June 8, 2026, Monday
२०८३ जेष्ठ २५ सोमबार

रूपन्देही क्रिकेट संघको वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सुरु

Advertisement

भैरहवा–रुपन्देही क्रिकेट संघको ३० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सोमवार भैरहवामा सुरु भएको छ । उक्त अधिवेशनले संघको आगामी चारबर्षे कार्यकालका लागि नेतृत्व चयन गर्दै रुपन्देही जिल्लामा क्रिकेट खेलको विकासका लागि विभिन्न योजना तथा नीति पारित गर्ने छ ।

Advertisement

वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटप्रति रुपन्देहीमा ठूलो लगाव रहेका कारण क्रिकेट खेल लगायत्का गतिबिधिमा मुलुकभरिमैं रुपन्देही जिल्ला एक नम्बरमा रहेको बताए । ‘मुलुकका ४५ जिल्लामा रहेका क्रिकेट संघहरुमध्ये जनशक्ति, मेहनत र क्रिकेटप्रतिको लगावका कारण रुपन्देही क्रिकेट संघ मुलुकमैं बिगत र बर्तमान अवस्थामा एक नम्बरमा छ’ चन्दले भने, ‘तसर्थ नेपाल क्रिकेट संघको नेतृत्व तहमा रुपन्देही क्रिकेट संघले ठूलो महत्व राख्ने गर्छ ।’

रुपन्देही क्रिकेट संघलाई नेपाल क्रिकेट संघले उपेक्षा गरेको खण्डमा नेपालकै क्रिकेट विकासमा ठूलो घाटा लाग्ने भएकाले रुपन्देहीलाई उच्च प्राथमिकतामा राख्नु पर्ने उनले बताए । रुपन्देही क्रिकेटमा खेलाडी, एम्पायर, पूर्वाधार, प्रशिक्षक लगायत् पुर्वाधार र क्रिकेटप्रति उच्च लगाव रहेकाले मुलुककैं क्रिकेटमा रुपन्देहीको योगदान धेरै रहेको भनाइ उनको थियो । नेपालमा पछिल्लो पटक हुँदै जान थालेको क्रिकेटको विकासले विश्वमा नेपाललाई चिनाउन थालेको उल्लेख गर्दै उनले अझैपनि नेपालका धेरै पहाडी तथा तराइकै जिल्लामा पनि क्रिकेटका लागि खेल मैदान नरहेको बताए ।

क्रिकेट क्षेत्रको विकासका लागि केही योगदान गर्न खोज्ने व्यक्तिलाई नेपाल क्रिकेट संघको सदस्य बनाउन बिद्यमान नियमले असहज भएकाले भएकाले नेपाल क्रिकेट संघ, खेलकूद परिषद लगायत् सम्बन्धित निकायले नियम संशोधनको प्रस्ताव राखेको उनले जनाए ।

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रदिप मजगैयाले रुपन्देही क्रिकेटमा अग्रणी जिल्ला रहेको र सिद्धार्थ क्रिकेट मैदानपनि धेरै व्यवस्थित रहेको बताए । ‘रुपन्देही क्रिकेट संघ क्रिकेट क्षेत्रमा लुम्बिनी प्रदेशकै प्रेरणाको रुपमा रहेको छ’ उनले भने । पछिल्लो समयमा क्रिकेट खेलाडीको अपेक्षा बढेकाले खेलाडीको अपेक्षालाई नेतृत्वले बुझेर अगाडि बढ्नु पर्ने बताए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले रुपन्देहीको क्रिकेट क्षेत्रको विकासमा सवै क्षेत्रबाट सहयोग मिलेको र रुपन्देहीको क्रिकेटले विकास गर्नुमा सवैको योगदान रहेको बताए ।

सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारीले रुपन्देही क्रिकेट संघको संस्थापक अध्यक्षदेखि बर्तमान अध्यक्षसम्मका नेतृत्व टिमको योगदानकै कारण रुपन्देहीमा क्रिकेट विकासले अग्रणी भूमिका खेलेको बताइन् । क्रिकेटको विकासका लागि सिद्धार्थनगरपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आइरहेको पनि उनले जनाइन् ।

रुपन्देही जिल्ला खेलकुद विकास समिति अध्यक्ष कोशिशबहादुर खड्का, जिल्ला समन्वय समितिका पुर्व अध्यक्ष एकराज बिश्वकर्मा, क्रिकेट संघका पुर्व केन्द्रिय सदस्य आशा गुरुगं, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ लगायत्लेपनि रुपन्देहीको क्रिकेट क्षेत्रका वारेमा अ–आफ्नो धारणा राखेका थिए ।

रुपन्देही क्रिकेट संघको अवको नेतृत्वकालागि सहमती हुन नसकेमा अध्यक्ष पदमा हरिबहादुर थापा र शक्ति गौचन बिच नै प्रतिष्पर्धा हुने संभावना भएको छ । दुवै पक्षले अ–आफ्नो प्यानल बनाएर निर्बाचनमा जाने संभावना त्रेरै देखिएको छ । अध्यक्ष लगायत् सवै पदको निर्बाचन तथा अधिवेशन सम्पन्न गराउनका लागि लुम्बिनी प्रेस क्लवका सल्लाहकार कुलमणि ज्ञवाली, महासचिव प्रकाश न्यौपाने र कोषाध्यक्ष बिष्णुु भट्राई निर्बाचन मण्डलमा रहेका छन् ।