June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

Advertisement

भैरहवा– प्रतिनिधि सभाको निर्वाचन नजिकएसँगै रुपन्देहीमा चुनावी चहलपहल बढेको छ । चिया पसलदेखि पान पसल र मानिसको जमघट हुने सार्वजनिक स्थलहरु जताततै चुनावी गफ सुनिन थालेको छ । उम्मेदवारको मनोनयनसँगै चुनावी सरगर्मी हवात्तै बढ्न थालेको हो । सवै राजनीतिक दलको पार्टी कार्यालयहरुमा कार्यकर्ताको जमघट बढ्दो क्रममा छ । सवै उम्मेदवार चुनावी मुद्धा बनाउनमा व्यस्त छन् ।

Advertisement

निर्बाचनलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएका छन् । जेनजी आन्दोलनका कारण श्रृजित यस पटकको आम निर्बाचनमा पुराना ठूला राजनीतिक दल, पुराना उम्मेदवार, नयाँ दल सहितका उमेदवार, शिर्ष नेताहरुले परिवर्तन गरेको राजनीतिक निर्बाचन क्षेत्र जस्ता कुराहरु गफ गर्ने नयाँ बिषयबस्तु बनेका छन् ।

राजनीतिक दलका नेता र कार्यकर्ताले आफ्नो छर छिमेकमा भेटघाट कार्यक्रमलाई तिब्रता बनाउन थालेका छन् । भने, मतदाताहरु राजनीतिक दल भन्दा उम्मेदवारलाई प्राथमिकता दिने योजनामा देखिन्छन् । सिद्धार्थनगर नगरपालिका–९ निवासी मेहेबुव आलमले आँफू दोस्रो पटक मतदान गर्न लागेको बताउँदै यसपटक विशेष उत्साहित भएको प्रतिक्रिया दिए । ‘पहिले पार्टी हेरेर मत हाल्दा घाटा भयो’ उनले भने, ‘यसपटक पार्टीभन्दा सक्षम, बोल्न सक्ने र देश विकास गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिँदै मत दिनेछु ।’

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा कुल ६ लाख ७२ हजार ५ सय २३ मतदाता छन् । जसमध्ये महिलाको सँख्या ३ लाख २६ हजार ३ सय ११ छ । क्षेत्रका हिसावले महिला मतदाताको सँख्या रुपन्देही क्षेत्र नम्बर १ मा धेरै छ । ७२ हजार ९ सय ६८ महिला मतदाता रहेको यो क्षेत्र रुपन्देहीको सवैभन्दा धेरै मतदाता रहेको क्षेत्र हो । सवै भन्दा कम महिला मतदाता सँख्या रुपन्देहीको क्षेत्र नम्बर ४ मा छ । उक्त क्षेत्रमा महिला मतादाता ५० हजार १ सय १० छन् । रुपन्देहीको क्षेत्र नम्बर २ मा पुरुष भन्दा महिला मतदाता संख्या धेरै छन् । यस क्षेत्रमा पुरुष मतादाता ६४ हजार २ सय ५४ छन् भने महिला ७० हजार ७ सय ९३ छन ।

महिला र पुरुष बाहेक अन्य मतदाताको संख्या अति निरासाजनक छ । रुपन्देहीमा अन्य मतदाता सँख्या जम्मा ९ छ । मनिला न्यौपानेले मलुकभर महिला पुरुष बाहेकका अन्य मतदाता खुलेर आफ्नो पहिचान दिन नसकेको बताउँछिन् । उनका अनुसार, यस पटक मुलुकभर अन्य मतदाताको सँख्या २ सयमात्र छ । अघिल्लो निर्बाचनमा यो सँख्या १ सय ८५ मात्र थियो ।

सिद्धार्थनगर नगरपालिका–१३ निवासी रमेश पाण्डेले अहिलेको निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेको बताए । ‘जेन–जी आन्दोलनपछि मतदानका लागि म सचेत भएको छु र यसपटक जनताको भावना बुझ्ने र संसदमा जनताको आवाज उठाउन सक्ने उम्मेदवारलाई मत दिन्छु’ उनी भन्छन ।

सिद्धार्थनगर नगरपालिका–१३ कै स्थानीय दुर्गा भण्डारीले आफूले छ पटकभन्दा बढी मतदान गरिसकेको भए पनि अहिलेसम्म मतको सदुपयोग नभएको गुनासो गरिन । ‘हामीलाई नेताहरूले भर्याङ बनाएका छन्’, उनले भनिन, ‘यसपटक भने सोचविचार गरेर सही उम्मेदवारलाई मत दिनेछु ।’

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?