धको जन्मसित सम्बन्धित भएकै कारण लुम्बिनी विश्व सम्पदामा सूचिकृत भएको हो । सुरुवातमा लुम्बिनी नै बुद्ध जन्मस्थलका रुपमा प्रमाणित गर्न लामो खोज र अनुसन्धान गर्नु परेको थियो ।
लामो खोज र अनुसन्धानबाट माँयादेवी मन्दिर रहेको स्थानमा बुद्ध जन्मिएको प्रमाण फेला परेपछि लुम्बिनी विश्व सम्पदा बन्न सकेको हो । त्यसका लागि चिनियाँ यात्रीका विवरण, विभिन्न कालखण्डमा भएका खोज, अनुसन्धान, र त्यहाँ रहेको अशोक स्तम्भमा उत्किर्ण अभिलेखबाट बुद्ध जन्मस्थल प्रमाणित गरिएको हो । लुम्बिनीलाई बुद्ध जन्मस्थल प्रमाणित गर्न लामो समय लाग्यो । तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारका पुरातत्वविदको मिहेनत खर्च भएको छ । नेपालका पुरातत्व विदले पनि पसिना बगाएका छन् । लुम्बिनीलाई स्थापित गर्न अझैं खोज–अनुसन्धान चलिरहेका छन् ।
लुम्बिनीलाई शान्ति र आध्यात्मको केन्द्र बनाउन लागू गरिएको गुरुयोजना कार्यन्वयनका लागि लुम्बिनी विकास कोषको गठन गरिएको हो । गुरुयोजना कार्यन्वयन भएसँगैं कोषको औचित्य पनि समाप्त हुन्छ । तर, करिब ५० वर्ष पुग्न लाग्दा पनि गुरुयोजना कार्यन्वयन भएको छैन ।
बरु गुरुयोजना उलंग्घनको होड चलिरहेको छ । एकातिर गुरुयोजनाको कार्यान्वयन कोषले प्राप्त गरेको ‘म्याण्डेट’ हो भने अर्कोतिर लुम्बिनीलाई अध्यात्मिक केन्द्र बनाएर विश्वभरका तीर्थयात्री र पर्यटक लुम्बिनी भित्र्याउन कोषको पदाधिकारी जिम्मेवार हुनुपर्ने हो । यिनै उद्देश्यका लागि कोषमा पदाधिकारी नियुक्त गर्ने प्रचलन छ । तर, कोषका पदाधिकारी आफ्नो जिम्मेवारी भन्दा व्यक्तिगत लाभमा लिप्त हुँदा अहिले पदाधिकारी बदनाम बनेका छन् ।
कोषका पदाधिकारीको ध्यान बुद्धसंग सम्बन्धित लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामको एकिकृत विकास गर्नमा केन्द्रित हुनुपर्ने हो । बृहत्तर लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन गरेर उनीहरु समग्र पर्यटन विकासमा केन्द्रित हुनुपर्ने हो । लुम्बिनी विकास कोषको मुख्य कार्यादेश पनि यही हो । स्थानीयलाई आर्यआर्जन र रोजगारीसंग जोडेर अपनत्व ग्रहण गर्न लगाई शान्ति र अध्यात्मिकता पर्यटन विकास गर्ने लक्ष्य छ ।
तर, पछिल्लो समय जति पनि उपाध्यक्ष नियुक्त भएर यहाँ आए उनीहरु लुम्बिनीको सर्वोपरि विकास र हितभन्दा व्यक्तिगत लाभ र कल्याणमा लागेपछि प्रश्न उठिरहेको छ । बौद्ध अनुयाई भएर उपाध्यक्ष बन्ने, तर बुद्धले प्रतिपादन गरेका आधारभूत शील अनुशरण नगर्ने परम्परा छ । बुद्धले स्वेच्छिक दान ग्रहण गर्न सकिने बताएका थिए ।

तर, यहाँ अपारदर्शी तवर भित्रिएका दान, सहयोग, चन्दा ग्रहण गर्ने र शक्तिशाली बन्ने होड चलेको छ । उनीहरुको जीवन र कार्यशैली भिक्षु मैत्री छैन । ‘भिक्षु’का नाममा देखिएको पदलोलुपताले बौद्ध धर्मावलम्बीको शिर निहु¥याइरहेको छ ।
लुम्बिनी परिसरमा विश्वका विभिन्न बौद्ध मुलुक र शक्ति राष्ट्रका विहार, गुम्बा, स्तुपा, गोन्पो र चैत्य छन् । ती गुम्बा र विहार मार्फत सम्बन्ध बढाउन सकिने, देशविदेश घुम्न पाइने, सहयोग, सद्भाव पाइने र आफूलाई अन्तर्राष्ट्रिय रुपमा समेत चिनाउने सकिने हुँदा उपाध्यक्ष बन्न मरिहत्ते गरिरहेको स्थानीय बताउछन् ।
शक्ति राष्ट्र चीन, भारत, रुस र जर्मनका विहार र गुम्बा छन् । तिन मार्फत यी मुलुकसंग सामिप्यता बढाउन पनि उपाध्यक्षमा नियुक्तिका लागि लालायित हुन्छन् । ब्यक्तिगत उचाई बढने र समाजमा राम्रो भूमिका पाउने हुदा पनि उपाध्यक्ष बन्न मरिहत्तते गर्ने गरेको स्थानीयले बताए । लुम्बिनीमा भएका विहार गुम्बाबाट पनि उस्तै फाइदा लिन सकिन्छ ।
विहार र गुम्बाले विदेश सयर गराउन लैजान्छन् । सानातिना काम र योजना दिन्छन् । २०४८ सालमा सूर्यबहादुर शाक्यदेखि ०७२ सालमा नियुक्त सिद्धार्थ महर्जनगरि १४ जना उपाध्यक्ष हुँदासम्म पदमा पुग्न यस्तो मरिहत्ते हुन्थेन । ०७४ मंसिरमा जब लुम्बिनीकै स्थानीय बासिन्दा अवधेशकुमार त्रिपाठी उपाध्यक्ष नियुक्त भए, त्यसपछि यो पदको दूरुपयोग सुरु भयो । अनि नियुक्तिका लागि मरिहत्ते गर्न थालेको पाइन्छ ।
स्थानीयलाई प्राथमिकता दिएर लुम्बिनी, बुद्ध, धर्म र संघ बुझेको मान्छे उपाध्यक्षमा नियुक्ती गर्नु पर्ने लुम्बिनी बचाऔं महाअभियानका रामविकास चौधरीले बताए । विश्व शान्तिको मुहान लुम्बिनीको अध्यात्मिकता र पवित्रतालाई विश्वब्यापी रुपमा उजार गर्न लाग्नु भन्दा ब्यक्तीगत लाभ फाइदामा लागेर काम गर्दा उपाध्यक्ष प्रति स्थानीयको नकारात्मक धारणा बनेको स्थानीय प्रल्हाद यादबले बताए ।
अहिले आएर लुम्बिनीको संरक्षण भन्दा कसरी पदाधिकारी बन्ने होडबाजी चलिरहेको छ । यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थियो । १२ पदका लागि आवेदन माग गरिएकोमा ७ सय भन्दा बढीले निवेदन दिएका छन् । निवेदन बिनै पनि नियुक्तिका लागि दौडधुप चलिरहेको छ ।
लुम्बिनी विकास कोषमा एक दर्जन पदाधिकारीका लागि सय २७ जनाले आवेदन गरेका छन् । आवेदन दिनेले आफ्नो बायोडाटा मन्त्रालयको क्यूआर स्क्यान गरेर अपलोड गरेका छन् । मन्त्रालयले आवेदन भर्नेको रोष्टर सार्वजनिक गरिसकेको छ । योजना प्रमुखसहित १२ पदाधिकारीकालागि आवेदन माग गरिएको थियो । उक्त सूचना सार्वजनिक भएपछि ६० गुणा भन्दा बढी आवेदन परेका हुन् । मन्त्रालयले प्रकाशित गरेको रोष्टर अनुसार सबैभन्दा बढी सदस्य सचिब पदकालागि २ सय ९ जनाले आवेदन गरेका छन् ।
उपाध्यक्ष पदकालागि १ सय ४ जना, योजना प्रमुखकालागि १ सय १२ र कोषाध्यक्षकालागि ८६ जनाले आवेदन दिएका हुन् । बाँकि आवेदन कार्यकारी र परिषद् सदस्यका लागि परेका हुन् । आवेदन नदिएर व्यक्ति पहुँचका भरमा नियुक्तिकालागि लबिङ गर्ने पनि उत्तिकै छन् । सरकारले अध्यादेश ल्याएपछि कोषका पदाधिकारी रिक्त भएका थिए । अहिले उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन भर्ने,नभर्ने दुबैं पक्ष नियुक्तिका लागि धाइरहेका छन् । उपाध्यक्ष र सदस्य सचिब नियुक्तिकालागि अस्वभाविक प्रतिस्प्रर्धा देखेर स्थानीयले चिन्ता र चासो ब्यक्त गरेका छन् ।








लेखकको सम्वन्धमा