मौन प्रेम


रमिला प्रायः झिसमिसेमै मन्दिर पुग्थिन् । उनी पुग्दा पुजारीबाहेक कोही आइपुगेकै हुँदैनथे । तेस्रो भक्तको रूपमा रूपनारायण टुप्लुक्क गेटबाहिरै भेटिन्थे । सधैँजस्तो आज पनि रमिला मन्दिर पुगिन् । रूपनारायण मन्दिरको परिक्रमा लगाउँदै गरेको परैबाट देखिन्थ्यो । रमिला रातो कुर्तामा केश भिजाएर मन्दिर प्रवेश गरिन् ।
उनी मन्दिर प्रवेश गर्दा दुवैका आँखा जुधे । रमिला पूजाको थाली लिएर मन्दिरभित्र प्रवेश गरिन् । भित्र खासै भीड थिएन । एकछिनको पूजाअर्चनापछि रमिला ढोकाबाहिर निस्किइन् ।
“मलाई त जुत्ता खोल्न नै झ्याउ लाग्छ, हजुरले भित्रबाटै पूजा गरेर ल्याएको अलिकति प्रसाद पाऊँ न,” पहिलोपटक भेट्दा नै रूपनारायणले हात थापेका थिए रमिलासँग । पछि यो क्रम नियमितजस्तै बन्यो ।
जुत्ता नखोली मन्दिर वरिपरि घुमेर भगवान्को दूरदर्शन गरेर फर्कन्थे रूपनारायण ।
एक दिन बिहानीपख पानी परिरहेको थियो । सधैँको समयमा झैँ रमिला मन्दिर पुग्न सकिनन् । उनी मन्दिर पुग्दा ठ्याक्कै सामुन्नेमा परे रूपनारायण । उनी मन्दिर परिक्रमा गर्दै थिए । दुवैका आँखा चार भए । उनी छाता ओढेर उभिएका थिए ।
“ओहो, आज त मन्दिर छिट्टै आइपुग्नुभएछ ! म त पानीले गर्दा थोरै ढिला भएँ,” भिजेको सप्को मिलाउँदै अलिक खुम्चिएर बोलिन् रमिला ।
“अँ, छिटो त आइयो, तर देवीको दर्शन भने तीन फन्का लगाएपछि बल्ल भयो ! अब फेरि प्रसाद नलाई के जानु भनेर नि,” रूपनारायणका आँखा र ओठ दुवै मुस्कुराए ।
सिमसिम पानी परिरहेकै थियो । रमिला पूजापाठ सकेर निस्कँदा मन्दिरको प्रांगणमा रूपनारायण छाता ओढेर उभिरहेकै थिए । उनलाई देखेपछि रमिलाका आँखा र मन एकैपटक मुस्कुराए ।
रूपनारायणलाई प्रसाद र टीका दिएपछि मन्दिर हातामै ओत लागेर उभिरहिन् उनी ।
“तपाईंसँग छाता भएजस्तो लागेन, सिमसिम भए पनि बाक्लै छ पानी,” आफ्नो हातको छाता बढाए रमिलातिर ।
“म त अलेलि भिजिसकेकै छु, भिजे पनि केही हुन्न,” छाता समाउन अन्कनाइन् रमिला ।
“यत्तिको भिज्दा त केही नहोला, अब भिजेचैँ…!” अरू बोलेनन् रूपनारायण ।
नजर झुकाउँदै रमिला छातामा ओत लाग्न आइन् ।
एउटै छातामुनि उभिँदा दुवैमा बेग्लै अनुभूति भयो । खुट्टा मात्रै हैन, धड्कन पनि एकै लयमा चलिरहेको थियो दुवैको ।
“ओहो, तपाईंको त लुगा पनि चिसै छ, जाडो भएको होला ! बरु, कतै बसेर एक कप चिया पिउँदा ज्यान अलिक तात्थ्यो कि !” हार्दिक भए रूपनारायण रमिलाप्रति ।
रूपनारायणको आग्रहलाई नाइँ भन्न सकिनन् रमिलाले । उनले टाउको हल्लाएर स्वीकृति दिइन् । दुवै मन्दिर पारिपट्टिको क्याफेभित्र छिरे । केही क्षणमा चिया आइपुग्यो ।
चियाको कप रूनारायणतिर बढाइन् रमिलाले । कप समात्दा दुवैका हातले एकार्कालाई स्पर्श गर्यो । फेरि चार आँखा खप्टिए ।
चियाको धुवाँजस्तै उनीहरूको मौनता पनि बिस्तारै माथि उठ्दै थियो । कप समात्दा औँलाहरू क्षणभर अडिए, फर्किनुपर्ने बाटो बिर्सिएजस्तै ।
रमिलाले चिया ओठसम्म पुर्याउँदा रूपनारायणले उनको अनुहारतिर हेरे, आँखाभित्र कतै बेग्लै उज्यालो बलिरहेको थियो ।
“आज चिया मिठो छ है ?” रमिलाले भनिन् “चिनीको मात्रा होइन, समयको स्वाद समेत थपिएजस्तै ।”
“मन्दिरको प्रसादजस्तै होला,” रूपनारायण मुस्कुराए र भने, “पाउने थोरै, तर मनले धेरै मागिरहने ।”
मधुरो भजन गुन्जिरहेको छ क्याफेमा । सुस्तरी संवादले गति लिँदै थियो । बाहिर सिमसिम पानी, भित्र दुई जीवन आ–आफ्नै कथा बोकेर बसेका थिए ।
“झरी परेको खुब मन पर्छ मलाई,” रूपनारायण बोल्ने प्रसंग खोज्दै थिए ।
“मलाई त पानीमा भिज्न मन पर्छ,” रमिलाले भनिन् ।
“त्यही भएर हो अघि भिज्दै आउनुभएको ?” जिस्किने मुडमा छन् रूपनारायण ।
दुवै विवाहित । दुवै परिपक्व । तर, मनभित्र कतै लामो समयदेखि ओझेलमा परेको कोमल चाहना आज झरीसँगै सतहमा आइरहेको थियो ।
चियाका कपले दुवैका ओठ चुम्दै थियो । रमिलाले झ्यालतिर हेर्दै भनिन् “पानीले मन्दिर वरिपरि पखालेछ है, कति सफा भएको !”
“सबै चिज पखाल्न सके कति राम्रो हुन्थ्यो होला…!”
रूपनारायणले टेबलको गिलास अलि पर सार्दै भने, “मनभित्र थुप्रिएका धुलामैलाहरू पनि ।”
बाहिर झरी बाक्लिँदै थियो । टिनको छानोमा परेको पानीको आवाजले चिया पसललाई अझै साँघुरो र गोप्य बनाइदिएको थियो । रमिलाले चिया चलाउँदै गिलासको किनारमा टाँसिएको अदुवाको टुक्रा औँलाले फालिन् । उनी केही बोलिनन् । मौनतामा स्वीकारोक्तिको गहिरो संकेत थियो ।
“कहिलेकाहीँ,” रूपनारायणले फेरि भने, “लुगा धुँदाजस्तो मन पनि दुईतीनचोटि धुन पाए हलुका हुन्थ्यो कि जस्तो लाग्छ ।”
रमिलाको आँखाले क्षणभरि उनको अनुहार छामेझैँ गर्यो । उनले हल्का मुस्कान दिइन्, “तर, मनका दाग साबुनले कहाँ जान्छ र !”
उनको स्वर शान्त थियो, तर भित्र कताकता काँपिरहेको ।
चिया पसलेले गिलास उठाउँदा आएको ठकठक आवाजले उनीहरूलाई झस्कायो । पसलमा अरू कोही थिएन । झरीले बाटो खाली गरिदिएको थियो ।
उनले बाहिर हेरे । झरीले धुलो बगाइरहेको थियो ।
“पानी त झन्झन् पो बढ्यो त ! या टिनको आवाज धेरै हो कि ?” रूपनारायण बोले ।
रमिलाले बिस्तारै भनिन्, “टिनको आवाजभन्दा मौनले नै धेरै बोलेको छ यहाँ ।”
त्यति भनेर उनी फेरि चुप भइन् । तर, त्यो मौन बोझिलो थिएन, बरु हलुका थियो । दुवैका थाकेका मनलाई अडेस मिलेको थियो ।
उनीहरू दुवैका जीवनमा कति कुरा थिए, कसैले नसुन्ने गरी मनको कुनामा थन्किएका थिए कुरा । जिम्मेवारी, समाज, सम्बन्धको औपचारिकता ।
सबैका बीच थियो यो बिहानी । सिमसिम झरिरहेको झरी, तातो चिया, थोरै बेर विश्राम गर्ने चौतारो, जहाँ मनका धेरै पीडा विश्राम लिँदै थिए ।
पसलबाट निस्कँदा रूपनारायणले छाता अलिक माथि उठाए, रमिलालाई पानीले नछुने गरी । तर, त्यसैसँग काँधहरू नजिकिए ।
नजिकिँदा नजिकिँदै दूरीको अर्थ फेरि परिभाषित हुँदै गयो । हरेक पाइला सँगसँगै चालिँदा उनीहरूका सासहरूले ताल मिलाइरहेका थिए ।
“छाता अलिक बायाँ…,” रमिलाले हल्का स्वरमा भनिन्, मानौँ शब्द होइन, सासले बोलेकी हुन् ।
“यति ठिक छ,” रूपनारायणले भने । आँखाले बाटो हेरेजस्तो गर्दै बोले, “पानीभन्दा चिसो त हावा छ आज ।”
रमिला मुस्कुराइन् । “हावा होइन होला,” उनले झिनो हाँसो थपिन्, “मौसमले नै मान्छेलाई नजिक ल्याउन खोजेजस्तो लाग्छ ।”
“मौसमले होइन,” रूपनारायणको स्वर झन् होचो भयो, “कहिलेकाहीँ मौनताले नै दूरी घटाइदिन्छ ।”
छातामाथि वर्षा थप तीव्र भयो । सडक सुनसान थियो, तर उनीहरूका बीचमा शब्दभन्दा धेरै कुरा बोलिरहेका थिए । रमिलाले छाताको ह्यान्डल समात्दा औँलाहरू क्षणभर उनका औँलासँग ठोक्किए ।
“माफ गर्नुहोस्…,” रमिलाले झस्किएर भनिन् ।
रूपनारायण हल्का हाँसे । “यस्ता कुरामा माफी माग्ने होइन,” उनले भने, “यसले त बाटो सजिलो बनाइदिन्छ ।”
रमिलाले केही भनिनन् । तर, चालको गति उस्तै रह्यो, काँधको दूरी उस्तै । वर्षा निरन्तर झरिरह्यो र उनीहरूले भित्रभित्रै बुझ्दै गए– कहिलेकाहीँ नजिकिनु भनेको कुनै सीमा नाघ्नु होइन, केवल एउटै छातामुनि केही बेर सँगै हिँड्नु मात्र हो ।
“साँच्चै हजुर कति बेला मन्दिर आउनुहुन्छ ? म आउँदा सधैँ मन्दिरमै भेट्छु,” रमिलाले सोधिन् । उनको आवाजमा साधारण जिज्ञासा भए पनि मनभित्र गहिरो अपेक्षा थियो ।
“हजुर आउनुहुन्छ भन्ने थाहा भएपछि,” रूपनारायणले हाँसेर जवाफ दिए, “समय आफैँ मिल्न थाल्यो ।”
यो जवाफ कुनै प्रस्ताव थिएन, कुनै प्रतिज्ञा पनि थिएन । तर, यसले धेरै कुरा भनेको थियो । रमिलाको पाइला अलिक ढिलो भयो । जानेरै उनले त्यो क्षणलाई लम्ब्याउन चाहिरहेकी थिइन् ।
मन्दिरको घण्टी फेरि बज्यो । दर्शनार्थीको भीड बाक्लिँदै थियो । उनीहरू चौतारीनजिक आइपुगे ।
साँझ प्रायः यहीँ भेट हुन्थ्यो । तर, बिहानको उज्यालोमा भएको थियो भेट । चौतारी अझै फरक देखियो । मौन र स्थिर ।
“यहाँ बसौँ न अलिक बेर !” रूपनारायणले भने ।
चौतारीको चिसो काठमा बसेपछि रमिलाले महसुस गरिन्, भिजेको लुगाले मात्र होइन, मनले पनि भित्रको आगो शान्त पार्न चिसो खोजिरहेको छ ।
रूपनारायणले आफ्नो सल अलिक सर्काए रमिलातिर । सलको न्यानोपन महसुस भयो रमिलालाई । त्यो न्यानो कपडाको मात्र थिएन ।
“हजुरलाई जाडो लागेको रहेछ,” आवाजमा सहज बहाना थियो ।
रमिलाले प्रतिवाद गरिनन् । सलले उनको काँध छोयो । स्पर्श आकस्मिक थियो, तर सुखद । सिमसिमे पानीले समयलाई रोकिदिएजस्तो लाग्थ्यो ।
चौतारी, मन्दिर, घण्टी सबै एकै फ्रेममा स्थिरजस्तै थिए ।
“जीवन अचम्मको हुन्छ है,” रमिलाले भनिन्, “कहिलेकाहीँ हामीले नखोजेको कुरा भेटिन्छ, खोजेको कुरा हराइरहन्छ ।”
“र, भेटिएको कुरालाई नाम दिन डर लाग्छ,” रूपनारायणले थपे, “किनकि, नाम दिएपछि समाजको प्रश्न आउँछ ।”
दुवै हाँसे, तर त्यो हाँसो हलुका थिएन । त्यसमा अनुभूतिको तौल थियो । रूपनारायणको हात चौतारीको बेन्चमा अडिएको थियो । रमिलाको हात पनि त्यहीँ थियो । औँलाहरूबीच सानो दूरी थियो ।
केही क्षणमा दूरी हराउँदै गयो । हावाले पात हल्लायो । सल तल खस्यो । हातहरू एकार्कामा खापिए । यो कुनै दुर्घटना थिएन, कुनै योजना पनि थिएन । यो त समयले आफंँ मिलाएको आकस्मिकता थियो ।
रमिलाले हात तानिनन् । रूपनारायणले पनि हातलाई स्थिर राखे । तर, स्पर्श रहिरह्यो, नदी किनारमा अडिएको स्थिर पानीझैँ ।
स्पर्शले उनीहरूभित्र लुकेका धेरै बन्द ढोकाहरू खोलिदियो । स्मृतिहरू, अधुरा संवादहरू, कहिल्यै नबोलेका चाहनाहरू सबै एकैचोटि हलचल हुने गरी । तर, बाहिर केही देखिएन ।
उनीहरू अझै चौतारीमै बसेका थिए, बिहानको उज्यालोमा ।
“अब जानुपर्छ,” रमिलाले भनिन्, तर उठिनन् ।
“छाता ओढ्नु न पानी परेकै छ,” रूपनारायणले भने ।
उठ्दा रमिलाको पाइला अलिक चिप्लियो । रूपनारायणले सहजै उनको कुहिनो समाते । त्यो समाइ क्षणभरभन्दा लामो भयो । कुहिनोबाट काँध, काँधबाट मनसम्म बलियो पकड भयो, अदृश्य तर प्रस्ट ।
उनीहरू बाटोमा हिँड्दै थिए, तर गन्तव्य अस्पष्ट थियो । पानी रोकिँदै थियो । आकाश खुल्दै थियो । तर, मनभित्र बादल बाक्लिँदै थिए भावनाका, चाहनाका ।
एक मोडमा आएर रमिलाले भनिन्, “यहाँबाट म छुट्टिनुपर्छ ।”
“सधैँलाई छुट्टिने ?,” रूपनारायणको चासो ।
“त्यस्तो लाग्छ ?,” प्रतिप्रश्न रमिलाको ।
केही क्षण संवादविहीनतामा उभिए उनीहरू । केही भन्न बाँकी थियो सायद । शब्दले भनेनन् । आँखाले मात्र बोल्यो सबै ।
छाताको छायामा उनीहरूका अनुहार नजिकिए, तर चुम्बन भएन । त्योभन्दा गहिरो केही भयो । दृष्टिको आदानप्रदान, सासको तालमेल, मौनको स्वीकारोक्ति ।
“भोलि…?” रमिलाले आधा वाक्य छोडिन् ।
“मन्दिरमा,” रूपनारायणले पूरा गरे ।
यो कुनै वाचा थिएन, कुनै योजना पनि होइन । तर, यही नै पर्याप्त थियो । रमिला फर्किइन् । दुईतीन पाइला हिँडेर रोकिइन्, पछाडि हेरेर मुस्कुराइन् ।
त्यो मुस्कानमा लाज, सन्तोष र अलिक भय पनि मिसिएको थियो ।
रूपनारायण केही क्षण त्यहीँ उभिए । छाता अझै हातमा थियो । पानी बिदा भइसकेको थियो । छाता आवश्यक थिएन । तैपनि, उनले बन्द गरेनन् किनकि, छाता अब केवल पानीबाट जोगिनका लागि मात्र थिएन, दुवैलाई ओत लगाएको एउटा साझा आकाशको प्रतीक बनिसकेको थियो ।
दिनहरू फेरि आफ्नै लयमा फर्किए । घर, परिवार, जिम्मेवारी सबै यथावत् । तर, बिहानको मन्दिर अब केवल पूजा गर्ने ठाउँ रहेन, यो त दुई मौन आत्माहरूको साक्षात्कारस्थल बन्यो ।
प्रसाद, चिया, छाता, चौतारी यी सबै विम्ब बने । कसैले कसैलाई केही मागेन, कसैले कसैलाई केही वाचा गरेन ।
तर, कहिलेकाहीँ एउटै छातामुनि उभिँदा, चौतारीको छायामा बस्दा वा चियाको कप साट्दा उनीहरूभित्र कतै गहिरो सन्तुष्टि फैलिन्थ्यो । सन्तुष्टि शरीरमा मात्र सीमित थिएन, अस्तित्वसम्म पुगेको थियो ।
नदीले किनार छोएजस्तै, हावाले पात छोएजस्तै नदेखिने तर अनुभूत हुने । उनीहरू यही अनुभूतिलाई साथमा बोकेर आ–आफ्नो बाटो हिँडिरहे । प्रेमलाई नाम नदिई, तर जीवनमा एउटा कोमल, सुरक्षित सम्बन्धमा । मन्दिरको घण्टीको आवाजजस्तै बजिरहने, तर कहिल्यै आँखाले नदेखिने । -baahrakhari








प्रतिकृया दिनुहोस्